ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन सम्झौता


काठमाडौं ।

ताप्लेजुङमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र बैंकहरूको कन्सोर्टियमबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी रहेको कन्सोर्टियमले आयोजनामा करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ। कुल २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत रकम बैंकहरूबाट तथा बाँकी २५ प्रतिशत संस्थापक र अन्य लगानीकर्ताबाट जुटाइने जनाइएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४–४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी तथा क्रिष्टल पावर डेभलपमेन्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यसहित सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई मुलुकको ऊर्जा उत्पादन क्षमता वृद्धि गर्न तथा विद्युत् निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने उक्त आयोजना निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि नेपालको जलविद्युत् उत्पादन र ऊर्जा निर्यात क्षमतामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Skip This