काठमाडौँ।
चरा तथा पन्छीमा फैलिने अतिसङ्क्रामक भाइरल रोग बर्ड फ्लू देशका ११ जिल्लाका ८२ स्थानमा पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हाल विभिन्न जिल्लामा फैलिएको हो।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लूको संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलो दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।
कोशी प्रदेशमा रोग नियन्त्रणका लागि एक महिनासम्म पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा लगाइएको प्रतिबन्ध हाल संक्रमण नियन्त्रणमा आएपछि खुकुलो बनाइएको छ। विभागले क्वारेन्टाइन तथा निगरानी प्रणालीलाई सक्रिय बनाउँदै अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरेको जनाएको छ।
विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन तथा नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही क्षेत्रमा अझै संक्रमण देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
बर्ड फ्लू नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष नियन्त्रण कक्ष गठन गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अभियान सञ्चालन गरिरहेको जनाएको छ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डा क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधनलाई निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने जनाएको छ।











प्रतिक्रिया