कङ्गोमा इबोला प्रकोप: ८० भन्दा बढीको मृत्यु, डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा


एजेन्सी।

कङ्गोमा फैलिएको घातक इबोला भाइरसका कारण हालसम्म ८० भन्दा बढी मानिसको ज्यान गएको छ । संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यस अवस्थालाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको आशंका गरिएको छ । रोगको फैलावट बढ्दो क्रममा रहेकाले थप जोखिम बढेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले इबोलाविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएको जनाएको छ । यो रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने भएकाले स्वास्थ्यकर्मीहरू उच्च सतर्कतामा रहेका छन् ।

प्रकोप नियन्त्रणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले उपचार टोली र आवश्यक सामग्री पठाउने तयारी गरिरहेका छन् ।

यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको क्षेत्र हो । प्रारम्भिक संक्रमित एक स्वास्थ्यकर्मी रहेको जानकारी सार्वजनिक गरिएको छ ।

स्थानीय बासिन्दाहरूले उपचार केन्द्र र आइसोलेसन सुविधाको अभावका कारण धेरै बिरामी घरमै मृत्यु भइरहेको बताएका छन् । यसले संक्रमण अझ फैलिने खतरा बढाएको विज्ञहरूको भनाइ छ ।

डब्लुएचओले छिमेकी देशहरूलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक स्वास्थ्य निगरानी कडा बनाउन अनुरोध गरेको छ ।