काठमाडौं ।
पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) को प्रत्याभुतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य ६६ करोड रुपैयाँ बराबर रहेको छ। उक्त शेयर निष्काशनका लागि ज्योति क्यापिटलले प्रत्याभूति गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको हो।
काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडका महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सार्वजनिक निष्काशनका क्रममा बिक्री हुन बाँकी रहने शेयरको जिम्मेवारी ज्योति क्यापिटलले लिनेछ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।
पिपुल्स इनर्जीले सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरिरहेको जनाएको छ।











प्रतिक्रिया