बाजुरा।
रानीशैनलाई लिएर पछिल्लो समय उठाइएको विषय सीमा विवाद नभई तस्करी नियन्त्रणसँग जोडिएको विषय भएको निष्कर्ष बाजुराका राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन तथा सरोकारवालाहरूले निकालेका छन्। बुधवार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले लाम्पाटा घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न र रानीशैन क्षेत्रमा स्थायी सुरक्षा उपस्थिति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
बैठकबाट पारित निर्णयअनुसार रानीसैन घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी तत्काल पक्राउ गर्न संघीय सरकारलाई अनुरोध गर्ने तथा पक्राउ प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
त्यस्तै, दोषीहरूलाई पक्राउ नगरेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने पक्षहरूको जानकारी सुरक्षा निकायलाई गराइएको जनाइएको छ। बैठकले शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
यसैगरी, रानीसैन पीडित पक्षबाट प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाई घटनाको निष्पक्ष छानबिन तथा समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय समेत गरिएको छ।बैठकले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित पक्षलाई न्याय दिलाउन सबै तहका सरकार तथा सरोकारवाला निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।रानीसैन घटनाले स्थानीयस्तरमा चासो र बहस बढिरहेका बेला सर्वदलीय बैठकका निर्णयले घटनाको निष्पक्ष अनुसन्धान तथा समाधान प्रक्रियालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले रानीशैनको विषयलाई सीमा विवादको रूपमा प्रस्तुत गरिनु वास्तविकता विपरीत भएको दाबी गरे। उनीहरूका अनुसार रानीशैन ऐतिहासिक, प्रशासनिक र व्यवहारिक रूपमा बाजुराको भूभाग हो। “यो सीमा विवाद होइन, तस्करीका नाइकेहरूले रचेको प्रपञ्च हो,” बैठकमा सहभागी नेताहरूले एक स्वरमा भने। उनीहरूले लाम्पाटा घटनाका मुख्य योजनाकार र तस्करीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगाउने प्रयास भइरहेको आशंका समेत व्यक्त गरे।

रानीशैन क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, संकलन, संरक्षण तथा व्यावसायीकरणमार्फत स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यका साथ बाजुरावासी वर्षौंदेखि सक्रिय रहेको सहभागीहरूको भनाइ थियो। उनीहरूले आफूहरूको उद्देश्य विकास र समृद्धि भएको, झगडा वा द्वन्द्व सिर्जना गर्नु नभएको स्पष्ट पारे।
लाम्पाटा घटनापछि सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारले निर्णायक कदम चालेको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका असई मिठ्ठुबहादुर बोहराको नेतृत्वमा ७ जना प्रहरीको टोली मंगलबार सदरमुकाम मार्तडीबाट लाम्पाटातर्फ प्रस्थान गरेको छ। त्यहाँ अस्थायी सशस्त्र सुरक्षा बेस तथा नेपाल प्रहरी चौकी स्थापना गरिने भएको छ। प्रहरी नायव उपरिक्षक एब जिल्ला प्रहरी कार्यालय प्रमुख शैलेश्वरी बेहराले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घटनाका बारेमा गृहसचिवदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म जानकारी गराइएको बताउँदै दोषीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए। “प्रशासनले कुनै पहल गरेन भन्न मिल्दैन। यो विषयलाई गम्भीरतापूर्वक लिएर सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाइरहेको छ,” उनले भने।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला शार्कीले रानीशैनसँग बाजुराको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै पञ्चायती कालदेखि चलनभोग, नक्सा तथा प्रशासनिक अभिलेखले समेत उक्त क्षेत्र बाजुराकै रहेको पुष्टि गर्ने बताइन्। “हामीलाई घरभित्र थुनेर कुटपिट गरियो। दोषीलाई कानुनी कारबाही हुनुपर्छ,” उनले भनिन्।
यसअघि लाम्पाटामा बाजुराका स्थानीयमाथि भएको आक्रमणपछि गृह मन्त्रालयले सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतसहितको टोली घटनास्थल पठाएको थियो। अहिले सुरक्षा बेस स्थापना गर्ने निर्णयसँगै राज्यले उक्त क्षेत्रको सुरक्षा र शान्ति कायम गर्न थप सक्रियता देखाएको स्थानीयको बुझाइ छ।
बैठकमा सहभागीहरूले बाजुरा र हुम्लाबीचको रोटी(बेटीको सम्बन्धलाई कमजोर पार्ने कुनै पनि गतिविधि रोक्न आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा केही आपराधिक समूहका कारण दुई जिल्लाबीचको सद्भाव प्रभावित हुन नदिन प्रशासनले कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्छ।
लाम्पाटा घटनाका देषीलाइ कार्वाही नभएको र यही जेठ २३ गते रानीसैनमा स्थानियका घरटहरामा अगजनी सहित कुटपिट गरी हुम्लीको पुनह आक्रमण विरुद्ध बुधवार दिउसो रानीसैन पिडित सघर्ष समितिले सदरमुकाम मार्तडी बजारबन्द गराएका छन् । सदरमुकाम मार्तडीमा जुलुस प्दर्शन गरेका थिए । उनीहरुको एउटै माग थियो लाङ्ग्पाटा रानीसैन पिडकलाइ कार्वाही गर रानीसैन क्षेत्र सरक्षण गर । माग सम्वेधन नभए दावाव स्वरुप भेलि दिउसो देखी हिमाली गाउँपालिकाके धुलाचैर देखी कुवाडी सडक खण्ड अवरुद्ध गरिने जिल्ला स्थित राजनीतिक दलका नेतालेहरुले भने ।
रानीशैनमा सुरक्षा बेस स्थापना हुने निर्णयसँगै स्थानीयले लामो समयदेखि उठाउँदै आएको सुरक्षा माग पूरा हुने अपेक्षा गरेका छन्। साथै, तस्करी तथा आपराधिक गतिविधिमाथि नियन्त्रण स्थापित गर्दै विकास र समृद्धिको मार्ग खुल्ने विश्वास व्यक्त गरिएको छ। “लाम्पाटामा न्यायको सुरुवात भएको छ,” बैठकपछि सहभागीहरूको साझा निष्कर्ष थियो।











प्रतिक्रिया