काठमाडौं ।
इन्डोनेसियाको कट्टर इस्लामिक कानुन लागू हुने आचे प्रान्तमा टिकटक लाइभका क्रममा चुम्बन गरेको आरोपमा एक अविवाहित जोडीलाई सार्वजनिक रूपमा कोर्रा हानिएको छ।
आचेको शरिया अदालतले विवाह नगरी सार्वजनिक रूपमा चुम्बन गरेको भन्दै २२ वर्षीय युवक र २५ वर्षीया युवतीलाई जनही २१ कोर्राको सजाय सुनाएको हो। बिहीबार बान्डा आचेस्थित बुस्तानुस्सलातिन सिटी पार्कमा सयौं स्थानीयवासीको उपस्थितिमा उनीहरूलाई रतनको छडीले कोर्रा हानिएको थियो।
उक्त जोडीलाई गत अप्रिलमा पक्राउ गरिएको थियो। उनीहरूले फेब्रुअरी २७ मा बान्डा आचेमा कारभित्र बसेर टिकटक लाइभ गरेका बेला चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय शरिया अधिकारीसमक्ष उजुरी परेको थियो।
सुरुमा अदालतले दुवैलाई २५–२५ कोर्राको सजाय सुनाएको थियो। तर उनीहरूले चार महिना हिरासतमा बिताइसकेकाले सजाय घटाएर जनही २१ कोर्रामा सीमित गरिएको अदालतले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित मोबाइल फोन र टिकटक लाइभ भिडियो रहेको यूएसबी ड्राइभलाई प्रमाणका रूपमा जफत गरेको थियो। अदालतले ती सामग्री नष्ट गर्न आदेश दिएको छ।
इन्डोनेसियामा मुस्लिम बहुल जनसंख्या भए पनि शरिया कानुन पूर्ण रूपमा लागू हुने एकमात्र प्रान्त आचे हो। केन्द्र सरकारले सन् २००६ मा दशकौं लामो पृथकतावादी द्वन्द्व अन्त्य गर्न भएको शान्ति सम्झौताअन्तर्गत आचेलाई धार्मिक कानुन लागू गर्ने विशेष अधिकार दिएको थियो।
पछि सन् २०१५ मा आचेले शरिया कानुनलाई गैरमुस्लिममा समेत लागू गर्ने व्यवस्था गरेको थियो। यद्यपि प्रान्तको कुल जनसंख्यामध्ये गैरमुस्लिमको संख्या करिब एक प्रतिशत मात्र छ।
आचेको शरिया कानुनअनुसार व्यभिचार, समलिङ्गी यौन सम्बन्धलगायत नैतिक आचरणसम्बन्धी कसुरमा अधिकतम १०० कोर्रासम्म सजाय हुन सक्छ। जुवा खेल्ने, मदिरा सेवन गर्ने, महिलाले शरीरमा कसिने कपडा लगाउने वा पुरुषले शुक्रबारको सामूहिक नमाजमा सहभागी नहुनेजस्ता कसुरमा पनि कोर्राको सजाय दिने व्यवस्था छ।
यस घटनाप्रति मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनल इन्डोनेसियाले आपत्ति जनाएको छ। संस्थाका कार्यकारी निर्देशक उस्मान हमिदले सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय अमानवीय, अपमानजनक र मानवअधिकारविपरीत भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा गरिएको यस्तो व्यवहार सबै उमेर समूहका मानिसले हेर्न सक्ने भएकाले अनुपयुक्त मान्न सकिए पनि त्यसकै आधारमा जेल सजाय वा सार्वजनिक रूपमा कोर्रा हान्नु अत्यधिक कठोर दण्ड भएको टिप्पणी गरेका छन्।











प्रतिक्रिया