बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ


काठमाडौं।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार रहेका सविता कार्कीलाई पक्राउ गरिएको हो।

कार्कीले सञ्चालक रहेको चारित्रिक बिल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजात तयार पारेको, हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यवसायिक परियोजना खडा गरेर तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई झुक्याई ऋण निकासा गराएको आरोप थियो। प्राप्त ऋण रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरिएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत, पाटनले २०७१ वैशाख २२ गते कार्कीलाई ३ वर्ष कैद तथा ८ करोड ५० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सजायपछि फरार रहेकी कार्कीलाई सीआईबीको टोलीले २०८३ असार ७ गते काठमाडौं महानगरपालिका–४ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।