कर्णालीमा फोर्स गाडी दुर्घटना : उद्धार कार्य जारी, भिरमा अड्किएको एउटा शव निकालिदै


दैलेख।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा बेपत्ता यात्रुको खोजीकार्य जारी छ भने भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास भईरहेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ६००÷७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

आज बिहान ११ः३० बजे भएको दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

दुर्घटनास्थलबाट अन्दाजी ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव फेला परेको र उक्त शव नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सयुक्त टोलीले उद्धार गरी सडकतर्फ ल्याउने कार्य भई रहेको छ । गाडीमा सवार रहेका यात्रुहरुको संख्या हाल सम्म एकिन हुन सकेको छैन ।