‘भारत भ्रमण उपलब्धिमूलक’

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता


–दुई समझदारीपत्रमा हस्ताक्षर

–७२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरूको भर्चुअल हस्तान्तरण

काठमाडौं।

भारतको तीनदिने भ्रमण सकेर फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री एस जयशंकरसँगको बैठकमा नेपाल–भारत दुई पक्षीय सम्बन्धका सबै पक्षमा व्यापक र उपलब्धिमूलक छलफल भएको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले दुवै देशका प्रतिनिधि मण्डलबीच भएको वार्तामा व्यापार तथा आर्थिक सहकार्य, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, सञ्चार सञ्जाल, खेलकुदलगायत जनस्तरीय सम्बन्ध अभिवृद्धिलगायतका विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले शनिवार भएको द्विपक्षीय बैठकपछि भारतको युनिफाइड पेमेन्टस इन्रफोस (ईपीआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टू–पियर (पीटूपी) सञ्चालनको समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । त्यसै गरी भारतका विदेशमन्त्री जयशंकरले नेपालका लागि भारतको सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत सम्पन्न भएका ७२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरूको भर्चुअल हस्तान्तरण गर्नुभएको थियो । भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ, डिजिटल इन्डिया भाषिणीबीच समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो ।

स्वदेश फर्कनुअघि नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सहमतिबिना हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको थियो । यस सम्बन्धमा नेपालले यसअघि नै दिल्ली र बेइजिङलाई कूटनीतिक नोटमार्फत आफ्नो धारणा स्पष्ट पारेको स्मरण गराउँदै उहाँले यो नेपालको अकाट्य ऐतिहासिक दाबी भएको बताउनुभएको थियो ।

पत्रकार सम्मेलनमा भारतीय मिडियाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको अभिव्यक्तिले सीमा विवादको अन्तर्राष्ट्रियकरण गर्ने प्रयासको आशंका पैदा भएको भन्ने प्रश्नमा परराष्ट्रमन्त्री खनालले नेपाललाई मध्यस्थकर्ता चाहिएको नभई इतिहासको प्रमाण चाहिएको स्पष्टीकरण दिनुभएको थियो ।