काठमाडौं ।
चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरले असाधारण साहस र चलाखी देखाउँदै आफ्नो ज्यान बचाएका छन्। अपहरणकारीहरूको नियन्त्रणमा रहेका बेला उनले कागजमा ‘हेल्प’ लेखेर बाहिर फ्याँकेको चिर्कटो प्रहरीसम्म पुगेपछि उनको सकुशल उद्धार सम्भव भएको हो।
चितवनको नारायणगढ क्षेत्रबाट आइतबार अपहरण गरिएका ती किशोरलाई सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट प्रहरीले उद्धार गरेको छ। घटनामा संलग्न पाँच भारतीय नागरिकसहित एक नेपाली गरी ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार होटलमा बन्धक बनाइएका किशोरले आफूलाई उद्धार गरिदिन अनुरोध गर्दै एउटा कागजमा आफ्नो नाम, घर ठेगाना, बाबुको मोबाइल नम्बर र ‘किडन्याप्ड’ लेखेर होटल नजिकैको चउरमा फ्याँकेका थिए।
उक्त चिर्कटो एक सर्वसाधारणले फेला पारी प्रहरीलाई खबर गरेपछि अनुसन्धान टोली सक्रिय भएको थियो। सूचनाको आधारमा प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गर्दै नयाँबजारस्थित होटलमा छापा मारी किशोरको सकुशल उद्धार गरेको हो।
प्रहरीका अनुसार अपहरणकारीहरूले किशोरका बुबासँग सम्पर्क गरी २२ लाख रुपैयाँ फिरौती मागेका थिए। प्रारम्भिक चरणमा परिवारले प्रहरीलाई जानकारी नदिए पनि पछि समन्वय गरेपछि अनुसन्धानले तीव्रता पाएको थियो।
अनुसन्धानका क्रममा अपहरित किशोरलाई होटलमा कुटपिट गरिएको, मानसिक दबाब दिइएको तथा ज्यान मार्ने धम्कीसमेत दिइएको खुलेको छ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिद रहेका छन्। उनीहरू सबै १८ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ। यसै प्रकरणमा चितवनबाट एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अपहरित किशोर र मुख्य योजनाकार मानिएका सुजित कुमार पहिले साथी रहेको खुलेको छ। कक्षा ७ सम्म सँगै अध्ययन गरेका उनीहरू विद्यालय छाडेपछि सम्पर्कविहीन भएका थिए। केही समयअघि सुजितले इन्स्टाग्राममार्फत पुनः सम्पर्क गरी भेट्न बोलाएको र भेट्न गएका किशोरलाई चितवनकै एक होटलमा राखी पछि भारतीय नम्बर प्लेटको गाडीमार्फत काठमाडौं ल्याइएको अनुसन्धानबाट खुलेको छ।
चितवन जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेसनबाट उद्धार तथा पक्राउ प्रक्रिया सफल भएको प्रहरीले जनाएको छ।
अपहरित किशोरको परिवार सुनका गहना निर्माण गर्ने व्यवसायमा संलग्न रहेको र सोही पृष्ठभूमिलाई लक्षित गरी फिरौती असुल्ने उद्देश्यले अपहरण गरिएको हुनसक्ने कोणबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको तथा अपहरणमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा पनि खोजबिन भइरहेको जनाएको छ।











प्रतिक्रिया