सेमिफाइनलमा डीएभी र जेम्स तथा सैनिक र पुलिस स्कुल खेल्ने


काठमाडौं ।

तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। सोमबार हुने पहिलो सेमिफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ। आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। मोक्षदाले दिएको ९६ रनको लक्ष्य जेम्सले कुनै विकेट नगुमाई ९.५ ओभरमै पूरा गर्‍यो। जेम्सले ९७ रन बनाउँदा स्वराज चौलागाईं ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ३८ रनमा अविजित रहे भने सुदिश पौडेल ३० बलमा ७ चौका प्रहार गर्दै ४३ रनमा अविजित रहे। अलराउन्ड प्रदर्शन गरेका स्वराज चौलागाईं ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। मोक्षदाका लागि ऋषुशाहा सुबेदीले अविजित ५१ रन बनाए। नेम्स योञ्जनले १२ तथा सुयोग्य शाहले ८ रन जोडे। जेम्सका प्रचेत लाखोटियाले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। स्वराज चौलागाईंले ३ विकेट हात पारे भने प्रगव पाण्डे र रमन महेसेथले समान १/१ विकेट लिए। अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई ५० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। १४५ रनको लक्ष्य पछ्याएको रत्न राज्य १७.१ ओभरमा ९४ रनमै अलआउट भयो। रत्न राज्यका उदयकुमार मण्डलले सर्वाधिक ३१ रन बनाए भने सकिन्द्र यादवले १५ तथा रविकिशनकुमार गुप्ताले १४ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पुलिसका सुजित यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सागर सिंहले ३ तथा प्रियान्शुकिशोर राउतले २ विकेट हात पारे। सुजित ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। पुलिसका सुनिल ठाकुरले २५, प्रियान्शुकिशोर राउतले २२ तथा श्यामबाबु ठाकुरले २० रनको योगदान दिए। राजप्रताप यादव र प्रिन्सराज यादवले समान १४ रन जोडे। अतिरिक्तबाट टोलीले २३ रन प्राप्त गरेको थियो। रत्न राज्यका आयुष पाण्डे र बिकेश तामाङले समान ३–३ विकेट लिए भने दिपेश थापाले १ विकेट हात पारे। यसअघि शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले केएमसी स्कुललाई ९४ रन तथा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।