आजको मौसम : कोशी–बागमतीसहित विभिन्न प्रदेशमा भारीदेखि अति भार वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहेकाले भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भू–भाग नजिक सरदर स्थानभन्दा केही माथि रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहनेछ। कोशी र बागमतीका हिमाली क्षेत्रमा धेरै स्थानमा, गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले भारी तथा अति भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

Skip This