सूर्यविनायक–साँगा सडक विस्तार आयोजनामा भ्रष्टाचार: बन्धन र चन्दनको मिलेमतोमा रकम झ्वाम


काठमाडौँ

सूर्यविनायक–साँगा सडक विस्तार आयोजनाका क्रममा ठेकेदार कम्पनी र आयोजनाका कर्मचारी बीचको मिलेमतोमा अनियमितता भएको आशङ्कापछि विभिन्न निकायले छानबिन अघि बढाएका छन् । छानबिनको दायरामा आयोजनाको निर्माण जिम्मेवारी लिएको बन्धन भगवती निर्माण सेवा प्रालि र आयोजनाका प्राविधिक तथा लेखाका कर्मचारी रहेका छन् ।

उक्त कम्पनीले कर्मचारीसँगको मिलेमतोमा वित्तीय कारोबार तथा बिल–बिजकसम्बन्धी अभिलेख राखेको विषयमा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार कम्पनीले आयोजना कार्यान्वयनका क्रममा प्रयोग भएका सामग्री, भुक्तानी प्रक्रिया तथा लेखा अभिलेखमा देखिएका केही विवरणबारे अनुसन्धान भइरहेको छ । नक्कली बिल मात्रै होइन, वास्तविक खर्च बराबरको भन्दा बढी रकमका बिल प्रयोग गरिएको हुनसक्ने, आयोजनाको सम्बन्धित अभिलेखमा असमानता देखिएको तथा वित्तीय प्रक्रियामा अनियमितता भएको भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार छानबिनका क्रममा निर्माण कार्यसँग सम्बन्धित मूल्याङ्कन प्रतिवेदन, सामग्री खरिदसम्बन्धी कागजात, भुक्तानी विवरण तथा स्थलगत प्राविधिक अवस्थाबीच मेल खाने वा नखाने विषय पनि परीक्षण भइरहेको जनाइएको छ ।

यस विषयमा हालसम्म सम्बन्धित अनुसन्धान निकायले कुनै अन्तिम निष्कर्ष सार्वजनिक गरेका छैनन् । साथै छानबिनको दायरमा रहेका कम्पनीले समेत केही बताएको छैनन् । अनुसन्धानमा संलग्न निकायहरूले आयोजना कार्यान्वयनमा संलग्न प्राविधिक तथा प्रशासनिक पक्षसँग सम्बन्धित कागजात र विवरणसमेत परीक्षण गरिरहेको स्रोतले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित प्रावधानहरूको पालना भए नभएको विषय पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीबीच भएका केही कारोबारसम्बन्धी विवरण पनि अनुसन्धानकर्ताको दायरामा परेको स्रोतको दाबी छ । जसअनुसार नगद कारोबार, बिलिङ प्रक्रिया तथा बैंकिङ माध्यमको प्रयोगसम्बन्धी वित्तीय अभिलेखको परीक्षण भइरहेको जनाइएको छ ।

सार्वजनिक स्रोतबाट सञ्चालित पूर्वाधार आयोजनामा हुने भुक्तानी, सामग्री खरिद तथा लेखा व्यवस्थापन पारदर्शी र कानुनसम्मत हुनुपर्ने व्यवस्था रहेको छ । यदि अनुसन्धानबाट सार्वजनिक खरिदसम्बन्धी कानुन, करसम्बन्धी व्यवस्था वा अन्य प्रचलित कानुन उल्लंघन भएको पुष्टि भएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने स्रोतले बतायो ।

सडक आयोजनाहरूमा गुणस्तर तथा वित्तीय अनुशासनसम्बन्धी प्रश्न उठेपछि सम्बन्धित निकायहरूले विभिन्न निर्माण कम्पनीमाथि निगरानी बढाएका थिए । पछिल्लो अनुसन्धानलाई पनि सार्वजनिक निर्माण क्षेत्रमा सुशासन र जवाफदेहिता सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।

