काठमाडौं ।
गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ पुनः विवादमा तानिएका छन् । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित एक नाइट क्लबमा आइतबार राति कुटपिट तथा आतंक मच्चाएको आरोपमा प्रहरी उनको खोजीमा जुटेको छ।
प्रहरीका अनुसार लेकसाइडको ‘क्लब १६’मा पुगेको सानुभाइसहितको समूहले सामान्य विवादलाई लिएर अर्को समूहका युवामाथि निर्घात कुटपिट गरेको हो । घटनामा एक युवा गम्भीर घाइते भएको बताइएको छ ।
कास्की प्रहरी स्रोतका अनुसार क्लबभित्र सामान्य ठोक्किएको विषयलाई लिएर विवाद सुरु भएको थियो । त्यसपछि सानुभाइ समूहले आक्रामक शैलीमा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै प्रहरीलाई सूचना नदिइएकाले सानुभाइ समूह फरार हुन सफल भएको प्रहरीले जनाएको छ । सोमबार पीडित पक्षले औपचारिक उजुरी दिएपछि मात्रै प्रहरीले खोजी तीव्र बनाएको हो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुभाइ काठमाडौंबाट पोखरा ‘घुम्न’ गएको खुले पनि त्यहाँ पुगेपछि पनि उनी र उनको समूहले पुरानै शैलीको गतिविधि दोहोर्याएका छन् । प्रहरीका अनुसार घटनापछि उनीहरू पोखरा छाडेर भागिसकेका छन् ।
नुवाकोट ककनी–५ घर भएका ३६ वर्षीय सानुभाइ लामो समयदेखि गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहँदै आएका पात्रका रूपमा चिनिन्छन् । प्रहरीको अपराध अभिलेखअनुसार उनी पाँच पटकभन्दा बढी पक्राउ परिसकेका छन् ।
सानुभाइ विशेषगरी काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर ‘ग्याङ सञ्चालन’ गर्ने व्यक्तिका रूपमा परिचित थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्ला वर्षहरूमा गुण्डागर्दी नियन्त्रण अभियान थालेपछि उनीजस्ता धेरै व्यक्तिहरू काठमाडौं बाहिर सर्न थालेका थिए ।
यसअघि पनि सानुभाइ ठमेलस्थित विभिन्न क्लब तथा व्यवसायीमाथि कुटपिट र धम्की दिएको आरोपमा पक्राउ पर्दै आएका छन् । गत साउनमा उनी ठमेलबाट पक्राउ परेका थिए भने त्यसअघि क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा मुद्दा खेपेका थिए ।
प्रहरीका अनुसार सानुभाइ नुवाकोटका चर्चित ‘गुन्डा नाइके’ कुमार घैँटेका नजिकका सहयोगी थिए । घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि पनि सानुभाइ आपराधिक गतिविधिमा सक्रिय रहँदै आएको प्रहरीको दाबी छ ।
उनले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठमाथि गोली प्रहार गरेको आरोप खेपेका थिए । फरार रहेका उनलाई २०७२ सालमा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । त्यतिबेला उनीबाट लोड गरिएको पेस्तोल समेत बरामद भएको थियो ।
२०७८ सालमा पनि सानुभाइ समूहले निर्माण व्यवसायी जितबहादुर कार्कीमाथि आक्रमण गरेको प्रहरी अभिलेखमा उल्लेख छ ।
प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय धेरै ‘गुन्डा नाइके’ राजनीतिक आवरणमा सक्रिय हुन थाले पनि सानुभाइमाथि भने आपराधिक गतिविधि नछाडेको आरोप लाग्दै आएको छ । हाल उनी नेपाली कांग्रेसनिकट तरुण दलको राजनीतिमा समेत सक्रिय रहेको बताइन्छ ।
कास्की प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गर्ने काम भइरहेको जनाएको छ । प्रहरीले क्लबका सीसीटीभी फुटेज संकलन गरी फरार समूहको खोजी तीव्र बनाएको छ ।











प्रतिक्रिया