निर्माण क्षेत्रमा चुनौतीसँगै सम्भावना छ


निर्माण क्षेत्र देशको पूर्वाधार विकास र आर्थिक समृद्धिको आधारशिला भए पनि यो क्षेत्र विभिन्न संरचनागत, प्राविधिक र नीतिगत चुनौतीबाट गुज्रिरहेको छ । यसैक्रममा ठेक्का प्रणालीको रूपान्तरण, दक्ष जनशक्तिको अभाव, समयमै भुक्तानी नहुनु, डिजाइन तथा व्यवस्थापनका कमजोरी, स्थानीय अवरोध, तथा सामग्री मूल्य अस्थिरता जस्ता समस्याको समाधान लगायत विषयमो एसोसिएटेड विल्डर्स एण्ड कन्ट्याक्टर्स प्रा.लि. प्रबन्ध निर्देशक रामकाजी शिवाकोटी (आरके)सँग नेपाल समाचारका भवनाथ प्याकुरेलद्वारा गरिएको कुराकानी

निर्माण क्षेत्रमा तपाईँको प्रवेश कसरी भयो ?
म निर्माण व्यवसायमा वि.सं २०४६ सालदेखि सक्रिय रूपमा लागिरहेको छु । सुरुमा परिवारकै वातावरण र विशेषगरी मेरो दाइ यसै पेशामा संलग्न हुनुहुन्थ्यो, त्यसैले म पनि यसतर्फ आकर्षित भएँ । उहाँको काम गर्ने शैली, संघर्ष र अनुभवले मलाई प्रेरित ग¥यो । त्यतिबेला निर्माण क्षेत्र आजजस्तो व्यवस्थित र प्रविधिमैत्री थिएन । सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच काम गर्नुपथ्र्यो । तर ती कठिनाइहरूकै बीच मैले अनुभव बटुल्ने अवसर पाएँ ।नेपालमा विकास निर्माणका धेरै काम गर्न बाँकी रहेको अवस्था मैले नजिकबाट देखेको थिएँ ।

विशेषगरी सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमार्फत देशको विकासमा प्रत्यक्ष योगदान गर्न सकिन्छ भन्ने सोचले मलाई निर्माण क्षेत्रतर्फ आकर्षित गर्यो । नयाँ ठाउँमा पुगेर बाटो बनाउने, भवन निर्माण गर्ने र त्यसमार्फत समाजको स्वरूप परिवर्तन हुँदै गएको देख्नु आफैँमा प्रेरणादायी अनुभव हो । यससँगै, निर्माण क्षेत्रलाई केवल ठेक्कापट्टाको कामका रूपमा होइन, उद्योगको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो धारणा थियो । यस क्षेत्रमा प्रवेश गर्दा धेरै युवालाई रोजगारी दिन सकिन्छ, उनीहरूको जीवनस्तर उकास्न सकिन्छ भन्ने विश्वास पनि थियो । व्यवसायमार्फत राज्यलाई कर तिरेर राष्ट्र निर्माणमा आफ्नो योगदान र सहभागिता रहने भावना सधैं बलियो रह्यो । निर्माण क्षेत्र चुनौतीपूर्ण पेशा पनि हो । समय, स्रोतसाधन र विभिन्न परिस्थितिसँग जुधेर काम गर्नुपर्ने भएकाले यसले जिम्मेवारी र नेतृत्व क्षमता दुवै माग गर्छ । यही चुनौतीलाई अवसरका रूपमा लिँदै मैले यो पेशालाई आफ्नो कर्मक्षेत्र बनाएको हुँ ।

यो अरू पेशा भन्दा कसरी फरक छ ?
निर्माण व्यवसाय अन्य धेरै पेशाभन्दा फरक र अत्यन्त चुनौतीपूर्ण क्षेत्र हो । यसमा हरेक परियोजनासँग नयाँ परिस्थिति, नयाँ ठाउँ र फरक अनुभव जोडिएका हुन्छन् । एउटै ढाँचामा काम गर्ने भन्दा पनि समय, भूगोल र आवश्यकताअनुसार आफूलाई निरन्तर परिवर्तन गर्दै अघि बढ्नुपर्ने भएकाले यो पेशा विशेष रूपमा गतिशील मानिन्छ । विशेषगरी नयाँ प्रविधिको प्रयोग र आधुनिक निर्माण प्रणालीसँग निरन्तर अद्यावधिक भइरहनुपर्ने आवश्यकता हुन्छ ।

