काठमाडौं ।
थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक तीर्थयात्रामा हिँडेका बौद्ध भिक्षुहरूको समूहमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिहीबार भएकाे दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
मुक्ताहान प्रान्तका गभर्नर वोरायन बुन्नारतका अनुसार तीर्थयात्रामा सहभागी ३५ जना भिक्षुहरू मुक्ताहान प्रान्तबाट उबोन राचाथानी प्रान्ततर्फ करिब १६० माइल पैदल यात्रा गरिरहेका थिए। यात्रा सुरु गरेको करिब आधा घण्टामै दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जना भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको जनाइएको छ।
स्थानीय उद्धार संस्था रुआम जाइ मुक्ताहान रेस्क्यु एसोसिएसनले सार्वजनिक गरेको सिसिटिभी दृश्यमा भिक्षुहरू सडकको छेउमा एकपछि अर्को गर्दै लाइनमा हिँडिरहेका बेला पिकअप ट्रक अचानक नियन्त्रण बाहिर गई उनीहरूमाथि ठोक्किएको देखिन्छ।
प्रहरीका अनुसार दुर्घटनापछि ११ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको छ। बाल संरक्षण अधिकारीको उपस्थितिमा उनीसँग सोधपुछ गरिने जनाइएको छ।
दुर्घटनाको वास्तविक कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा रहेका भिक्षुहरूले ट्रक सडकमा अनियन्त्रित रूपमा यताउता हल्लिँदै आएको र त्यसपछि सडकबाट चिप्लिएर उनीहरूको समूहमा ठोक्किएको बताएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया