हेटौंडा ।
मध्य पृतनापति ट्रफी प्रतियोगिताको उपाधि ७ नम्बर वाहिनी चनवनले जितेको छ । फुटबल, भलिबल, तेक्वान्दो र एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर वाहिनी समग्र च्याम्पियन बन्न सफल भएको हो ।
हेटौंडाको सुपारिटार ब्यारेकस्थित फुटबल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा ७ नम्बर वाहिनीअन्तर्गत गोरखबहादुर गणले ६ नम्बर वाहिनीको शेरगणलाई ३–० गोलअन्तरले पराजित गर्दै फुटबलतर्फ स्वर्ण पदक हात पारेको थियो ।
उक्त जितसँगै ७ नम्बर वाहिनीले मध्यपृतनापति ट्रफी आफ्नो नाममा सुरक्षित ग¥यो । स्विमिङमा ६ नम्बर वाहिनीको शेरगणले स्वर्ण जित्दा तेक्वान्दो, एथलेटिक्स र फुटबलमा भने ७ नम्बर वाहिनीले जितेको थियो ।
बक्सिङतर्फ ६ नम्बर वाहिनीको श्रीनाथ गण तथा जुडोमा पनि ६ नम्बर वाहिनीले स्वर्ण पदक हासिल गरेको थियो । बास्केटबलमा ६ नम्बर वाहिनी विजयी हुँदा भलिबलतर्फ ७ नम्बर वाहिनीको गोरखबहादुर गण पहिलो बनेको थियो ।
प्रतियोगितामा ६ र ७ नम्बर वाहिनीका साथै शेरगण, भैरवबहादुर गण र नयाँ सबुज गणका खेलाडीको सहभागिता थियो । भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, जुडो, बक्सिङ, तेक्वान्दो र एथलेटिक्ससहित ८ विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित कुल ५ सय ५० खेलाडी सहभागी थिए । ४ सय ७१ पदक समावेश गरिएको प्रतियोगितालाई मध्यपृतनाले आगामी प्रधान सेनापति ट्रफीका लागि महत्वपूर्ण तयारीका रुपमा लिएको जनाएको छ ।











प्रतिक्रिया