अतिरिक्त स्वास्थ्य सचिवमा डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस


काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि दुई वरिष्ठ स्वास्थ्यकर्मीको नाम सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ। समितिले निर्धारित मूल्यांकन तथा अंकभारका आधारमा उत्कृष्ट दुई उम्मेदवारको नाम छनोट गरी सिफारिस गरेको हो। सिफारिसमा परेकी डा. देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेण्डेन्टका रूपमा कार्यरत छन्।

उनले लामो समयदेखि स्वास्थ्य सेवा व्यवस्थापन तथा चिकित्सकीय सेवामा योगदान दिँदै आएकी छन्। यस्तै, डा. शर्मा प्रादेशिक स्वास्थ्य तालीम केन्द्र का निर्देशकका रूपमा कार्यरत छन्। स्वास्थ्य जनशक्ति विकास, तालिम तथा व्यवस्थापन क्षेत्रमा उनको अनुभव उल्लेखनीय मानिन्छ। बढुवा प्रक्रियामा लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य सचिवका रूपमा कार्यरत दुर्गालक्ष्मी श्रेष्ठ को नाम पनि बलियो दाबेदारका रूपमा चर्चामा रहेको थियो। तर अन्तिम मूल्यांकनमा उनी अत्यन्तै झिनो अंकान्तरले पछि परेको मन्त्रालय स्रोतले जनाएको छ। ‘मूल्यांकनका आधारमा शीर्ष दुई उम्मेदवारको नाम सिफारिस गरिएको हो।

अंकभारका हिसाबले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मा अगाडि रहनुभएको छ,’ स्रोतले भन्यो। अतिरिक्त स्वास्थ्य सचिव पद गत भदौ महिनादेखि रिक्त रहेको छ। यसअघि उक्त पदमा कार्यरत टंक बाराकोटीले राजीनामा दिएपछि पद खाली भएको थियो। त्यसपछि मन्त्रालयले आवश्यक योग्यता पुगेका वरिष्ठ स्वास्थ्य प्रशासक तथा चिकित्सकहरूबाट आवेदन माग गरेको थियो।

मन्त्रालयका अनुसार उक्त पदका लागि कुल १३ जनाले आवेदन दिएका थिए। बढुवा समितिले उनीहरूको कार्यसम्पादन, अनुभव, नेतृत्व क्षमता, शैक्षिक योग्यता तथा अन्य निर्धारित मापदण्डका आधारमा मूल्यांकन गरी अन्तिम सिफारिस तयार गरेको हो। अब सिफारिसमा परेका दुई उम्मेदवारमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ।

मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य प्रशासनको उच्च तहमा नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचनामा अतिरिक्त स्वास्थ्य सचिव पदलाई महत्वपूर्ण जिम्मेवारीयुक्त पदका रूपमा लिइन्छ। स्वास्थ्य नीति कार्यान्वयन, सेवा व्यवस्थापन तथा संघीय स्वास्थ्य प्रणालीको समन्वयमा उक्त पदको भूमिका महत्वपूर्ण रहने गर्दछ।