प्रविधिसँगै काम गर्ने शैली पनि परिवर्तन भइरहने भएकाले यस क्षेत्रमा सिकाइ कहिल्यै रोकिँदैन । यही कारणले पनि यो पेशा चुनौतीपूर्ण भए पनि उत्तिकै सिर्जनात्मक र अवसरपूर्ण छ । अर्कोतर्फ, विभिन्न जिल्ला र स्थानमा पुगेर काम गर्दा त्यहाँको संस्कृति, रहनसहन र सामाजिक परिवेशलाई नजिकबाट बुझ्ने अवसर मिल्छ । देशका विभिन्न भूगोल र समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न पाइने भएकाले यो पेशाले केवल आर्थिक पक्ष मात्र होइन, सामाजिक र सांस्कृतिक अनुभवसमेत प्रदान गर्छ । यही विविधता र चुनौतीले मलाई निर्माण क्षेत्रमा निरन्तर सक्रिय रहन प्रेरित गरेको हो ।

ठेकदार भनेपछि गुन्डाको समूह हो भन्ने बुझाई सही हो ?
निर्माण व्यवसायीप्रति समाजमा कहिलेकाहीँ नकारात्मक धारणा बनाइएको पाइन्छ, तर यस्तो बुझाइ पूर्ण रूपमा सही होइन । केही सीमित घटनाका आधारमा सम्पूर्ण निर्माण व्यवसायलाई गलत रूपमा चित्रण गर्नु उचित हुँदैन । वास्तवमा निर्माण व्यवसाय मेहनत, जिम्मेवारी र प्राविधिक दक्षतामा आधारित पेशा हो ।

निर्माण क्षेत्रमा इन्जिनियर, प्राविधिक र दक्ष जनशक्तिको समन्वयमा सडक, पुल, भवन लगायतका भौतिक पूर्वाधार निर्माण गरिन्छ । यी संरचनाहरू नै देश विकास र समृद्धिको आधार हुन् । त्यसैले निर्माण व्यवसायलाई केवल ठेक्कापट्टाको कामका रूपमा होइन, राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिएको जिम्मेवार पेशाका रूपमा बुझ्न आवश्यक छ । यो क्षेत्रले हजारौं मानिसलाई रोजगारी प्रदान गर्नुका साथै राज्यको आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

पहिलाको ठेक्का प्राणाली र अहिलेमा के फरक छ ?
निर्माण क्षेत्रको ठेक्का प्रणालीमा विगतको तुलनामा अहिले धेरै परिवर्तन आएको छ । पहिले टेन्डर सम्बन्धी सूचना पत्रपत्रिकामार्फत प्रकाशित हुने गथ्र्यो । निर्माण व्यवसायीहरूले ती सूचना काटेर हेर्ने, २१ वा ३० दिने म्यादभित्र सम्बन्धित कार्यालयमा पुगेर कागजात र भौचर बुझाउने प्रक्रिया पूरा गर्नुपथ्र्यो । त्यसबेला सम्पूर्ण प्रक्रिया म्यानुअल भएकाले समय बढी लाग्ने र झन्झटिलो हुने अवस्था थियो ।

अहिले भने प्रविधिको विकाससँगै अधिकांश प्रक्रिया डिजिटल प्रणालीमा आधारित भएको छ । इन्टरनेटमार्फत अनलाइन बिडिङ गर्न सकिने भएकाले काम धेरै सहज, छिटो र पारदर्शी बनेको छ । यसले देशका जुनसुकै स्थानबाट पनि व्यवसायीलाई प्रतिस्पर्धामा सहभागी हुने अवसर दिएको छ । विगतमा केही स्थानमा ठेक्का प्रक्रियामा अनावश्यक दबाब र पहुँचको प्रभाव पनि देखिन्थ्यो । सम्बन्धित कार्यालयमै गएर केही व्यक्तिहरूले निर्माण व्यवसायीहरूको नाम संकलन गर्ने, प्रभावका आधारमा टेन्डर कसलाई पार्ने भन्ने वातावरण सिर्जना गर्ने जस्ता गतिविधि हुने गरेको सुनिन्थ्यो । तर यस्ता प्रवृत्ति लामो समय टिक्न सकेनन् । अहिले प्रविधिमैत्री प्रणाली र कानुनी प्रक्रियाको विकाससँगै यस्ता गतिविधिमा धेरै हदसम्म नियन्त्रण आएको छ ।