सूर्यविनायक–साँगा सडक विस्तार आयोजनाको ठेकेदार बन्धन भगवती निर्माण सेवा प्रालिको कारोबार तथा बिल बिजकका बारेमा अख्तियार दुरूपयोग अनुसन्धान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायबाट छानबिन सुरु भएको छ ।
ठगीका लागि कम्पनीले सामान नै खरिद नगरी विभिन्न सामग्री आपूर्तिकर्ताहरूबाट हजारौँ नक्कली नगद रसिद र बिलहरू जम्मा गरेको, कार्यस्थलमा काम नै नभएको अवस्थामा पनि धेरै काम भएको देखाउने, फर्जी मूल्याङ्कन प्रतिवेदन पेस गर्ने, जबकि स्थलगत अनुगमन गर्दा सडकका केही खण्डहरू अधुरै फेला परेका थिए ।

त्यस्तै दोहोरो लेखा प्रणाली अर्थात् सिमेन्ट, बिटुमिन (अलकत्रा), डन्डी जस्ता आवश्यक सामग्रीको वास्तविक खरिद मूल्य लुकाउन तेस्रो पक्षका नक्कली बिल प्रयोग गर्ने गरेको पाइएको एक अनुसन्धान अधिकारीले बताए । यस प्रकरणमा कम्पनीले एक्लै नभई सरकारी लेखापरीक्षण प्रणालीलाई छल्न आयोजनाका प्राविधिकहरूसँगको मिलेमतो देखिएको छ । उसले सार्वजनिक खरिद नियमावलीको नियम १२३ (स्थलगत नापी र प्रमाणीकरण बिना रनिङ बिल भुक्तानी गर्न कडा प्रतिबन्ध) लाई मिचेर करोडौँ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको छ ।

यो घटना हालै सरकारले सुरुङ र सडक निर्माण व्यवसायीहरूमाथि गरेको कारबाहीको एक हिस्सा हो । गुणस्तरहीन काम र वित्तीय लुपहोल गर्न नसकेपछि सडक डिभिजन कार्यालयहरूले हालै मात्र २५ भन्दा बढी साना तथा अल्पकालीन सडक आयोजनाहरूको सम्झौता रद्द गरेका छन् । साथै हाल राजमार्गको स्थलगत प्राविधिक जाँच र गुणस्तर परीक्षण गर्न निर्माण कार्य पूर्णरूपमा रोकेर अनुसन्धान पनि अघि बढाइएको छ ।

नक्कली बिल र नगद चलखेलमा बन्धन भगवती निर्माण सेवा प्रालि र मतियार चन्दन हार्डवेयर प्रालिको मिलेमतो देखिएको छ । दुवै कम्पनीले सामान खरिद नगरी करोडौँको नक्कली बिल खरिद गरेको पाइएको छ । साथै प्रमाण लुकाउन चेक वा डिजिटल ट्रान्सफर रोकी नगद चलखेल र कागजी मिलानको बाटो अपनाएका थिए । बन्धन भगवती निर्माण सेवा प्रालिले चन्दन हार्डवेयरबाट डन्डी र सिमेन्ट खरिदमा करोडौँ खर्च देखाउने काम भएको छ ।

बैंकबाट चेक जारी नगरी बन्धन भगवती निर्माण सेवा प्रालिलाई नगद भुक्तानीको रूपमा देखाउने गरिएको अनुसन्धानमा देखिएको छ । १० लाखभन्दा माथिको कारोबारलाई सानो नक्कली नगद भौचर बनाएर बैंकमा जम्मा गर्ने गरिएको छ । जसलाई काउण्टर बिक्रीको नाटक गरी दैनिक ‘नगद मिलान’ को नाममा थोरै–थोरै रकम जम्मा गर्ने, कागजी कारोबार बढाएर ठूलो टर्नओभर देखाउने र सरकारी अडिटमा ठूलो आपूर्तिकर्ता जस्तो प्रमाण पेस गर्ने देखिएको छ ।

कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण ऐन अपराधबाट आर्जित कालो धन लुकाएर वैध बनाउने सँगठित नगद सञ्चालन आयकर ऐन, २०५८ नक्कली व्यापारिक खर्च र कागजात देखाएर करोडौँ राजस्व छलेको विषयमा अनुसन्धान जारी छ । यस विषयमा बन्धन भगवती निर्माण सेवा प्रालि र बन्धन हार्डवेरका सञ्चालकसँग सम्पर्क गर्दा उहाँहरू सम्पर्कमा आउनुभएन ।