उदयपुर ।
नेपालमा वन संरक्षण, व्यवस्थापन तथा स्थानीय समुदायको सशक्तीकरणमा सामुदायिक वन उपभोक्ता समूहहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) उदयपुरले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक वन अभियानले देशको वन क्षेत्र संरक्षण र हरित विकासमा उल्लेखनीय योगदान पु¥याएको बताएका हुन् ।
“वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले वन संरक्षण र विकासका लागि स्थानीय सरकार तथा सामुदायिक वन समूहबीच सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन त्रियुगा नगरपालिकाले स्थानीय वन ऐन पारित गरिसकेको जानकारी दिँदै वन क्षेत्रको संरक्षणसँगै स्थानीय आर्थिक विकासमा समेत ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि तथा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले सामुदायिक वन उपभोक्ता महासंघले वन संरक्षण मात्र नभई गरिबी न्यूनीकरण, जीविकोपार्जनका अवसर सिर्जना, सुशासन प्रवद्र्धन तथा समुदायको सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले सामुदायिक वन अभियानलाई अझ सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
जिल्ला महासंघ उदयपुरका अध्यक्ष कुशल बाबु बस्नेतले सामुदायिक वन अभियानका उपलब्धिहरू उल्लेख गर्दै केही चुनौतीहरू अझै कायम रहेको बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनको संस्थागत विकास, कानुनी जानकारीको अभाव, प्रशासनिक जटिलता, वन कर्मचारीबीच समन्वयको कमी तथा सामुदायिक वन समूहका बैंक खाता सञ्चालन सम्बन्धी समस्याले वन व्यवस्थापनमा कठिनाइ उत्पन्न गरिरहेको छ । यस्ता समस्याको समाधानका लागि सम्बन्धित निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष, मानव अधिकारकर्मी तथा डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले समेत वन संरक्षण, जैविक विविधताको संरक्षण र सामुदायिक सहभागिताको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए । वक्ताहरूले नेपालको सामुदायिक वन कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल नमुनाका रूपमा स्थापित भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनमा राज्यले थप सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
महासंघका अनुसार देशभर २३ हजार ८९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६५ हेक्टरभन्दा बढी वन क्षेत्र व्यवस्थापन गरिरहेका छन् । यी समूहमा ३५ लाखभन्दा बढी घरधुरी आबद्ध रहेका छन् । २०५२ साल जेठ १८ गते स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ हाल ५५६ स्थानीय, ७७ जिल्ला, सात प्रदेश तथा एक संघीय संरचनामार्फत सक्रिय रूपमा कार्यरत रहेको जानकारी दिइएको छ ।
उदयपुर जिल्लामा हाल ४०५ सामुदायिक वन उपभोक्ता समूह रहेका छन्, जसमध्ये ३३६ वटा समूह महासंघमा आबद्ध छन् । त्यसमध्ये २६८ समूहले स्थायी लेखा नम्बर (स्थायी लेखा नम्बरं) प्राप्त गरी नियमानुसार कार्य सञ्चालन गरिरहेका छन् । कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार जिल्लामा करिब एक लाख ४८ हजार हेक्टर वन क्षेत्र रहेको छ भने वार्षिक करिब ६० करोड रुपैयाँ बराबरको काठजन्य उत्पादन क्षमता रहेको छ ।
सरोकारवालाबीच रहेका समस्या, चुनौती र सम्भावनाबारे छलफल गरी साझा समाधान खोज्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ । सहभागीहरूले सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै वन संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समृद्धिका लागि सामूहिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।











प्रतिक्रिया