अहिले फेरि ह्याकिङको विषय पनि आएको छ नि ?
निर्माण क्षेत्रको ठेक्का प्रक्रियामा ह्याकिङजस्ता विषय उठ्नु गम्भीर र चिन्ताजनक कुरा हो । यस्ता गतिविधि पूर्ण रूपमा गलत हुन् र यसले सम्पूर्ण प्रणालीको पारदर्शिता तथा विश्वसनीयतामाथि प्रश्न उठाउँछ । कहिलेकाहीँ केही निर्माण व्यवसायीको संलग्नता रहेको भन्ने आरोपहरू पनि सुनिन आएका छन् भने कतिपय अवस्थामा कर्मचारी पक्षबाट अनियमितता भएको भन्ने आरोप–प्रत्यारोपसमेत देखिन्छ । तर यस्ता विषयहरूलाई प्रमाण र कानुनी प्रक्रियामार्फत मात्र स्पष्ट गर्न आवश्यक हुन्छ । प्रत्येक पक्षले आफ्नो जिम्मेवारी र कार्यक्षेत्र अनुसार इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता हुन्छ । डिजिटल प्रणालीमा आधारित ठेक्का प्रक्रियालाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुन्छ ।

निर्धारित मितिमा आयोजना सम्पन्न नहुनुको कारण के हो ?
समयमै निर्माण कार्य सम्पन्न नभएको भन्ने आरोपसँग म केही हदसम्म सहमत छु । तर यसका पछाडि केवल निर्माण व्यवसायीको कमजोरी मात्र कारण होइन, विभिन्न संरचनागत र व्यवस्थापकीय समस्या पनि जोडिएका हुन्छन् । पहिलो कुरा, धेरै आयोजनामा प्रारम्भिक चरणमै डिजाइन पूर्ण रूपमा स्पष्ट र व्यावहारिक नहुने समस्या देखिन्छ । त्यसमाथि अत्यन्त कम मूल्यमा बोलकबोल (बिडिङ) गर्नुपर्ने बाध्यताले पनि कामको गुणस्तर र समयतालिकामा असर पार्ने गर्छ । स्थानीय स्तरमा देखिने अवरोधहरू समाधान गर्न राज्य पक्षबाट आवश्यक सहयोग समयमा नपाउँदा पनि परियोजना ढिलाइ हुने अवस्था रहन्छ । निर्माण व्यवसायलाई अझ प्रभावकारी बनाउन दीर्घकालीन सोच आवश्यक छ ।

कुनै परियोजनालाई १० देखि २० वर्षसम्म स्पष्ट जिम्मेवारीसहित सञ्चालन गर्ने प्रणाली भएमा जवाफदेहिता अझ मजबुत हुन्छ भन्ने मेरो धारणा हो । अहिले कतिपय अवस्थामा ४०–४५ प्रतिशतसम्म कम मूल्यमा काम गर्नुपर्ने हुँदा त्यसले गुणस्तरीय निर्माणमा चुनौती सिर्जना गर्छ । राज्य पक्षको भूमिकासमेत उत्तिकै महत्वपूर्ण हुन्छ । काम भइरहँदा आवश्यक अनुगमन नहुने र काम सम्पन्न भएपछि मात्र मूल्याङ्कन गर्ने प्रवृत्तिले गुणस्तरमा समस्या देखिन सक्छ ।

विश्वका धेरै देशमा निर्माण क्षेत्र प्रणालीगत रूपमा व्यवस्थित ढंगले सञ्चालन भइरहेको छ, त्यसको तुलनामा नेपालमा पनि संरचनागत सुधार आवश्यक छ । निर्माण कार्यमा ठेकेदार, परामर्शदाता र सरकारी निकाय तीनै पक्षको समान जिम्मेवारी हुन्छ । तर व्यवहारमा सबैभन्दा बढी दायित्व निर्माण व्यवसायीमाथि मात्र थोपर्ने प्रवृत्ति देखिन्छ, जुन सन्तुलित होइन । यी तीनै पक्षको समन्वयबिना कुनै पनि आयोजना सफल हुन सक्दैन । राज्यले समयमा रकम निकासा नगर्दा निर्माण कार्यमा प्रत्यक्ष असर पर्छ । ढिलाइ बढ्दै जाँदा लागतसमेत बढ्दै जान्छ, जसले व्यवसायीमाथि आर्थिक दबाब सिर्जना गर्छ ।

