काठमाडौं ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा चार वटा महत्त्वपूर्ण विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। बैठकको सुरुआतमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी गराउने कार्यसूची छ।
त्यसपछि विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरू क्रमशः छलफल र निर्णयका लागि प्रस्तुत गरिनेछ। कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि प्राप्त संशोधनहरू निर्णयार्थ पेश गरिने र त्यसपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनीबाटै पेश हुनेछ।
यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। संशोधनहरू निर्णयार्थ टुंग्याएपछि उक्त विधेयक पारितका लागि सदनमा प्रस्ताव लैजाने कार्यसूची रहेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावल ले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछिन्।
दुवै विधेयकमा संशोधनमाथि निर्णय भएपछि पारितका लागि प्रस्ताव प्रस्तुत गरिनेछ। आजको बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार महत्त्वपूर्ण विधेयक पारित गर्ने सरकारको तयारी रहेको छ।











प्रतिक्रिया