स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा कीर्तिपुरमा ५०० बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो


काठमाडौं स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कीर्तिपुरस्थित आदिनाथ त्सोम्मुनिति फरेस्ट मा ५०० बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ।

बैंकका करिब ३५० कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न वृक्षारोपण अभियानअन्तर्गत फलफूल, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। अभियानको उद्देश्य स्थानीय हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनमा योगदान पुर्‍याउनु रहेको बैंकले जनाएको छ।

कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कभरेज प्रमुख गोरख राणा र आदिनाथ सामुदायिक वन प्रयोगकर्ता समूह का अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत राणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको उल्लेख गर्दै हालसम्म कीर्तिपुर तथा ललितपुर क्षेत्रमा करिब ४० हजार बिरुवा रोप्न कर्मचारीहरूले योगदान दिएको बताए।

बैंकका अनुसार वृक्षारोपण कार्यक्रम विश्व वातावरण दिवस २०२६ को नारासँग मेल खाने वार्षिक अभियान हो, जसले वातावरण संरक्षण तथा भावी पुस्ताका लागि हरित भविष्य निर्माणप्रतिको प्रतिबद्धता झल्काउँछ।