नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारीमा नुजन शर्मा


काठमाडौं।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखामा कार्यरत अस्पताल नर्सिङ प्रशासक (नवौँ तह) शर्मालाई स्वास्थ्य मन्त्री निशा मेहताले गत २८ वैशाखमा मन्त्रीस्तरीय निर्णयमार्फत परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी छन् ।

शर्माले मन्त्रालय र परिषद् दुवैको जिम्मेवारी एकैसाथ सम्हालिरहेको बताइन् । उन्ले भनिन्, “नर्सिङ परिषमा अर्को व्यवस्था नहुँदासम्मका लागि रजिष्ट्रारको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भएको छ । मन्त्रालय र परिषद् गरी दोहोरो जिम्मेवारीमा छु । हरेक दिन कार्यालयको सुरुवाती समय मन्त्रालयको कामकाज गर्छु र दिउँसो परिषद्को नियमित काम गर्न पुग्छु ।” यसअघि परिषद्को रजिष्ट्रार शुक्ला खनाल थिए ।

सरकारले अघिल्लो सरकारको पालामा नियुक्त सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याएको “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” गत १९ वैशाखमा राजपत्रमा प्रकाशित भएपछि खनालसहित परिषद्का अध्यक्ष तथा नियुक्त अन्य पदाधिकारीहरू पदमुक्त भएका थिए ।

सरकारले अन्य पदहरूमा क्रमशः नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिरहेको भए पनि दैनिक प्रशासनिक कामकाज सञ्चालनका लागि आवश्यक रजिष्ट्रार पदमा तत्कालका लागि निमित्त जिम्मेवारी तोकिएको हो ।