शान्तस्थलमा माझखण्डको बुद्ध बिहार

0
Shares

काठमाडौं उपत्यकाको मूल भीडभाडबाट केही पर, तर सहजै पुग्न सकिने माझखण्डमा रहेको यो धार्मिक क्षेत्र शान्त ध्यानस्थल र सांस्कृतिक अवलोकनको उपयुक्त गन्तव्य बन्दैछ। माझखण्ड पुग्न सातदोबाटोबाट कान्ति लोकपथ हुँदै छपेली पुगेपछि लोकपथ छाडेर सहायक सडकको यात्रा गर्नुपर्छ। सातदोबाटोबाट २६ किमिको दूरीमा छपेली पर्छ। छपेलीबाट माझखण्ड १२ किमिको दूरीमा छ।

छपेलीबाट माझखण्डसम्म २.८ किमिको स्टेसन टु स्टेसन प्रविधिको केवलकार र माझखण्डमा पर्यटनका विविध प्याकेजसहितको पूर्वाधार विकासमा डेस्टिनेसन माझखण्ड कम्पनीका साथमा स्थानीय समुदाय जुटेको छ। अत्याधुनिक स्विस प्रविधिको ३ हजार ६ सय केजी बोक्ने क्षमता भएको केबलकारले यहाँको यात्रा मात्र चार मिनेटमा पूरा गर्ने कम्पनीले दाबी गरेको छ। दक्षिण एसियामै पहिलो हुने यो प्रविधिको केवलकार स्विट्जरल्यान्डमा निकै लोकप्रिय मानिन्छ। यो केबलकारको एउटै गोण्डोलामा ५० देखि ६० जनाले यात्रा गर्न सक्छन् ।

माझखण्डको बुद्ध विहारले स्थानीय समुदायको विश्वास, परम्परा र बौद्ध संस्कृतिको निरन्तरता सुरक्षित राख्दै आएको विहार स्थापनामा खटिएका स्थानीय एवम् विहारका संस्थापक अध्यक्ष चन्द्रबहादुर स्याङतान बताउनुहुन्छ। यहाँको एकमात्र बुद्ध विहार र बुद्ध मूर्ति कलात्मक तथा धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिएको छ। स्थानीय नेवार समुदायको बौद्ध परम्परा, पूजापाठ, पात्रोअनुसार हुने पर्व तथा साँझबिहानको दीप प्रज्ज्वलनजस्ता गतिविधिले यहाँको आध्यात्मिकता झनै गहिरो बनेको छ। बुद्धविहार स्थानीय समाजको सांस्कृतिक केन्द्रमात्र होइन, बौद्ध दर्शन सिक्ने र अध्ययन गर्ने स्थलका रूपमा विकसित भइरहेको छ। यहाँ वार्षिक रूपमा गरिने वर्षाबास र कठिन चीवर दानले बौद्धमार्गीलाई आकर्षित गर्छ।

लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरिएपछि नेपाल बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यको रूपमा स्थापित छ। धार्मिक पर्यटन क्षेत्रभित्र ललितपुरको माझखण्डमा रहेको बुद्ध विहार आकर्षणको रूपमा छ।माझखण्डमा साढे दुई दशकअघि स्थापित बौद्ध विहार बुद्ध धर्म मान्ने भक्तजनका लागि भने सुपरिचित गन्तव्य हो। तर पर्याप्त जानकारी नहुँदा कतिपय भक्तजन यहाँ पुग्न सकिरहेका छैनन्। दक्षिण ललितपुरमा तामाङ समुदाय बाहुल्य बसोबास छ।

थेरावादी सम्प्रदायले विहारमार्फत बौद्ध धर्मप्रति आस्था प्रकट गर्छन् भने तामाङले गुम्बामार्फत आस्था प्रकट गर्छन्। ललितपुर उपत्यका कला, संस्कृति र बौद्ध सम्पदाको प्राकृतिक संग्रहालय जस्तै छ। यहाँका विहार, चैत्य, स्तूप र परम्परागत समुदायले बौद्ध धर्मको गहिरो इतिहास बोकेका छन्। यही सांस्कृतिक पहिचानबिचमा अवस्थित माझखण्डको बुद्ध विहार धार्मिक, सांस्कृतिक र अध्ययनपरक पर्यटनका लागि आकर्षणको स्थल बनेको छ।

ध्यानका लागि शान्त, निर्मल र आत्मिक ऊर्जा भरिएको वातावरण अत्यावश्यक मानिन्छ। विश्वभरका बौद्ध अनुयायी, आध्यात्मिक साधक तथा मनोवैज्ञानिक सन्तुलन खोज्ने व्यक्तिहरू नेपालजस्ता शान्त मुलुकमा आउने प्रमुख कारण पनि यही हो। यस सन्दर्भमा माझखण्डको प्राकृतिक सुन्दरता, हरियाली, ताजा हावा र प्रदूषणरहित वातावरण आफैंमा एक विशिष्ट आकर्षण बनेको छ। यहाँ रहेको बौद्ध विहार तथा ध्यानस्थलले केवल धार्मिक दृष्टिले मात्र होइन, अध्ययन, अनुसन्धान तथा आध्यात्मिक साधनाका लागि पनि उपयुक्त माहोल सिर्जना गर्छ। बौद्ध दर्शन बुझ्ने, जीवनका यथार्थ पक्षहरूमा ध्यान दिने र आत्मचिन्तनमा डुब्नेहरूका लागि यो क्षेत्र क्रमशः महत्त्वपूर्ण आश्रयस्थल बन्दैछ।

स्थानीय समुदायका अनुसार, यहाँ संरचित कार्यक्रम विकास गर्ने, प्रशिक्षित गाइड उपलब्ध गराउने, होमस्टेहरूको स्तर सुधार गर्ने तथा सूचना प्रणाली व्यवस्थित बनाउनेजस्ता कामबारे चर्चा सुरु हुन थालेको छ। जसले नियमित ध्यान, अध्ययन र आध्यात्मिक साधनाको प्रमुख गन्तव्य बन्न सक्छ। धर्मगुरु तथा गुरुआमाहरूको अनुभवअनुसार, यहाँ गरिने ध्यान अन्य धेरै स्थानभन्दा गहिरो, सार्थक र ऊर्जामय हुन्छ। प्राकृतिक मौनता र सकारात्मक आध्यात्मिक कम्पनले ध्यान गर्नेहरूलाई आन्तरिक शान्ति र स्पष्टता प्रदान गर्छ भन्ने विश्वास छ।

बुद्ध विहार सम्भावनाभित्रको महत्त्वपूर्ण केन्द्र हो। माझखण्डले शान्त वातावरण, सांस्कृतिक सौन्दर्य र बौद्ध दर्शनको मौलिकता बोकेको छ। आवश्यक पूर्वाधार, प्रभावकारी प्रवर्धन र सामुदायिक सहभागितासँगै माझखण्ड बुद्ध विहार प्रमुख गन्तव्य बन्ने पूर्ण क्षमता राख्छ।शान्तिका दुत गौतम बुद्धको मार्ग खोज्नका लागि शान्तस्थल माझखण्ड र यहाँको बुद्ध बिहार उपर्युक्त स्थल हुन्छ ।