निर्माण व्यवसायीले अनुभव भएको क्षेत्रमा मात्र काम गरेको कतिको पाइन्छ ?
अहिलेको समयमा निर्माण व्यवसायीहरू केवल एउटै क्षेत्रमा सीमित नरही विभिन्न प्रकारका पूर्वाधार निर्माणमा संलग्न हुँदै गएको देखिन्छ । सडक, सिँचाइ (इरिगेसन), पुल, जलविद्युत् आयोजना, सुरुङ (टनल) तथा भवन निर्माणजस्ता फरक–फरक क्षेत्रमा दक्षता हासिल गरेका व्यवसायीहरू पनि बजारमा आइसकेका छन् । तर समग्र रूपमा हेर्दा, व्यवसायीले आफ्नो अनुभव, प्राविधिक क्षमता र पूर्व तयारी भएको क्षेत्रमा मात्र काम गर्नु उपयुक्त हुन्छ भन्ने धारणा महत्वपूर्ण छ । हरेक निर्माण क्षेत्रको प्रकृति, आवश्यक प्रविधि, सामग्री र व्यवस्थापकीय क्षमतामा भिन्नता हुने भएकाले सबै परियोजना एउटै ढाँचाले सञ्चालन गर्न सकिँदैन ।

विदेशीतिरको अभ्यास कस्तो छ ?
विदेशी मुलुकहरूको अनुभव हेर्दा निर्माण व्यवसायलाई स्पष्ट रूपमा क्षेत्रगत विशेषज्ञताका आधारमा व्यवस्थित गरिएको पाइन्छ । उदाहरणका लागि चीनमा निर्माण कम्पनीहरूलाई सडक, पुल, जलविद्युत, भवन वा अन्य पूर्वाधारका छुट्टाछुट्टै क्षेत्रमा केन्द्रित भएर काम गर्ने अभ्यास व्यापक रूपमा देखिन्छ । यसरी निश्चित क्षेत्रमा मात्र काम गर्दा सम्बन्धित प्रविधि, जनशक्ति र उपकरणमा दक्षता विकास हुने भएकाले काम अझ प्रभावकारी, छिटो र गुणस्तरीय हुने गरेको अनुभव छ ।

एउटै कम्पनीले सबै प्रकारका परियोजनामा छरपस्ट रूपमा काम गर्नुभन्दा विशेषज्ञता अनुसार सीमित क्षेत्रमा केन्द्रित हुँदा व्यवस्थापन पनि सजिलो हुन्छ । यस्तो प्रणालीले लागत नियन्त्रण, समय व्यवस्थापन र गुणस्तर सुनिश्चिततामा समेत सकारात्मक प्रभाव पार्छ । त्यसैले अन्तर्राष्ट्रिय अभ्यासहरूबाट सिक्दै नेपालमा पनि निर्माण व्यवसायलाई क्षेत्रगत विशेषज्ञताको आधारमा अझ व्यवस्थित बनाउनु उपयुक्त हुने देखिन्छ ।

निर्माण व्यवसायमा कस्ता प्राविधिक कर्मचारीको आवश्यक पर्छ ?
निर्माण व्यवसाय सञ्चालनका लागि परियोजनाको प्रकृति अनुसार विभिन्न किसिमका दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । कुनै पनि आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न एकै प्रकारको कर्मचारीले मात्र सम्भव हुँदैन । उदाहरणका लागि सडक निर्माणको काममा सिभिल इन्जिनियरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

उहाँहरूले डिजाइन, नापजाँच, गुणस्तर नियन्त्रण र प्राविधिक व्यवस्थापनको काम सम्हाल्नुहुन्छ । त्यसैगरी प्रशासनिक पक्षलाई व्यवस्थित गर्न प्रशासन तथा व्यवस्थापनसम्बन्धी दक्ष कर्मचारीको आवश्यकता पर्छ, जसले कागजात, बजेट, समन्वय र दैनिक कार्य सञ्चालनमा सहयोग पु¥याउँछन् । यसका साथै विभिन्न चरणमा सर्वेक्षक, सुपरभाइजर, प्राविधिक सहायक लगायतका जनशक्तिको पनि उत्तिकै भूमिका रहन्छ । यी सबै पक्षको समन्वयबाट मात्र कुनै पनि निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न सक्छ । यसरी हेर्दा निर्माण व्यवसाय केवल एकल पेशा होइन, बरु बहु–प्राविधिक र बहु–व्यवस्थापकीय संयोजन भएको क्षेत्र हो, जसका लागि योग्य र अनुभवी जनशक्तिको आवश्यकता अनिवार्य हुन्छ ।

