अमेजन प्राइमको सिरिज ‘द पिरामिड स्किम’मा नेपाली कलाकार झलनाथ खत्री


काठमाडौं ।
विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइममा हालै सार्वजनिक भएको सिरिज ‘द पिरामिड स्किम’मा नेपाली कलाकार झलनाथ खत्रीले समेत अभिनय गरेका छन्। हालै मात्र रिलिज भएको यो सिरिजको पहिलो सिजनका ७ एपिसोडमध्ये ४ एपिसोडमा खत्री देखिएका छन् र उनले कथामा निर्णायक भूमिकासमेत निभाएका छन्।

यदि सिरिजका आगामी सिजनहरू निर्माण भएमा आफू ती प्रोजेक्टहरूमा पनि सहभागी हुने अपेक्षा रहेको खत्रीले बताएका छन्। यो सिरिज मल्टिलेभल मार्केटिङ प्रणालीमा आधारित विषयवस्तुमा केन्द्रित छ, जहाँ पिरामिड शैलीमा कमिसन वितरण हुने व्यापारिक संरचनाको कथा प्रस्तुत गरिएको छ।

झलनाथ खत्रीका लागि यो यात्रा सहज भने थिएन। उनले अभिनयको आधार बलियो बनाउन भारतको दिल्लीस्थित अस्मिता थिएटर ग्रुपमा दुई वर्ष प्रशिक्षण लिएका थिए। साथै उनी नेपालकै ओस्कार इन्टरनेशनल फिल्म कलेजका विद्यार्थी पनि हुन्।

तर पढाइको क्रममा आर्थिक चुनौतीका कारण उनले बीचमै अध्ययन छोड्नुपरेको थियो। खत्रीका अनुसार, “आर्थिक दबाबका कारण भारतको गोवा गएर वेटरको काम पनि गरेँ। परिवारले विदेश जान सुझाव दिएका थिए, तर मलाई नेपालमै केही गर्नुपर्छ भन्ने थियो।”

त्यसपछि उनी मुम्बई पुगे, जहाँ संघर्ष झन् कठिन बन्यो। त्यहाँ उनीजस्ता धेरै कलाकारहरू अवसरको खोजीमा संघर्षरत थिए। यही क्रममा कास्टिङ कम्पनी कास्टिङ बेले ‘द पिरामिड स्किम’का लागि अडिसन लिइरहेको थियो। सोही अवसरमा खत्रीले पनि अडिसन दिए।

उनका अनुसार, “मैले गरेको अडिसनका लागि पहिले नै अर्कै कलाकार छनोट हुने सोच बनिसकेको रहेछ। तर मेरो काम हेरेपछि उनीहरू प्रभावित भए।” अडिसनपछि नेपाल फर्किएका खत्रीलाई केही समयपछि ‘सर्टलिस्ट’ भएको जानकारी आयो र त्यसपछि उनी अन्ततः सिरिजका लागि छनोट भए।

सिरिजको सुटिङ मुम्बई, देहरादून र हरिद्वारलगायत विभिन्न स्थानमा गरिएको थियो, जुन करिब तीन महिनासम्म चलेको थियो। सुटिङ सकिएको करिब एक वर्षपछि सिरिज सार्वजनिक भएको हो र प्रारम्भिक प्रतिक्रिया सकारात्मक रहेको बताइएको छ।

अब भने खत्री नेपाली फिल्ममा क्षेत्रमा अझ सक्रिय भएर काम गर्न चाहन्छन्। उनका अनुसार नेपाली फिल्म उद्योगको सम्भावना अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिन्छ।