विधिको शासन सञ्चालनको आशा

188
Shares

केही दशकयतादेखि देश रुलको होइन, हुलको शासनमा थियो । सरकारी संयन्त्रहरु कमजोर थिए । क्षतविक्षत थिए । कानुनीे शासनको धज्जी उडेको र व्यक्ति विशेषकै आधिपत्य रहेको थियो । चुनावबाट आएको नाममा अपवित्र गठबन्धन गर्दै हुंकार शैलीको शासन गर्ने दिन अब करिब समाप्त भएको छ । सोको पुष्टि पछिल्लो न्यायालयको पद पूर्तिले पनि देखाउँछ । वर्षौं अघिदेखि हामी कराइरह्यौँ, मुहान सफा नभई घरका धाराको पानी सफा हुन्न भनेर । दलको झोला भिरी–भिरी न्यायमूर्ति बन्ने परम्परा शायद अब समाप्त हुन्छ । झन्डा बोकेकै भरमा कूलपति वा उपकुलपति हुने परम्परा अब समाप्त हुन्छ ।

बढुवा बा नयाँ नियुक्ति हुनासाथ च्यासल वा सानेपा दरबार, खुमल्टार वा बूढानीलकण्ठ दरबारको म्याराथुन अब समाप्त हुन्छ । मातृभूमिले सच्चा देशभक्त राष्ट्रियताको प्यारो एक सपूत हिजै खोजेको थियो, आज देखियो । यसको निरन्तरताका लागि पनि देशले नै उसलाई संरक्षण गर्ने आशा गरौँ, अरुले त नगर्लान् । अदालतमा हालिमुहाली गर्ने व्यक्ति पनि अब बिदा बसेको खबर छ । नयाँ आएको सरकारले पहिले नै भनेको थियो, राजनीतिक नियुक्तिहरुले मैदान खाली गरिदिनूस् भनेर ।

नयाँ प्रधानन्यायाधीशमा चुनौती छ, बारले कति सहयोग गर्छ वा गर्दैन । न्यायका लागि दिउँसै बत्ती बाल्ने हाम्रो परम्परा रहेको छ । लाल्टिन, मैनबत्ती वा राँकाहरु जे बलून् बाल्नेहरुको कुरो हो, संसद्मा पनि नयाँ आउनेहरुले बत्ती बाल्न खोजिरहेका छन् । विरोधका लागि मात्र विरोध गरिनुहुन्न, सच्चा देशभक्तले खराबी कामको विरोध गर्छ, आपूm माथि पुग्नका लागि होइन । इतिहासमै पहिलोपल्ट यति द्रुत मार्गबाट प्रधानन्यायाधीशको पद बहाली भएको छ, त्यसको साख मर्न दिनुहुन्न, अबको न्याय निरुपण यही गतिमा हुनुपर्छ ।

यो भनौँ हिजो न्याय ढिलो भयो, उखान छ– ढिलो न्याय भनेको अन्याय नै हो । अब न्यायालय मात्रै होइन, सबैतिर अन्य आयलाई अन्याय नै मान्नु पर्छ । आय भन्नाले पैसा मात्रै होइन, समय पनि हो । धेरैले भन्ने गरेका छन्– नेपाली समय कसैले ख्याल गर्दैन । समयको ख्याल नगरिएकैले देश पछि परेको हो । समयको ख्याल गर्ने छिमेकी चीन र भारत कता पुगिसके, हामी जहाँको त्यहीँ मात्रै होइन, ओरालीतिर छौँ ।

यहाँ उद्योगमा ओराली छ, उत्पादनमा ओराली छ, शिक्षाको गुणस्तरमा ओराली छ, सार्वजनिक सेवा प्रवाहमा ओराली छ, स्वास्थ्यमा ओराली छ, सबैतिर ओरालो र भिरालो छ । हो, केवल उकाली छ व्यापारघाटामा, सार्वजनिक ऋणमा, विप्रेषणमा, राजनीतिक क्रान्तिमा, गरिबीमा, दुःखमा, पूर्वाधार गल्नुमा, दुर्घटनाहरुमा, महँगीमा, जनताका दैनन्दिन चुलोका समस्याहरुमा ।

देशमा समाजिक क्रन्दन छ, चित्कार छ, ईष्र्या र वैमनष्यता छ, भेदभाव छ, रोदन पनि छ । यी सबैको सुनुवाइ भएको छैन । गरिबी व्याप्त छ, औषधि र पोषणको अभाव, न्यूनतम क्यालोरीको खाद्यान्नको अभाव, विदेशी चामल त्यो पनि कोटामा, मलको अभाव, चिनीको अभाव, सीमा सुरक्षाको अभाव, रोजगारीको अभाव, स्वच्छ र सफा वातावरणको अभाव, सामाजिक चेतना र उन्नयनको अभाव, नैतिक र इमानदार जनशक्तिको अभाव, पढेकाहरु पनि बिकाउमा परेको समस्या समग्रमा नेतृत्वको अपशकुन अहंकार रहेको र अभिभावकमा हुनुपर्ने गुणको सर्वथा अभाव रह्यो । सरकार समाजको अगुवा हो ।

