हलिउड स्टार जेन्डाया प्रायः आफ्नो आकर्षक र महँगो फेसन छनोटका कारण चर्चामा रहने गर्छिन्। तर यसपटक भने उनले ‘स्पाइडर–म्यान: ब्रान्ड न्यू डे’ को प्रचार कार्यक्रममा लगाएको साधारण कालो टी–सर्टले नै सामाजिक सञ्जाल र फेसन जगतमा चर्चा बटुलेको छ।
पेरिसमा आयोजित प्रचार कार्यक्रममा जेन्डाया अगाडि स्पाइडर–म्यानको प्रिन्ट भएको ठूलो आकारको कालो टी–सर्टमा देखिएकी थिइन्। सामान्य देखिने उक्त टी–सर्टलाई उनले स्टाइलिश हिलसँग संयोजन गरेकी थिइन्, जसले उनको लुकलाई अझ विशेष बनाएको थियो।
चर्चाको मुख्य कारण भने टी–सर्टको मूल्य बन्यो। उनका स्टाइलिस्ट ल’ रोचले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त भिन्टेज टी–सर्ट अनलाइन प्लेटफर्म ईबेबाट केवल ३४.९९ अमेरिकी डलरमा खरिद गरिएको बताएका छन्। उनले राम्रो फेसनका लागि सधैं महँगो पोशाक आवश्यक नपर्ने सन्देशसमेत दिएका छन्।
जेन्डाया र रोचको जोडी विगतदेखि नै अनौठा तथा सिर्जनात्मक फेसन प्रयोगका लागि परिचित छ। विभिन्न रेड कार्पेट तथा फिल्म प्रमोशनमा उनीहरूले प्रस्तुत गरेका लुकहरू प्रायः चर्चाको विषय बन्ने गरेका छन्।
यसअघि पनि ‘स्पाइडर–म्यान’ श्रृंखलाको प्रचारका क्रममा जेन्डायाले फिल्मको कथासँग मेल खाने विभिन्न डिजाइनका पोशाक लगाएकी थिइन्। तर यसपटक भने साधारण र किफायती टी–सर्टमार्फत उनले फेसनको नयाँ सन्देश दिन सफल भएकी छन्।
टम हल्याण्ड र जेन्डाया अभिनीत ‘स्पाइडर–म्यान: ब्रान्ड न्यू डे’ जुलाई ३१ देखि प्रदर्शनमा आउने तयारीमा छ।











प्रतिक्रिया