थ्री अन थ्री फुटबलः फर्पिङ र टिम ९८ च्याम्पियन


काठमाडौं ।

 टिपटो स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न ‘थ्री अन थ्री फुटबल च्याम्पियनसिप’मा एफसी स्टार फर्पिङ र टिम ९८ ले उपाधि जितेका छन् ।

आइतबार तारकेश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोर्टस हबमा सम्पन्न प्रतियोगितामा फर्पिङ यु–१६ र टिम ९८ यु–१४ क्याटगोरीमा च्याम्पियन बनेका हुन् ।

फुटबल खेलको विकास, विस्तार तथा युवा खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा फर्पिङले फाइनलमा सांग्रिला स्कुललाई २–१ ले निराश पार्‍यो ।

कूल १० टोलीको सहभागिता रहेको यस क्याटगोरीमा फर्पिङले संस्कृति स्कुल, सामाजिक कल्याण स्पोर्टस सेन्टर एफसी र टिम ९८ लाई हराउँदै फाइनलको यात्रा गरेको थियो । विजेता टोलीका रिजन राईले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते ।

टिम ९८ ले आयोजक टिपटो स्पोर्टस सेन्टरको ‘बी’ टोलीलाई पराजित गर्दै यु–१४ क्याटगोरीको उपाधि उचाल्यो । रोमाञ्चक खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएको थियो । टाइब्रेकरमा जेम्स राईले घरेलु समर्थकलाई निराश पारिदिए । जेम्सले पछि सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि जिते ।

टिम ९८ ले हिमालयन ड्रिमर्स र कोहिनुर एफसीको चुनौती पन्छाउँदै फाइनलको यात्रा गरेको थियो । 

विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का टेक्निकल डाइरेक्टर तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, जापानी खेलाडी यासुहिरो नाबेटा, टिपटो स्पोर्टस एकेडेमीका अध्यक्ष गौरव बस्नेत, अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायतले पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

शनिबार नाबेटाले सय हाराहारी कलिला किशोरहरुलाई थ्री अन थ्री फुटबलको आधारभूत शिक्षा प्रदान गरेका थिए । यसैका लागि उनी जापानबाट नेपाल आएका थिए ।

नेपालमा पहिलोपटक आयोजना गरिएको थ्री अन थ्री फुटबल प्रतियोगिताले युवा खेलाडीको कौशल विकास र फुटबल संस्कृतिको प्रवद्र्धनमा सकारात्मक योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।