नेपाली तेक्वान्दोका ‘अलराउन्डर’ बब्लु शिवाकोटी

खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको लोमहर्षक यात्रा

0
Shares

नेपाली खेलकुदको विशाल क्षितिजमा एउटा यस्तो नाम छ, जसले आफ्नो रगत र पसिनाले तेक्वान्दोको म्याट मात्र भिजाएको छैन, सफलताको एउटा सिङ्गो इतिहाससमेत लेखेको छ । उनी हुन् बब्लु सिवाकोटी । अंग्रेजी शब्द ‘अलराउन्डर’ शब्द सुन्दा जति आकर्षक लाग्छ, बब्लुको जीवन र खेल यात्रा त्योभन्दा ओजपूर्ण, प्रेरणादायी र संघर्षपूर्ण छ । सामान्यतया मानिस एउटै क्षेत्रमा पोख्त हुन वर्षौँ बिताउँछन्, तर बब्लु यस्तो अद्भूत प्रतिभावान व्यक्ति हुन् जसले खेलाडीका रूपमा विजयको बिगुल फुकिसकेका छन् । प्रशिक्षकका रूपमा नयाँ सिपाहीहरू जन्माइरहेका छन्, निर्णायकका रूपमा न्यायको तराजु थामिरहेका छन् र व्यवस्थापकका रूपमा नेपाली तेक्वान्दोको भविष्यको खाका कोर्दै छन् । रौतहटको एउटा खुला मैदानबाट सुरु भएको एउटा सानो बालकको सपना आज विश्वका भव्य रंगशालाहरूमा नेपालको चन्द्र–सूर्य अंकित झन्डा बनेर फर्फराइरहेको छ । यो कुनै संयोग मात्र होइन, अटल विश्वास र अथक साधनाको एउटा ज्वलन्त उदाहरण हो ।

बाल्यावस्थामा रौतहटको तातो घाममा विद्यालय पढ्दै गर्दा उनी चौरको कुनामा उभिएर सेतो पोसाक लगाएका साथीहरूले हावामा ‘किक’ हानेको एकतमासले हेरिरहन्थे । त्यो सेतो पोसाकको चमक र अनुशासित मुभमेन्टले उनको कलिलो मनमा यस्तो गहिरो छाप पा¥यो कि उनले लुकीछिपी साथीहरूको नक्कल गर्न थाले । कसैले नदेख्ने गरी रुखको फेदमा वा एकान्तमा गरिने ती अभ्यासहरू नै आजको तेक्वान्दोको अलराउण्डर बन्ने पहिलो खुड्किला थिए । सुरुमा करातेतिर पनि मन नडुलेको होइन, स्कुल छुट्टी भएपछि चार–पाँच किलोमिटर पैदल हिँडेर कराते सिक्न जाने उनको त्यो परिश्रमले खेलप्रतिको भोकलाई दर्साउँछ । तर, अन्ततः तेक्वान्दोको लय र दर्शनमा उनले आफूलाई समाहित गराए । वि.सं. २०५७ सालतिर जब उनले पहिलोपटक औपचारिक रूपमा तेक्वान्दो खेल्न थाले र परिवारको साथ पाए, तब उनको खुसीको सीमा रहेन । त्यो दिन एउटा खेलाडी मात्र जन्मिएको थिएन, नेपाली तेक्वान्दोको एक प्रभावशाली नक्षत्रको पनि उदय भएको थियो ।

काठमाडौंको संघर्ष त झनै लोमहर्षक छ । २०६० सालमा एसएलसी सकेर सपनाको सहर छिरेका बब्लुले पढाइ र खेललाई सँगसँगै अगाडि बढाए । २०६४ सालसम्म आइपुग्दा उनी जिल्ला र क्षेत्रीय हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा एउटा स्थापित खेलाडी भइसकेका थिए । उनी केवल पदकका लागि मात्र खेल्दैनथे । उनी त गुरुहरूको हरेक शैली, हरेक निर्देशन र अनुशासनको गहिराइलाई हृदयंगम गर्थे । त्यही गहिरो सूक्ष्म दृष्टिले उनलाई छोटो समयमै एक कुशल प्रशिक्षकका रूपमा उभ्यायो । आज उनैको पहलमा स्थापना भएको सीतापाइला डोजाङमार्फत उनले जुन खेलाडीहरूको फौज तयार पारेका छन्, त्यसले अन्तर्राष्ट्रिय एरिनामा नेपालको शिर उच्च बनाएको छ । आयशा लामा, शैलेश गिरी, ओम भन्डारी, सुभाङ्गी श्रेष्ठ, दिलिका भ्लोन, सन्जिला तिमिल्सिना जस्ता नेपाली तेक्वान्दोका चर्चित नामहरु उनकै स्नेह र कठोर प्रशिक्षणको उपज हुन् । उनका चेलाहरूले विश्वका एक दर्जनभन्दा बढी देशमा पुगेर पदक जित्दै देशको नाम मात्र चम्काएका छैनन, बब्लुले पनि आफ्नो छाती गर्वका साथ फुलाउने अवसरहरु जुराएका छन । यो कुनैपनि प्रशिक्षकका लागि संसारकै सबैभन्दा ठूलो सम्पत्ति पनि हो ।