नेतृत्वले जनस्तरको भावनाको कदर नै गरेन । अपरिपक्वताको प्रतिफल थियो– जनताले सहनै नसक्ने गरी तयार भएका लोभतन्त्रका भद्दा संरचनाहरुको निर्माण । र त धेरै संरचनाहरु जले, खरानी भए, अब अत्यावश्यक, साना, चुस्त संरचनाहरु मात्र राख्नुपर्छ । अनावश्यक सबैमा डोजर चलाउनुपर्छ । देशका नागरिक खाडी भासिएर यहाँ रहेका अति कम संख्याका नेपालीमाथि राज गर्नैका लागि भद्दा संरचना आवश्यक छैनन् । यसै आवभित्र आधाआधी कटौती गरिनुपर्छ ।

स्थानीय तह धेरै भए, प्रदेशहरुको संरचना अति भयो, आयोग अनावश्यक धेरै भए । नेतृत्व सिंहदरबारले लगाम लगाउनुपर्छ । देश ठूलो ऋणमा छ । ऋणको सावाँ, ब्याज तिर्न अर्को ऋण लिनुपरेको छ । आयआर्जन गर्ने जनता कम छन् । राजस्व उठतीमा समस्या छ । करले थिचिएको नागरिक छ । चार वर्षमा पहिलोपल्ट छिमेकमा रु. ३ प्रतिलिटर तेलको भाउ बढ्यो, यहाँको हालत कस्तो छ, केवल राजस्व असुलीका लागि ।

आँपका रुखमा आँप नफलेर मान्छे फल्न थाले, दैनिक औसत ८ जना दुर्घटनाबाट बिदा हुने गरेका छन्, बलात्कारको केस कति छ, दैनिक करिव ३ हजारले देश छोड्दै छन्, उब्जनी हुने खेतबारीमा डोजर कुदिरहेका छन्, भूमाफियाहरुलाई पालेर माटो छोप्ने असारे विकास देखाउने लोभतन्त्रले संसार हँसायो, ग्रे–लिस्टमा परेको छ देश । आर्थिक वृद्धि डबल डिजिट हुने झुट प्रचार गरियो, हुने बेलामा माइनस भइदियो । देशैभरि स्वास्थ्य संस्था र औद्योगिक ग्रामहरु खोल्ने भनेर उद्घाटनमा सीमित गरिदियो, जनताले सिटामोल पाएनन्, नेतृत्वको आडमा सक्नेले विदेश उपचार भन्दै करोडौँ राज्य ढुकुटी स्वाहा पारे ।

दुईपल्ट राष्ट्रपति भएका ओबामा निजी कम्पनीमा काम गर्छन्, यहाँ दुईपल्ट राष्ट्रपति भएको व्यक्ति उही झोला भिर्न तयार हुन्छन् । लोकतन्त्र र लोभतन्त्रको फरक नै यही हो । कहाँको सुशासन, कहाँको कुशासन । जग हँसाउने शासन, विधिको नाम प्रविधिको अभाव । व्यक्तिको–परिवारको हाबी । नातावाद, साला, साली, गर्लफ्रेन्ड, ब्वाइ फ्रेन्डका संस्थाहरु, त्यसबाट सार्वजनिक सेवा प्रवाह भन्दै देश लुट्नेहरुको बिगबिगी । गर्नेलाई भन्दा देख्नेलाई लाज ।

दार्जीलिङमा, तिब्बतमा, पहाडी इलाकामा घरघरै यातायात, सस्तो राशन, सस्तो इन्धन, तर यहाँ आधा सिलिन्डरको ग्यास पनि छिमेकीको भन्दा धेरै महँगो । दुर्गम क्षेत्रमा कति सहज खाद्यान्नको आपूर्ति छ त्यतातिर, यहाँ सधैँ अँधेरो मात्र किन ? देश जिम्मा लिनेहरुको भिजन भएन, मिसन भएन, नीति तय भएन । नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने पूर्वीय मान्यतालाई धराशयी बनाइयो । देशको मौलिक धर्म, संस्कृति, संस्कार, सभ्यतालाई छिन्नभिन्न गराइयो । परचक्रीको दास बनेर विदेशकै वादमा रमाइयो, नेपालीवाद शुरु गरोस् अहिलेको नेतृत्वले ।

