१५ दिनको अन्तरालमै इलामको गोर्खेमा फेरि गौहत्या

752
Shares

इलाम।

इलामको सूर्योदय नगरपालिका–१ गोर्खेमा १५ दिनको अन्तरालमै पुनः गौहत्या भएको घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । स्थानीय प्रताप बम्जनको कोरली गाई शनिबार राती गोठमै हत्या गरिएको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार बिहान गोठमा पुगेका परिवारका सदस्यले गाई मृत अवस्थामा भेटेका थिए । गाईको शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । घटनापछि गाउँभर त्रास फैलिएको छ भने स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

यसअघि पनि सोही क्षेत्रमा १५ दिनअघि अर्को गाई हत्या गरिएको थियो । पटक–पटक यस्ता घटना दोहोरिन थालेपछि स्थानीयवासीले सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले धार्मिक तथा सामाजिक सद्भाव खलबलिने खालका गतिविधि नियन्त्रण गर्न प्रशासन गम्भीर बन्नुपर्ने बताएका छन् । लगातार भइरहेका गौहत्याका घटनाले गाउँमा असुरक्षा र तनावको वातावरण सिर्जना भएको उनीहरूको भनाइ छ ।