काठमाडौं।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिले लोकतन्त्र र बहुलबादलाई मास्ने खतरा पैदा भएको सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानको मंगलबार सम्पन्न वार्षिक साधारणसभाका वक्ताहरुले यस्तो आशंका व्यक्त गरेका हुन्।
सो अवसरमा उनीहरुले सञ्चारमाध्यमको घाँटी निमोठ्ने सरकारको नीति र कार्यशैली लोकतान्त्रिक पद्धति तथा संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको धारणा राखे।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने नीतिले वास्तविक सुशासन कायम नहुने तर्क गर्नुभयो।सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेको बताउँदै अध्यक्ष वाग्लेले सरकारको कार्यशैली त्यस विपरीत रहेको बताउनुभयो।

कामना न्युज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने विषय मिडिया व्यवस्थापकसंगमात्र नभई सञ्चारजगतसंग सम्बद्ध सबैको सरोकारको विषय रहेको बताउनुभयो।कार्यकारी अधिकृत श्रेष्ठले श्रमजीवी पत्रकारको वृत्ति विकास, क्षमता अभिवृद्धिका विषयमा कामना न्युज पब्लिकेसन्स् स्थापनाकालदेखि प्रतिबद्ध रहेको बताउनुभयो।
नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने नीति सरकारको चैत्र १८ गतेको निर्णय निर्वाचित सरकारको अधिनायकतर्फको यात्रा प्रस्थानबिन्दु रहेको आरोप लगाउनुभयो। राज्यको पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यममा संकट सिर्जना गर्ने नीतिले सरकार फरक विचार सुन्न नचाहेको प्रमाण रहेको पनि सम्पादक पण्डितको धारणा रहेको छ।

सो अवसरमा नेपाल प्रेस इष्टिच्यूटका अध्यक्ष कपिल काफ्लले सञ्चारमाध्यममा यस्तो संकट आईपर्दा पनि महासंघले त्यसको विरोधका कार्यक्रमलाई सशक्त बनाउन नसक्नुमा दलीय भागबन्डामा पत्रकार महासंघ कब्जा गर्ने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताउनुभयो।
नेपाल समाचारपत्र दैनिकका पूर्व सम्पादकसमेत रहेका काफ्लले अनेक चुनौतीकाबीच पनि पत्रकारलाई क्षमतावान् बनाउने, नयाँप्रविधिप्रति अभ्यस्त बनाउने कार्यलाई प्रतिष्ठानले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

कामना प्रतिष्ठान शाखाका अध्यक्ष भगवती तिमल्सिनाले संस्थाभित्रको पारिवारिक वातावरणमा रमाउँदै व्यावसायिक पत्रकारिताको मूल्य र मान्यतालाई जोगाउन पहल गर्दै आएको उल्लेख गर्दै सरकारी विज्ञापन निजी मिडियालाई नदिने नीतिको शुरुदेखि संस्थाले विरोध गर्दै आएको बताउनुभयो।उहाँले स्वर्गीय पुष्करलाल श्रेष्ठको आदर्श, मूल्य र मान्यतालाई पछ्याउँदै संस्थाले प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिताको मूल्यलाई सदैव आत्मसात् गर्दै आएको पनि बताउनुभयो।
सो अवसरमा शाखा सचिव सूर्यप्रसाद अर्यालले पेस गरेको सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा गौमतले पेस गरेको आर्थिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो। शाखाका सदस्य कर्ण प्रधानले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शाखाका उपाध्यक्ष सुनील महर्जनले उपस्थिति सबैलाई स्वागत गर्नुभएको थियो भने शाखाका पार्षद् सदस्य सरस्वती सुनारले उपस्थिति सबैलाई धन्यवाद प्रकट गर्दै शाखाले गर्दै आएको काम पत्रकारिताको वृत्ति विकासमा महत्त्वपूर्ण प्रभाव पारेकोमा केन्द्रित गर्दै आफ्नो भनाई राख्नुभयो।

सो सभामा साधना मासिकका सम्पादक रोहिणी घिमिरे,शाखाका पूर्वअध्यक्षहरु टंक पन्त, दिपक रिजाल, कामना न्युज पब्लिकेसन्सका प्रशासन अञ्जु जोशी, इजोनका अध्यक्ष ईश्वरराज ढकाल लगायतको उपस्थिति रहेको थियो।











प्रतिक्रिया