३० करोडको टिकट र महँगो पार्किङ


वाशिंटन, (एजेन्सी)

फिफा विश्वकपको टिकट मूल्य यतिबेला सर्वसाधारणको पहुँचभन्दा पूर्ण रूपमा बाहिर पुगेपछि विश्वभर तीव्र आक्रोश र फिफाको कडा आलोचना भइरहेको छ ।

गत जनवरीमा बिक्री खुला गर्दा १४० देखि ८ हजार ६ सय ८० अमेरिकी डलरसम्म रहेको टिकटको मूल्य अहिले आकाशिएर फाइनल खेलका लागि ३२ हजार ९ सय ७० डलरसम्म पुगेको छ । अचम्मको कुरा त, फिफाकै आफ्नै दोस्रो बजार (रिसेल मार्केटप्लेस) मा फाइनल खेलको एउटै टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड नेपाली रुपैयाँसम्म सूचीबद्ध गरिएको छ । फिफाले यो मूल्यमा आफ्नो कुनै नियन्त्रण नभएको दाबी गरे पनि प्रत्येक पुनः बिक्री (रिसेल) बाट उसले ३० प्रतिशत कमिसन खल्तीमा हाल्ने गरेको तथ्यले समर्थकहरूलाई थप आक्रोशित बनाएको छ । यसले गर्दा विश्वकप अब पैसा हुनेहरूले मात्र रङ्गशालामा हेर्न पाउने खेल बन्दै गएको गम्भीर प्रश्न खडा भएको छ ।

अत्यधिक महँगीको मार टिकटमा मात्र सीमित नभएर रङ्गशालाको पार्किङ र यातायात क्षेत्रमा समेत स्पष्ट देखिएको छ । खेल हुने रङ्गशालाहरूमा गाडी पार्किङको शुल्क नै १७५ डलरसम्म तोकिएको छ भने रेल भाडामा समेत भारी वृद्धि गरिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले इतिहासकै बढी माग भएका कारण सबै टिकट बिक्ने दाबी गरिरहेका बेला एउटा सर्वेक्षणले भने केवल २६ प्रतिशत अमेरिकी मात्र यस विश्वकपप्रति उत्साहित रहेको देखाएको छ । यही अत्यधिक महँगीकै कारण अमेरिकाका ११ वटा आयोजक सहरहरूमा होटल बुकिङ समेत अपेक्षा गरिएभन्दा निकै सुस्त छ । खेलकुदको यो महाकुम्भ अचेल आम सर्वसाधारण र वास्तविक फुटबल प्रशंसकका लागि नभई कर्पोरेट हाउस र धनाढ्यहरूको मात्र विशेष उत्सव बन्न पुगेको भन्दै सामाजिक सञ्जालहरूमा सर्वत्र विरोध भइरहेको छ ।