नेपालमा निर्माण व्यवसायीको संख्या कति छ ?
नेपालमा निर्माण व्यवसायीहरूको संख्या उल्लेख्य रूपमा रहेको छ । उपलब्ध व्यवस्थाअनुसार उनीहरूलाई कामको क्षमता, अनुभव र दायराका आधारमा ए, बी, सी र डी जस्ता वर्गमा विभाजन गरिएको छ । हाल देशभर करिब १२ हजार जति निर्माण व्यवसायीहरू सक्रिय रहेको अनुमान गरिन्छ । निर्माण व्यवसाय सञ्चालनका लागि कम्पनी दर्ता अनिवार्य प्रक्रिया हो, जसका लागि कम्पनी रजिस्टार कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी, स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित नगरपालिकामा पनि दर्ता गर्ने प्रचलन रहेको छ ।

कामको अवस्था चाहिँ कस्तो छ ?
नेपालका निर्माण व्यवसायीहरू अहिले अपेक्षाअनुसार काम पाउन नसकेको अवस्था देखिन्छ । समग्र रूपमा हेर्दा निर्माण क्षेत्र केही हदसम्म शिथिल भएको र व्यवसायीहरू आर्थिक तथा कार्यगत दबाबमा परेको अनुभूति हुन्छ । देशको विकास निर्माणका काम जुन गतिमा अघि बढ्नुपर्ने हो, त्यो अनुसार प्रगति हुन नसकेको गुनासो पनि व्यापक छ ।

विभिन्न आयोजनाहरूमा अझै ठूलो हिस्सा काम बाँकी रहेको देखिन्छ, जसले समग्र निर्माण क्षेत्रको गतिशीलतामा असर पारेको छ । राज्यसँग आवश्यक बजेट व्यवस्थापन र समयमै भुक्तानीको अभावका कारण पनि धेरै आयोजनाहरू सुचारु रूपमा अघि बढ्न नसकेको अवस्था छ । यसले गर्दा निर्माण व्यवसायीहरूले नयाँ काम पाउन र भइरहेका काम समयमै सम्पन्न गर्न कठिनाइ भोगिरहेका छन् ।

निर्माण व्यवसायीलाई परेको मुख्य समस्या के हो र सरकारबाट कस्तो अपेक्षा छ ?
निर्माण व्यवसायीहरूले भोगिरहेका मुख्य समस्यामध्ये सबैभन्दा महत्वपूर्ण पक्ष राज्यबाट समयमै रकम निकासा नहुनु हो । आयोजना सञ्चालनका क्रममा आवश्यक भुक्तानी ढिलाइ हुँदा कामको गति मात्र होइन, समग्र आर्थिक व्यवस्थापनमै गम्भीर असर पर्ने गरेको छ । त्यसैगरी, आयोजना सुरु हुने चरणमै स्पष्ट र व्यावहारिक डिजाइन नहुनु, तथा काम गर्ने क्रममा स्थानीय स्तरमा देखिने अवरोधहरू समयमै समाधान नहुनु पनि प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

यस्ता समस्याले निर्माण कार्यलाई अनावश्यक रूपमा ढिलो बनाउने गर्छ । निर्माण व्यवसायीहरू प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय काम गर्न तयार छन्, तर त्यसका लागि आवश्यक पूर्वाधार, स्पष्ट योजना र सहजीकरण राज्य पक्षबाट हुन आवश्यक हुन्छ । त्यसैले सरकारसँग हाम्रो अपेक्षा भनेको समयमै भुक्तानी, स्पष्ट डिजाइन र कार्यान्वयनमा देखिने अवरोधहरूको छिटो समाधान हो । यी आधारभूत विषयहरू सुनिश्चित भएमा निर्माण क्षेत्र अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्न सक्छ ।

