काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. २४ ले समाज तथा राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्याएको भन्दै ई. दिल्ली रत्न शाक्य लाई सम्मान गरेको छ। वडा कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले शाक्य, पूर्व जलस्रोत सचिव ई. भुवनेश्वर कुमार प्रधान, पूर्व राजदूत केदारभक्त श्रेष्ठ, पूर्व राजदूत दुर्गेशमान श्रेष्ठलगायतलाई सम्मान गरेका हुन् । सम्मानपत्रमा उनीहरूले आफ्नो ज्ञान, सीप, मेहनत तथा निरन्तर योगदानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै समाज, समुदाय र राष्ट्रको गौरव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। २४ वडाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका आफ्नो वडाका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

पत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वले नयाँ पुस्तालाई सकारात्मक सोच, अनुशासन, लगनशीलता र उत्कृष्टताको बाटोमा अघि बढ्न प्रेरित गर्नुका साथै सक्षम समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको जनाइएको छ।

काठमाडौं महानगरपालिकाका विभिन्न वडाले आफ्नो क्षेत्रका कला, संस्कृति, शिक्षा, पत्रकारिता, सामाजिक सेवा, उद्यम, खेलकुद तथा अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दै स्थानीय स्तरमै प्रतिभाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्। वडा नं. २४ को यो सम्मान कार्यक्रम पनि समाजमा प्रेरणादायी योगदान पुर्याउने व्यक्तित्वको सम्मान र नयाँ पुस्तालाई उत्प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।











प्रतिक्रिया