लमजुङ।
लमजुङको मर्स्याङदी गाउँपालिका–४ जगतस्थित प्रसिद्ध तातोपानी कुण्डमा आइतबार ‘दोस्रो जगत तातोपानी कुण्ड महोत्सव’ सम्पन्न भएको छ। गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रूपमा रहेको तातोपानी कुण्डको संरक्षण, प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
तातोपानी कुण्ड व्यवस्थापन समितिले मर्स्याङदी गाउँपालिका को सहयोगमा आयोजना गरेको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गर्नुभयो।
कार्यक्रममा कृष्णप्रसाद कोइराला, अर्जुन गुरुङ, सुर्यप्रसाद गुरुङ, जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नं. ४, ५, ६ र ७ का जनप्रतिनिधि, विभिन्न आमा समूह, स्थानीयवासी तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष आदमसिंह गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय कालिका आमा समूह, दीपज्योति आमा समूह खानीगाउँ, फूलबारी आमा समूह, विभिन्न विद्यालयका विद्यार्थी तथा क्लबहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङले राख्नुभएको थियो।
मर्स्याङदी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी कुण्ड पछिल्लो समय आन्तरिकसँगै विदेशी पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने जगत क्षेत्रमा निर्माण गरिएको कुण्डमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।
कुण्डसम्म सहज पहुँचका लागि सिँढी निर्माण, पोखरी व्यवस्थापन तथा पूर्वाधार विकास गरिएपछि यसको लोकप्रियता अझ बढेको स्थानीयको भनाइ छ। गाउँपालिकाको सहयोगमा २०८१ सालमा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो भने यस वर्ष दोस्रो संस्करण सम्पन्न गरिएको हो।
मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ ले तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन थप पूर्वाधार निर्माण, व्यवस्थित संरक्षण र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो। उहाँले पर्यटन प्रवर्द्धनमार्फत स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सकिने धारणा राख्नुभयो।
प्राकृतिक रूपमा निस्किने तातोपानीमा स्नान गर्दा स्वास्थ्यमा फाइदा पुग्ने जनविश्वास रहेको छ। दाद, घाउ, खटिरा, चाया, डन्डिफोरजस्ता छालासम्बन्धी समस्या, वाथ तथा हाडजोर्नीका रोगमा राहत मिल्ने विश्वासका कारण पनि यहाँ दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको स्थानीय बताउँछन्।
प्राकृतिक सम्पदाको रूपमा रहेको जगत तातोपानी कुण्डलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके लमजुङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया