मनोवैज्ञानिक कथावस्तुमा आधारित नेपाली फिल्म कमला मिसको टिजर सार्वजनिक गरिएको छ।
ख्यातिप्राप्त अभिनेता तथा निर्देशक निर शाहद्वारा निर्देशित फिल्मले साहित्यिक कृतिलाई पर्दामा उतार्ने प्रयास गरेको छ। सार्वजनिक टिजरमा मुख्य पात्रको मानसिक अवस्था, भावनात्मक उतारचढाव र रहस्यमय घटनाक्रमलाई केन्द्रमा राखिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होस्बाट प्रभावित कथामा आधारित फिल्मले टिजरसगै दर्शकमाझ जिज्ञासा बढाएको छ। टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह यसपटक सामाजिक यथार्थ र मनोवैज्ञानिक पक्ष मिसिएको फरक शैलीको कथा लिएर आएका छन्। वासुदेव, २५ बसन्त, राजमती, वसन्ती, मसान, सेतोबाघजस्ता चर्चित फिल्म निर्देशन गरिसकेका शाहका लागि कमला मिस पुनरागमनको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।
निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारले अभिनय गरेको फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्लको परिवारले निर्माण गरेको हो। फिल्ममा उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई कार्यकारी निर्माता रहेका छन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा र संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।
युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म आगामी साउन २२ गते रिलीजमा आउनेछ, वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।











प्रतिक्रिया