नवलपरासी ।
गएकाे वर्ष नारायणी नदीमा आएकाे बाढीले सुस्ता गाउँपालिका ५ थारू टाेला जलमग्न भयाे ।
स्थानीयका घर, लगाएकाे खेतीबाली, विद्यालय, पार्क, खेलमैदान, सुरक्षाकर्मीका पाेष्ट डुवानमा परे ।
वर्षाैंवर्ष देखि भारतीय अतिक्रमणकाे चाप र एसएसबीकाे राप खेप्दै आएका सुस्तेलीलाई बाढीकाे बिपत्तिले पनि छाडेन ।

यही कुरालाई दृष्टिगत गरि नेपाली धर्ती सुस्ता बचाउन नारायणी नदीमा यस वर्ष वर्षा अगावै तटबन्ध गर्ने तथा जालतार लगाउने काम निर्माण व्यवसायीका साथ स्थानीयले अघि बढाएकाछन् ।
संघीय सरकारकाे विनियोजित बजेटमा सुस्ताकाे पूर्वाेत्तर तटीय क्षेत्रमा ३ प्याकेजमा तटबन्ध काम भई रहेकाे सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले बताए ।
खाँ का अनुसार प्याकेज १ र २ मा तटबन्धकाे काम भईनै रहेकाे र ३ नम्बर प्याकेजकाे १ सय ३२ मिटर तटबन्धमा भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले काम नगर्न भनेकाे छ।
सुस्ताबासी भन्छन् अनेक प्रयत्नले बजेट पारेर थालेकाे काम राेक्ने कुरै भएन । हामीले नदीकाे बाढीबाट सुस्ता गाउँ जाेगाउन हाम्रै भूमिमा खेतबारीकाे बाली नाँसेर तटबन्ध गरेका हाैं यसमा एसएसवीले काम राेक भन्दै अवराेध गर्न आउनु पटक्कै मिल्ने कुरा हाेईन ।
बताईए अनुसार भारतकाे बिहार राज्य पश्चिम चम्पारण जिल्ला,वाल्मीकि नगरबाट आएकाे एसएसबी टाेली आइतबार धनैया छेउ भेलरबाेट नजिक नेपाल भारत सिमा स्थल भएकाेले तटबन्धकाे काम राेक्नु भन्दै फर्केकाे थियाे ।
स्थानीय सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालकाे भनाईमा बस्ती बचाउनकै लागि जालतार गर्न लागिएको ठाउँ कुनै विवादास्पद क्षेत्र नभै नेपाल भारतका अधिकारीहरू द्वारा सिमा विवाद निरूपण नहुँदा सम्म दुबै पक्षले हलचल नगर्ने भनि गरिएकाे भेलरसिमा बाट निकै वर रहेकाे छ ।
यस सम्बन्धमा सुस्ता गाउँ पालिका उपाध्यक्ष गीता चाैधरीले सुस्तामा भईरहेकाे नारायणी नदी तटबन्धकाे काममा भारतीय पक्षबाट अवराेध भएकाे भन्ने सुन्नमा आएकाेले त्यस बारेमा पालिकाकाे तर्फबाट थप बुझ्ने प्रयास भई रहेकाे बताईन् ।
यसै बीच मंगलबार सुस्ता बचाउ अभियानका संयाेजक आदम खाँ काे अध्यक्षतामा स्थानीयकाे बैठक बसेकाे छ । बैठकले विवादित भूमि तर्फ नभई बनेका संरचना र नारायणीकाे बाढीबाट गाउँ जाेगाउन सुस्ताबासीकै जमिनमा तटवन्धकाे काम पुरा गर्ने निर्णय भएकाे अध्यक्ष खाँले बताए ।
अध्यक्ष खाँका अनुसार प्रवक्ता रविन्द्र जयसवाल, अभियानकि महिला नेत्री लैला बेगम उपस्थित बैठकमा तटबन्ध सम्बन्धि बिषयका साथसाथै र सुस्ताका अन्य समस्याका बारेमा पनि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने तय भएकाे छ ।
सुस्तामा एसएसबीद्वारा धरपकड कायमै
सुस्तामा बेला बेलामा नेपाली माथि एसएसबीकाे ज्यादती हुने गरेकाे छ । गत वर्ष २४ फ्रेव्रुअरी २०२५ मा आफ्नै भूमिमा हलाे चलाएर खेत जाेति रहेका स्थानीय २४ वर्षिय रञ्जन लाेनियालाई एसएसबीका जवानले कुटपिट गरे ।
कुटपिटबाट घाईते लाेनियालाई एसएसबीले नियन्त्रणमा लिन धरपकड गरि रहँदा स्थानीयले प्रतिकार गरि छुटाएका थिए ।
साेही बिषयमा एसएसबी माथि प्रतिकार गरेकाे आराेप लगाउदै भारतीय प्रहरीले १४ जजा सुस्ताबासी बिरूद्ध एफआईआर दर्ता गरेकाे स्थानीयकाे भनाई छ ।
उनीहरूले नेपाली माथि एसएसबी ज्यादती र दर्जनौं नेपाली माथिकाे एफआईआरका बिषयमा नेपाल स्थित स्थानीय प्रशासन माैन बसेकाे बताए ।यस बिषयमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भारतीय समकक्षीसंगकाे नियमित बैठकका कुरा उठाउनु पर्ने सुस्ताबासीकाे भनाई रहेकाे छ ।
