–जुन १५–१७ मा मनसुन भित्रिने
–सेप्टेम्बरसम्म सक्रिय रहने
काठमाडौं।
यस वर्षको मनसुन एक सातापछि नेपाल भित्रिने बताइएको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक अर्यालले जुन १५ देखि १७ भित्र मनसुन नेपाल भित्रिसक्ने जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने प्रणाली जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहनेछ । गत वर्षको तुलनामा यो वर्ष सुख्खा वर्ष हो ।
यो वर्ष बंगालको खाडीमा मौसमी प्रणाली विकास हुन ढिलो भएकोले नेपाल भित्रिन ढिलो भएको मौसमविद् अर्यालको भनाइ छ । मौसम विज्ञान विभागले यो वर्ष वर्षाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसै गरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।
यो वर्षको प्रि–मनसुनमा धेरै सक्रिय भएर बढी वर्षात भएको अर्यालको भनाइ छ । उहाँका अनुसार समुन्द्र सतहको तापक्रम अत्यधिक बढ्ने समय भएकोले यो वर्ष वर्षातमा औषतभन्दा कम पानी पर्ने सम्भावना छ । संजोग पनि त्यस्तै परेको छ नेपालको हरेक ३ वर्षमा आउने अधिकमास (पुरुषोत्तम महिना)को अवधिमा मौसममा परिवर्तन भएर मनसुनको समयमा कम पानी पर्ने भएको छ । तैपनि मनसुनको समयको मध्य र अन्त्यमा राम्रै वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ । नेपालको कुल गार्हस्थ उत्पादन(जीडीपी)को आधार कृषि हो । मनसुनको आधारमा जीडीपीको दर घटबढ हुन सक्छ । जुनदेखि सेप्टेम्बरसम्मको १२० दिनको अवधिमा कुल वर्षातको ८० प्रतिशत र हिउँद र प्रि–मनसुनमा २० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ ।
यो वर्ष विभिन्न भेगमा फरक–फरक मनसुन हुने सम्भावना छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी र कोशी प्रदेशका दक्षिण भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । ती प्रदेशमा ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको विभागको प्रक्षेपण छ ।
यसै गरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्यभूभागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षात हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी, लुम्बिनी प्रदेशको पश्चिमी, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी, वागमती प्रदेशका पश्चिमी, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।
यसै गरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ । न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना स्थान विशेषअनुसार फरकफरक छ ।











प्रतिक्रिया