विदेश र नेपाल के फरक छ ?
विदेश र नेपालको निर्माण व्यवसायीबीच संरचना, स्रोतसाधन र कार्यप्रणालीका दृष्टिले उल्लेख्य भिन्नता रहेको देखिन्छ । विकसित मुलुकहरूमा निर्माण कार्यका लागि आवश्यक दक्ष जनशक्ति, प्रविधि र व्यवस्थापन प्रणाली तुलनात्मक रूपमा व्यवस्थित हुने भएकाले काम छिटो, प्रभावकारी र व्यवस्थित ढंगले सम्पन्न हुने गर्छ । कतिपय अवस्थामा निर्माण कार्य सम्पन्न भइसकेपछि मात्र बाहिर जानकारी हुने स्तरको व्यवस्थापन त्यहाँ पाइन्छ । नेपालको सन्दर्भमा भने केही संरचनागत चुनौतीहरू देखिन्छन् ।

दक्ष कामदार र प्राविधिक जनशक्तिको अभाव, डिजाइन तथा व्यवस्थापनमा देखिने कमजोरी लगायतका कारण निर्माण कार्य अपेक्षाअनुसार सहज रूपमा अघि बढ्न कठिनाइ हुने गर्छ । त्यसैगरी, आवश्यक साधनस्रोत र उपकरणको उपलब्धतामा पनि अझ सुधारको आवश्यकता रहेको छ । केही अवस्थामा निर्माण कार्य चलिरहेको बेला बाटो अवरुद्ध हुनु, सामग्री व्यवस्थापनमा असन्तुलन देखिनु जस्ता दृश्यहरू सार्वजनिक रूपमा देखिने गर्छन्, जसले कार्यक्षमता र व्यवस्थापन प्रणालीमा सुधारको आवश्यकता देखाउँछ ।

अबका पुस्तालाई निर्माण क्षेत्रमा काम गर्न कस्तो सुझाव दिनुहुन्छ ?
निर्माण क्षेत्र देशको विकाससँग प्रत्यक्ष जोडिएको अत्यन्त महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र हो । त्यसैले यस क्षेत्रमा नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक छ । विशेषगरी सिभिल इन्जिनियरिङ तथा अन्य प्राविधिक विषय अध्ययन गरेका युवाहरूले यस क्षेत्रमा आउनु अहिलेको आवश्यकता हो । नयाँ पुस्तासँग प्रविधिको राम्रो ज्ञान, आधुनिक सोच र कार्यशैली हुने भएकाले उनीहरूले निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । अहिले विस्तारै युवाहरू यस क्षेत्रमा आकर्षित हुँदै गएको देखिन्छ, जुन उत्साहजनक कुरा हो । यस क्षेत्रलाई केवल परम्परागत व्यवसायका रूपमा नभई विकास, प्रविधि र व्यवस्थापनको संयोजन भएको आधुनिक पेशाका रूपमा बुझ्न आवश्यक छ ।

बुलेट
निर्माण व्यवसाय राष्ट्र विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र हो ।
–ठेक्का प्रणाली पहिले म्यानुअल थियो, अहिले डिजिटल र अनलाइन बिडिङमा रूपान्तरण भएको छ ।
–ह्याकिङ र अनियमितता जस्ता विषयले प्रणालीगत सुरक्षा चुनौती देखाएको छ ।
–समयमा काम नसकिनु डिजाइन, भुक्तानी र स्थानीय अवरोधजस्ता बहुआयामिक कारणले हुन्छ ।
–निर्माण क्षेत्रमा ठेकेदार, इन्जिनियर र परामर्शदाता सबैको समान जिम्मेवारी हुन्छ ।
–नेपालमा दक्ष कामदार र प्राविधिक जनशक्तिको अभाव प्रमुख समस्या हो ।
–निर्माण व्यवसायीले अनुभव र विशेषज्ञताअनुसार काम गर्नु उपयुक्त मानिन्छ ।
–विदेशी मुलुकमा क्षेत्रगत विशेषज्ञतामा आधारित निर्माण प्रणाली प्रभावकारी रूपमा लागू छ ।
–निर्माण व्यवसायीहरूले भुक्तानी ढिलाइ र लागत अस्थिरताको ठूलो समस्या भोगिरहेका छन् ।
–नयाँ पुस्ता प्रविधि र दक्षतासहित निर्माण क्षेत्रमा आउनु आवश्यक र सकारात्मक संकेत हो ।