काठमाडौं।
रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिजका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकलाई करिब एक महिनाअघि कुकुरले टोकेको भए पनि समयमै रेबिजविरुद्धको खोप नलगाइएका कारण संक्रमण गम्भीर बनेको चिकित्सकहरूले बताएका छन्।
अस्पतालका अनुसार शिक्षण पेशामा आबद्ध ती पुरुषलाई कुकुरले टोकेपछि प्रारम्भिक उपचार गरिए पनि रेबिजविरुद्धको आवश्यक खोप नलगाइएकाले पछि संक्रमण विकसित भएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको चार दिनपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
रेबिज एक भाइरल रोग हो, जुन संक्रमित कुकुर, बिरालो, स्याल, बाँदरलगायत जनावरको टोकाइ वा र्यालको सम्पर्कबाट मानिसमा सर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार रेबिजको लक्षण देखिन थालेपछि उपचार प्रभावकारी नहुने भएकाले यसलाई लगभग शतप्रतिशत घातक रोग मानिन्छ।
चिकित्सकहरूका अनुसार रेबिज संक्रमण भएका व्यक्तिमा सुरुमा ज्वरो आउने, टोकेको ठाउँमा पोल्ने वा झमझमाउने, त्यसपछि पानी र हावादेखि डराउने, उत्तेजित हुने तथा स्नायु प्रणालीमा असर पर्ने लक्षण देखिन्छन्। अन्ततः बिरामीको मृत्यु हुन सक्छ।
स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अधिकारीहरूका अनुसार नेपालमा हरेक वर्ष रेबिजका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ। रेबिजबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्नु, नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउनु तथा आवश्यक परे इम्युनोग्लोबुलिन उपचार लिनु हो।
स्वास्थ्यकर्मीहरूले घरपालुवा कुकुरले टोके पनि बेवास्ता नगर्न आग्रह गरेका छन्। ‘सानो घाउ छ, केही हुँदैन’ भन्ने सोचले धेरै मानिस जोखिममा पर्ने गरेको भन्दै जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याइएको छ।











प्रतिक्रिया