सुस्तामा बिकास गतिबिधि बढ्दै
पछिल्लाे समय यहाँ बिकास कार्य अन्तर्गत समग्र बस्तीले छुने गरि झण्डै १० किलाे मिटरकाे रिङ्गराेड, सम्पूर्ण देशबासीकाे प्राण जत्तिकै प्याराे भूमि सुस्ता अवलाेकन गर्न आउनेका लागि रम्ने पार्क निर्माण भएकाछन् ।
यहाँको पश्चिमी क्षेत्र ठाडिघाट दक्षिण र नदी पारीकाे नेपाली भूमि जाेडिने गरि १ हजार ५ सय ७१ मिटर लामाे तथा १ दशमलव ६ सेन्टिमिटर चाैडाईकाे झाेलुङ्गेपुल नारायणी नदी माथि बने पछि सुस्ता पुग्न पर्यटकहरू लालायित हुने गरेकाछन् ।
उखु,केरा,तरबुजा तथा तरकारी खेतीका लागि परिचित सुस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनिदै आएकाे नेपाली भूमि हाे ।
सुस्ताकाे बिगत र वर्तमान
बिगतमा नेपाली भूमि साबिककाे सिङ्गाे सुस्ता गाउँ पञ्चायत २०२० काे दशक सम्म निकै नै गुलजार थियाे ।
नेपालकाे दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने याे ठाउँ नारायणी नदीकाे तटीय क्षेत्र भएकाले प्रसस्त खेती पाती तथा अन्न उब्जाउ हुन्थ्याे ।
खेतीपाती मनग्गे हुने हुदा यहाँ अन्नपात पनि निकै सस्ता अर्थात सस्ताे मै पाईने भएकाेले सस्ता सस्ता भन्दा भन्दै ठाउकाे नाउँ नै सुस्ता भन्ने गरिएकाे कतिपय बुढापाकाकाे भनाई रहेकाे छ ।
यही कारण स्वर्गीय राजा महेन्द्रले २०२३ ताका यस ठाउँकाे ४० हजार ९ सय ८० हेक्टर जमिनमा चाेरी, डकैती नियन्त्रण,भूमि रक्षा तथा दुई देश बीच सिमापार अबैध तस्करी राेक्न भूतपूर्व सैनिकहरूकाे बस्ती बसालेका थिए ।
जहाँ पञ्चायत भवन, बिद्यालय, हुलाक, प्रहरी चाैकी लगायतका सरकारी तथा सार्वजनिक संघ संस्था स्थापना भएकाे स्थानीयहरू बताउँछन् ।
यसै बीच २०३२ सालमा नारायणी नदीमा आएकाे भिषण बाढीले सिङ्गाे सुस्ता क्षेत्रलाई पूर्व र पश्चिममा २ फ्याक पार्दै यहाँकाे सुवर्ण भूमिका बासिन्दालाई उठिबास लगायाे ।
नारायणीकाे बाढी २ दिन सम्म नघट्दा सुस्तामा ठूलाे जनधनकाे क्षति भयाे । रूखका हाँगा र घरका खाँवा समाएर बाँचेका स्थानीयलाई निकुञ्ज तथा सिमा रक्षार्थ त्रिवेणीमा तैनाथ नेपाली सेना र छिताैनीका कतिपय भारतीय नाविकहरूले उद्धार गरि बचाए ।
बाढी मथ्थर भए पछि अधिकांश सुस्ताबासीहरू बस्ती फर्किए, २०२७ मा सुस्तामा जग्गा नापी सुरू भयाे तर भारतीय पक्षकाे अवराेधले केही वर्ष राेकिएकाे जग्गा नाप नक्साकाे काम २०३३ मा पुन: सुरू भए पछि झण्डै ५ सय ५६ जना सुस्ताबासीले धनी पूर्जा हात पारे ।
स्पष्ट सिमाङ्कन हुँदा हुँदै पनि नारायणी नदीले समय समयमा धार परिवर्तन गरि रहँदा याे भूमि भारतीय पक्षकाे अतिक्रमणकाे चपेटामा पर्दै आएकाे छ ।
जसका कारण हालकाे सुस्ता गाउँपालिका वडा नम्बर ५ अन्तर्गत नारायणी नदी पारीकाे सुस्ता गाउँका कतिपय पुराना बस्ती अतिक्रमणमा परेका हुन् ।
जहाँ पहाडी टाेल, बीच टाेल, मिया टाेल,मलाई टाेल बड्का टाेल,थारू टाेल, नन्द नगर,चन्द्रगंज र नथई नगर रहेका थिए ।
सुस्ता गाउँलाई पूर्व,उत्तर र पश्चिम तर्फ नारायणी नदी र दक्षिण तर्फ नेपाल भारत अन्तर्राष्ट्रिय सिमा पार भारतीय जमिनले घेरेकाे छ ।
यहाँ साबिककाे कुल भुभाग मध्ये १९ हजार ९ सय ८० हेक्टर जमिन बिबादित, करिव १४ हजार हेक्टर दक्षिण तर्फबाट भएकाे अतिक्रमणका कारण झण्डै ७ हजार हेक्टर क्षेत्रमा यहाँकाे बस्ती खुम्चिएकाे बताईन्छ ।











प्रतिक्रिया