प्रथम महिला फुटसल लिग विवादमा 

आयोजकको गम्भीर लापरबाहीले टिमलाई ठूलो मर्का


पोखरा। 

 पहिलो पटक आयोजना भएको पोखरा फुटसल लिग यतिबेला विवादमा आएको छ । ‘प्ले फेयर, प्ले हार्ड, इन्जोय द गेम’ अर्थात् निष्पक्ष खेल, कडा खेल र खेलको आनन्द लिउँ यो पोखरामा जारी प्रथम महिला फुटसल लिगको स्लोगन राख्दै गरेको प्रतियोगितामा न त निष्पक्ष देखियो न त नियमलाई आत्मसात गरेकै । पोखरा क्यापिटल एफसीले पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा जेठ १९ देखि  २३ गतेसम्म सञ्चालन हुने गरी  सर्वाधिक राशीको फुटबल आयोजना गरेको फुटसल लिगमा हुँदै नभएको नकआउट र फाइनल खेल थपेपछि विवादमा तानिएको हो । 

पाँच टिम सहभागि रहेको प्रतियोगिता सिंगल राउन्डरोविन लिगको आधारमा सञ्चालन हुने र लिग तालिकाको शीर्ष स्थानको टोली विजेता हुने नियम रहेपनि आयोजकले त्यसलाई ताड्दै एकाएक सेमीफाइनल र फाइनलको खेल राखेपछि विजेता बनिसकेको बौद्ध एसीले पुनः फाइन खेल्नु पर्ने भएको हो । आफूहरुलाई सुरुमा सिंगल राउन्डरोविन मात्रै भनेर खेलाएपनि खेलको बीचमा आएर अचानक फाइनल खेल्नु पर्ने बताएपछि आफुहरुले असन्तुष्टि व्यक्त गरेको बौद्ध टिमका प्रतिनिधिहरुले बताएका छन् । 

उनीहरुले फिफा र एएफसीको नियम अनुसार खेल खेलाउने गरि खेल तालिका र खेल नियमावली नै सार्वजानिक गरिसकेको अवस्थामा उपाधि नै जितिसकेपछि पुनः फाइनल खेल खेलाउन भनेपछि आश्चर्यमा परेको बताएका छन् । 

‘फिफा र एएफसीको रुल्स अनुसार खेलाउछु भन्ने अनि विश्वमै नभएको रुल्स अचानक खेलको बीचमा ल्याँदा हामी आश्चर्यमा परेका छौं । उपाधि जितिसकेको हामी अब फेरी फाइनल किन खेल्ने ? यहाँ आयोजकको निकै गैरजिम्मेवारी व्यवहार हो’ एक प्रतिनिधिले भने, ‘त्यसमाथि पनि खेल २३ गते नै सम्पन्न हुनुपर्ने अहिले फेरी दुई दिनको मिति समेत थपेको छ यो दुई दिनको खर्च हामीले कसरी व्यहोर्ने अहिले आयोजकले हाम्रो फोन उठाउँदैन न त कुनै छलफल गर्छ ।’

उता प्रतियोगिता संयोजक विश्व गुरुङले आफुहरुबाट गल्ति भएको स्विकार गरेका छन् । सुरुमा ६ टिम भनेपनि १८ गते राती एक टिमले सहभागिता नजनाउने भएपछि निर्णय परिवर्तन गरेको सुनाए । 

‘सुरुमा ६ टिम नै खेलाउँने र पाँच दिन सिंगल राउन्डरोविन खेलाउने भनेका हौं एक टिम नआएपछि हामीले त्यसो गरेका हौं । पहिलो संस्करण हो धेरै गल्तिहरु भएका छन्’ उनले भने, ‘हामी अब कसरी समाधान गर्ने भनेर आयोजक टिम छलफल गरेर बौद्धसंग छलफल गर्नेछौं ।’ यो बाहेक प्रतियोगितामा अन्य गम्भीर त्रुटि समेत भएका छन् । प्रतियोगिताका लागि म्याच कमिशन्स नै छैनन् । आफूहरुको जनशक्ति कम भएकाले राख्न नसकेको उनको प्रतिक्रिया छ । त्यतिमात्रै होइन कभर्डहलमा समेत पुरै खाल्डा छन् भने आवश्यक प्रकाश (लाइट) को समेत व्यवस्थापनबाट आयोजक चुकेको छ । पोखरामा यसरी नै प्रतियोगिताको नाममा खेलको मर्म विपरित दर्जनौं प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । प्रतियोगिता अनुगमन गर्ने निकाय नहुँदा समस्या आउने गरेका छन् । सहभागि टिमहरुले प्रतियोगिताका लागि मात्रै प्रतियोगिता गराएको आरोप छ । 

जारी प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा कुल चार खेल खेलेको बौद्ध एसी क्लब ३ जित १ बराबरी सहित १० अंकका साथ शीर्ष स्थानमा छ । 

यस्तै एनके एफसीको २ जित र २ हारसहित ६ कका साथ दोस्रो स्थानमा रहँदा समान अकं रहेको हेमजा युनाइटेड गोलअन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ । याकतुंग एफसी १ जित २ हारसंगै ५ अंकका साथ चौथो र एम्बासडोर्स एफएन १ बराबरी र ३ हारका साथ तालिकाको पुछारमा रहेको छ । खेलको नियम अनुसार बौद्ध विजेता बनिसकेको छ भने एनके एफसी उपविजेता बनेको छ ।