महिलालाई ब्ल्याकमेल गर्ने युवक साइबर ब्युरोको फन्दामा


काठमाडौं।

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गर्ने तथा अश्लील भिडियो–तस्बिर प्रयोग गरेर ब्ल्याकमेल गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गर्दै पटक–पटक मानसिक दबाब दिई ब्ल्याकमेल गरिएको थियो। माग पूरा नभएपछि ती सामग्री पीडितको परिवारलाई ह्वाट्सएपमार्फत पठाइएको भन्दै उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

प्राविधिक अनुसन्धानका आधारमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने ३५ वर्षीय मनिष लामिछानेलाई असार १७ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।