एपीएफ स्कुलमा साढे ४ करोडको आर्थिक अनियमितताको आशंका, लेखा अधिकृतमाथि छानबिन सुरु


काठमाडौं ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा ठूलो आर्थिक अनियमितताको आशंका उब्जिएको छ। स्कुलकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङले विद्यालयको बैंक खातामा जम्मा हुनुपर्ने करोडौं रुपैयाँ व्यक्तिगत बैंक खातामा राखेर ब्याज आम्दानी लिएको आरोप लागेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले औपचारिक छानबिन थालेको छ।

स्रोतका अनुसार, गुरुङले करिब चार वर्षदेखि विद्यालयको करिब साढे ४ करोड रुपैयाँ व्यक्तिगत बैंक खातामा राखी त्यसबाट ब्याज लाभ लिएको भन्ने उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालय सक्रिय बनेको हो। उनी विगत साढे ६ वर्षदेखि लगातार एपीएफ स्कुलको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

यस विषयमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार गुरुङसँग लामो समय सोधपुछ गरेको स्रोतले जनाएको छ। घरायसी बिदा लिएर बाहिरिएकी गुरुङलाई सचिवालयमा बोलाएर आर्थिक कारोबार तथा खातासम्बन्धी विवरणबारे स्पष्टीकरण लिइएको बताइएको छ।

सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलमा देखिएको भनिएको यो आर्थिक अनियमितताले कल्याणकारी कोषको निगरानी भूमिकामाथि समेत प्रश्न उठाएको छ। विशेषगरी कल्याणकारी कोषमा कार्यरत एसपी राजकुमार लामिछानेले यति ठूलो रकमको व्यवस्थापनबारे किन चासो नदिए भन्ने विषयमा पनि प्रश्न उठ्न थालेको छ।

यसअघि पनि एपीएफ स्कुल विवादमुक्त रहन सकेको थिएन। विद्यालयका तत्कालीन समादेशक तथा हालका डीआईजी दिगविजय सुवेदीको कार्यकालमा राशन खरिद तथा व्यवस्थापनमा अनियमितता भएको भन्दै २०८२ मंसिर १४ गते विभिन्न निकायमा उजुरी परेको थियो।