–घाँसी–भानुभक्तको शालिक अलपत्र
–कुवाको इतिहास मेटियो, १० फिट पर बनाउने तयारी
तनहुँ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल तनहुँको घाँसीकुवा अलपत्र छ । आज २१३औं भानुजयन्ती मनाइरहँदा भानुको र घाँसीको शालिक र घाँसीले खनेको कुवा अलपत्र छ भने भानु–घाँसी स्मारक पार्क खतरामा रहेको छ । घाँसीले खनेको कुवा अब कहिल्यै देख्न नपाइने भएको छ भने शालिक रहन्छ कि रहँदैन भन्न सकिने अवस्था छैन ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड बिस्तार भइरहेकाले कुवा रहेको स्थान र पार्क नजिकै लगभग सडक पुगिसकेको छ । अब घाँसी–कुवा करिब १० फिट पर बन्ने छ । यस्तो अवस्थाले गर्दा ती सबै संरचना संरक्षणको पर्खाइमा छन् । अब स्थानान्तरण हुने हो कि ? भन्ने जोखिम बढेको छ । त्यसैले कसरी संरक्षण गर्ने भन्ने विषयमा अन्योल छ । भैरहेको संरचना बिथोलेर इतिहास मेटिन थालेकामा सरोकारवालाहरू चिन्तित छन् ।
शालिक र पार्क निर्माण गर्ने जिम्मा मुग्लिन–पोखरा सडक खण्ड आयोजनाको भएको जानकारी दिँदै व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपानेले सडक बिस्तार भएकाले संरचना बिग्रिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सडक बिस्तारसँगै पार्क निर्माण हुने भनिएको छ । कस्तो बन्छ थाहै छैन । करिब डेढ करोड रुपैयाँको लागतमा पार्क बन्ने तयारी भइरहेको छ । बाटो बिस्तार हुँदा पार्क कस्तो बन्छ भन्न सक्ने अवस्था छैन ।’
घाँसी–कुवा र पार्करहेको व्यास नगरपालिका–१२ का वडा अध्यक्ष बमबहादुर आलेले अहिले पार्क अत्यन्तै साँघुरो भएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘सडक बिस्तार आयोजनाले भत्कायो, कहिले बनाउने भन्ने जानकारी छैन । साहित्यकारहरूको ऐतिहासिक र पर्यटकको पर्यटकीयस्थलका रूपमा रहेको सो स्थान मासिने खतरा भएकाले दुःख लागेको छ ।’
अहिले त घाँसी–कुवा अस्तव्यस्त छ, शालिक रहने कि नरहने पत्तो छैन । सँगैको खोलामा रिटेनिङ वाल लगाइरहेको छ । त्यसपछि मात्र यसको अवस्थाबारे भन्न सकिने वडा अध्यक्ष आलेको भनाइ छ ।
सडक बिस्तारको नाममा इतिहास मेटिने खतरा रहेको भन्दै अधिकांश स्थानीयले सडक बिस्तार भए पनि घाँसी–कुवा जोगाउनुपर्ने रत्यसको संरक्षणमा सबै जुट्नुपर्ने अवस्था आएको बताएका छन् । इतिहासकारका अनुसार भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा कुवामा घाँसीसँग भेट भएको थियो ।
स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रूपमा पनि लिइएकाले यसको संरक्षण आवश्यक रहेको बताएका छन् । घाँसी–कुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको मेयर न्यौपानेले बताउनुभयो । उहाँले पार्कलाई जोगाएर जसरी हुन्छ संरक्षण गर्न लागिपरेको बताउनुभयो । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिँदैनाँै मेयर न्यौपानेको भनाइ छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम पहिला घाँसी–कुवा राखिएको थियो । हाल सो स्थान १२ नम्बर वडामा पर्छ । नगरपालिकाका सूचनाअधिकारी केदारराज आचार्यले घाँसी–कुवाको संरक्षण हुने चरणमा रहेको बताउनुभयो । उहाँले सो विषयमा भानु घाँसी समितिले थप अध्ययन गरिरहेको बताउनुभयो ।











प्रतिक्रिया