गुल्मीमा लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

940
Shares

गुल्मी ।

गुल्मीमा लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन्। जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय रिडी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीको संयुक्त टोलीले शुक्रबार बिहान मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण गरेको थियो । परीक्षणका क्रममा लु १ ज १९९३ नम्बरको जिपका चालक सत्यवती गाउँपालिका–६ निवासी ३३ वर्षीय कृष्णप्रसाद राना र लु २ ख ६२२३ नम्बरको फोर्स गाडीका चालक गुल्मीदरबार गाउँपालिका–१ निवासी ४० वर्षीय रामबहादुर परियारको मल्टी ड्रग स्क्रिन परीक्षण गरिएको थियो।

रुरु प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकद्वारा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा दुवै चालकको नतिजा ‘Marijuana Positive’ देखिएको प्रहरीले जनाएको छ। लागुऔषध सेवन गरी सवारी चलाउँदा यात्रुको जीवनमा गम्भीर जोखिम पर्न सक्ने देखिएकाले दुवैलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) बीरेन्द्र वीर विश्वकर्माले बताए ।

उनीहरूमाथि थप अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी दुर्घटना रोकथाम तथा सुरक्षित यात्राको अभियानलाई प्रभावकारी बनाउन यस्ता चेकजाँच नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।