दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान


काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ स्थित दर्शना स्कुलले स्थापना गरेको दर्शना जन्मदिन कोषबाट क्यान्सरको उपचाररत १० वर्षीया एक बालिकालाई २५ हजार ५ रुपैयाँ उपचार खर्च दिईएको छ ।

दर्शना स्कुलबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई ) उतिर्ण गरेका विद्यार्थीहरूको सम्मानमा शनिबार आयोजित कार्यक्रममा उपचाररत बालिका स्नेहा दर्नाल लाई उनको अभिभावक मार्फत सो रकम हस्तान्तरण गरिएको थियो ।

पत्रकार बलराम प्यासीको अनुरोधमा विरामी बालिकालाई सो रकम उपलब्ध गराईएको हो।

विद्यालयका प्रिन्सिपल विनोद थापा मगरको उपस्थितिमा विद्यालय सञ्चालक समितिका अध्यक्ष रञ्जन कुमार न्यौपाने तथा अतिथि दान कुमार सुवेदीले सो रकम बिरामीको अभिभावकलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा एसईई उतिर्ण गरेका १७ जना विद्यार्थीलाई अध्यक्ष न्यौपानेले उपहार दिएर सम्मान गर्नुभयो ।

एसईई उतिर्ण विद्यार्थीको सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
दर्शना स्कुलले गत वर्षदेखि दर्शना जन्मदिन कोषको रकम सामाजिक कार्यमा सदुपयोग गर्दै आएको छ ।