बब्लुको उचाइँ केवल राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन । उनी त विश्व तेक्वान्दोको मञ्चमा नेपालको आधिकारिक आवाज सरह स्थापित भइसकेका छन । सन् २०२४ को नोभेम्बरमा हङकङमा भएको वल्र्ड च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर उनले नेपाली खेलाडीको दम देखाएका थिए । तर, उनको व्यक्तित्वको अर्को चम्किलो पाटो भनेको उनको ‘रेफ्री’ वा निर्णायक भूमिका हो । ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायक बन्नु चानचुने कुरा होइन । सन २०२३ मा दुबईमा उत्तीर्ण ग्यारोगीदेखि २०२४ मा पुम्से रेफ्री कोर्ससम्मको उनको यात्राले उनको प्राविधिक दक्षतालाई प्रमाणित गर्छ । जापान, अस्ट्रेलिया, चीन, मंगोलिया भियतनाम, बंगलादेश, श्रीलंका र मलेसिया जस्ता देशहरूमा निर्णायकको भूमिका निभाउँदा र श्रीलंकामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय निर्णायक’ को उपाधि थाप्दा उनले केवल व्यक्तिगत सम्मान मात्र पाएनन्, नेपाली प्राविधिकहरूको क्षमतालाई विश्व तेक्वान्दो जगत्मा स्थापित गरिदिए । उनले सातै प्रदेशमा निर्णायक ‘रिफ्रेसर कोर्स’ तालिम चलाएर जुन अभियान सुरु गरेका छन्, त्यसले नेपाली तेक्वान्दोमा नयाँ चेतना र शुद्धीकरण ल्याएको छ ।

हाल नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्य बब्लु सिवाकोटी एक आधुनिक दूरदर्शी व्यवस्थापकका रूपमा समेत देखा परेका छन् । संघको केन्द्रीय सदस्य र टेक्निकल डेलिगेट्स (टीडी) को जिम्मेवारी सम्हाल्दै गर्दा उनले परम्परागत शैलीलाई तोडेर आधुनिक प्रविधिलाई आत्मसात् गरेका छन् । स्कुल च्याम्पियनसिपबाट ‘फ्रि स्टाइल पुम्से’ को सुरुवात गर्नु र ‘टिम ग्योरोगी’ जस्ता नवीन प्रयोगहरू भित्र्याउनु उनको सिर्जनशीलताको पराकाष्ठा हो । उनले केवल खेल मात्र खेलाएनन्, खेललाई कसरी व्यवस्थित, मर्यादित र अनुशासित बनाउने भन्ने एउटा स्पष्ट मापदण्ड नै कोरिदिएका छन् । उनी भित्रको यो व्यवस्थापकीय कुशलताले नेपाली तेक्वान्दोलाई एउटा नयाँ दिशा र गति प्रदान गरेको छ ।

यद्यपि बब्लुको सबैभन्दा भावुक र गम्भीर पक्ष भनेको खेलाडीहरूको भविष्यप्रतिको चिन्ता हो । उनी भन्छन्,–“खेलाडी उत्पादन गरेर मात्र पुग्दैन, उनीहरूलाई स्वदेशमै सम्मानजनक जीवन बाँच्ने वातावरण दिनुपर्छ ।” सक्रिय खेल जीवनपछि खेलाडीहरूले भोग्नुपर्ने रिक्तता र विदेश पलायन हुनुपर्ने बाध्यताले उनको मन पोल्छ । त्यसैले त उनी तेक्वान्दोलाई व्यावसायिक बनाउने र खेलाडी प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिने महान् संकल्पका साथ अघि बढिरहेका छन् । उनी केवल एउटा खेलाडी मात्र होइनन्, उनी त एउटा सपना हुन्, जसले नेपाली माटोमै पसिना बगाएर विश्व जित्न सकिन्छ भन्ने विश्वास दिलाउँछन् ।

बब्लुको यो यात्रा केवल एक व्यक्तिको सफलताको फेहरिस्त मात्र होइन । संघर्ष, समर्पण र साहसको संगम पनि हो । एउटा मानिस कसरी एकैसाथ कुशल खेलाडी, कडा मिहिनेती प्रशिक्षक, निष्पक्ष निर्णायक र सफल व्यवस्थापक बन्न सक्छ भन्ने कुराको उनी जिउँदो उदाहरण हुन् । बब्लु नेपाली खेलकुदका लागि एक अनमोल रत्न हुन्, जसको चमकले आगामी पुस्ताका हजारौँ युवाहरूलाई खेलकुदमै भविष्य खोज्न र देशको झण्डालाई सधैँ उचो राख्न निरन्तर प्रेरणा दिइरहनेछ । उनको यात्रा अझै जारी छ र उनले कोर्ने सफलताका नयाँ पानाहरू अझै बाँकी छन् । जसले नेपाली तेक्वान्दोको भावी युगलाई थप स्वर्णिम बनाउनेछ ।