देशको माया गर्न नसक्नेले देशको जिम्मा लिनुहुन्थ्यो वा हुन्थेन । राजनीतिक रडाको र काण्डैकाण्डहरुले भरिएको लोकतन्त्रलाई कसरी लोभतन्त्र नभन्ने ? पैसादेखि अरु नदेख्ने, आफ्नादेखि अरुलाई नगन्ने । सार्वजनिक पद वितरण गर्दा खल्तीबाहेक अरु नहेर्ने ।

देशलाई माया गर्ने समाजमा अरु पनि छन् कि भनी नखोज्ने । प्रज्ञास्थलहरु पनि आफ्नैले भर्ने । विज्ञको राय, सल्लाह, सुझावहरु नलिने । केवल निजी पसलजस्तो गरी संस्थाहरुको सञ्चालनको परिणाम नै थियो जेन्जी विद्रोह । त्यसपछि पनि सच्चिने कुनै प्रयास नभएको र अदालतमा हस्तक्षेप गर्नुपरेको अवस्था थियो, प्रधानन्यायाधीशको पछिल्लो नियुक्ति । अब नयाँ आउनेले मुहान सफा गरुन्, सिन्डिकेट तोडियोस्, न्याय शीघ्रातिशीघ्र निरुपण होस् । कुनै मोलाहिजा, दान, चन्दा, उपहार टक्र्याउन नपरोस् । निष्पक्ष न्याय छिटो होस्, हाम्रो शुभकामना छ ।
सार्वजनिक पदहरु पेवा हुन्नन् । सबैको दाबेदारी हुन्छ नै ।

अयोग्यको हातमा नपरोस् । नेतृत्वले यो पक्कै चाहेको होला । अरु पनि पदहरु छन्, जुन धेरै खाली छन् । विवाद नआउने गरी कर्मठशील मनुवाहरुको खोजी गरियोस् । कात्रोमा बगली हुन्न, देश लुछ््न दिइनुहुन्न, इतिहास निर्माण गर्न जरुरी छ । हिजो, अस्ति पनि थियो यो देश र देशका संयन्त्रहरु तर आजको जति धेरै थिएनन् । संयन्त्रहरु बढ्न् नराम्रो नहोला तर ती देशका बाहकका रुपमा प्रयोग गरिनुपर्छ न कि व्यक्ति र परिवारका लागि । गान्धी परिवार मोहमा थिएनन् । लिक्वान पनि थिएनन्, महाथीरहरु पनि भएनन् ।

जे गरे देशकै लागि गरिरहेका छन् अहिलेकै मोदी र सिजिनले पनि । र त तिनको नाम सबैतिर लिइन्छ । हाम्रा पनि केही थिए– भट्टराई, गणेशमानहरु, जसले सत्ताको लाग यत्रा विधि मरिहत्ते गरेनन्, बीपीहरुले पनि । तर उनका पछिल्ला पुस्ताले जे हर्कत देखाए, देश भासियो, थरथर काँप्यो, असह्य भयो, छट्पटियो । र, नयाँ नेतृत्व देशैले खोज्यो, माग्यो र पूर्ति पनि गरेको छ । अब अहिलेकालाई कुनै गल्ती गर्ने छुट छैन । यदि गरेमा टुँडिखेलमा तेर्सो पर्न तयार हुनुपर्छ ।

सिंगापुर वा हङकङमा भाग्ने होइन, सुरुङमा सम्पत्ति जलाउने होइन । यत्रा सार्वजनिक संरचना जलेर खरानी हुँदा दुःख व्यक्त गर्न नसक्ने, बरु तुइन चढेर भाग्ने, अभैm ठीक छु म भन्दै चुनावमा जानेहरुलाई यसपल्ट मात्रै होइन, सधैँलाई देशले बढार्नुपर्छ । देशले मागे बलि दिन तयार भएका शहीदका सपना साकार होऊन् ।

देश रगतले लेखिएकै हो, यति सभ्य समाज निर्माण भएको प्रचार गरिरहँदा एक्काइसौँ शताब्दीको विकासको युगमा आएर पनि हिजोसम्म देशमा शहीदको नै आपूर्ति भइरहनु भने खेदको विषय हो । लोकतन्त्र बोक्नेहरुलाई धिक्कार छ, देशलाई रक्ताम्य पारिरह्यौ तिमीहरुले । अब नयाँ शिराबाट देश सञ्चालन गरिनुपर्छ । सधैँ रगतको आहाल भएको देख्नु नपरोस् । अब विधिको शासन सञ्चालनको आशा जागेको छ ।