तीन दशकभन्दा अधिक समय सत्ताको कुर्सीमा बसेर देश र जनताको रगत–पसिना दोहन गरी मोटाएका अनि आफूलाई परमेश्वर ठान्ने पूर्व–शासकहरूले बालेन सरकारप्रति अन्तिम र टिठ लाग्दो हुङ्कार अभिव्यक्त गर्न थालेका छन् । उनीहरू लाखौँ नेपाली जनतालाई सडकमा ओर्लन र बालेन सरकारविरुद्धको आन्दोलनमा भाग लिनको लागि आह्वान गर्दै छन् ।
भ्रष्टहरू एकपछि अर्को गर्दै नाङ्गिँदै जाने अवस्थामा छन् । उनीहरूको आयस्ताको बाटो क्रमशः टुटेर गइरहेको छ । धनको बलमा शासन चलाउन र जनतामाथि हैकम जमाउन सिपालु भइसकेका यी भ्रष्टहरूलाई यति चाँडै आफ्नो यो हबिगत होला भन्ने लागेकै थिएन ।
भदौ २४ गतेको घटनापछिका दिनमा पनि यिनीहरुले यति टिठ लाग्दो अनुहार बनाउनुपरेको थिएन मात्र होइन कि उनीहरुको आयस्ताको बाटो बन्द हुने अवस्थामा नपुग्दासम्म यिनका हुङ्कार पत्याउने खालकै थिए । तर अबका नेपाली जनताले यिनका आश्वासन पत्याएर यिनलाई साथ दिई वर्तमानको सत्ता पल्टाउने र फेरि यिनैका हालिमुहालीका दिन फिराउनेछन् भनेर विश्वास गर्ने त्यति बलिया आधारहरू पक्कै छैनन् ।
भ्रष्टहरूले अन्तिम कमाइ खाने भाँडोको रुपमा सुकुम्बासी बस्तीलाई जोगाएका रहेछन् । सुकुम्बासी बस्तीले पुराना ठानिएका राजनीतिक दलका शीर्षदेखि लिएर तलसम्मका लाई लैनो गाई बनेर दूध खुवाउँदो रहेछ भन्ने कुरा सुकुम्बासी बस्ती भत्काउँदै गर्दाको अवस्थामा यिनको हुङ्कारबाट धेरैले थाहा पाए । यिनकै भरोसामा धेरैले सुकुम्बासी बस्तीमा हुकुम जमाएर हुकुमबासी भएका रहेछन् । भ्रष्टहरूदेखि वास्तविक सुकुम्बासी पक्कै खुशी थिएनन् ।
अलि टाठोबाठो सुकुम्बासीले भ्रष्टहरूले गर्ने भ्रष्ट कर्मका बारेमा थाहा पाइसकेको र आजित मानसिकतामा बाँच्दै गरेको भेटियो । सुकुम्बासी बस्तीमा बस्ने सबै वास्तविक सुकुम्बासी थिएनन्, कैयौँ हुकुम्बासी पनि थिए भन्ने कुरा थाहा भएर पनि भ्रष्ट शासकले गर्ने गरेका भ्रष्ट क्रियाकलापबाट सबै सन्तुष्ट भने थिएनन् ।
वास्तविक सुकुम्बासीले त सरकारको विरोध गर्नुको साटो सघाएको पाइयो । भोलि के होला ? भन्ने भयको मानसिकताले बाँच्नुको साटो निर्भयताका साथ थोरै कमाइ र बचावटको बाटो रोज्ने मानसिकताका धेरै थिए होलान् ।
यद्यपि भ्रष्टहरूले आफूहरु सत्तामा रहँदासम्म कसैले पनि केही गर्न सक्दैन भनेर धेरैलाई भरोसा दिलाएका थिए । यसै भरोसालाई टेको लगाएर बाँच्ने पनि धेरै थिए होलान् । आखिर जे भए पनि सुकुम्बासी बस्ती उजाड भएसँगै भ्रष्टहरूको कमाइ खाने भाँडो हराएकोले यिनीहरू अब के गर्ने भन्ने दोधारे र त्रासको मानसिकतामा रहेका छन् ।
भ्रष्ट शासकहरूले वर्तमानका मात्र होइन, पहिले नै भीआईपी भइसकेकाहरूका लागि पनि विविध खालका सुविधा दिई राज्यकोषको चरम दोहन गर्दै आएका थिए । वर्तमान सरकारले त्यसलाई रोक्ने काम गरेपछिका दिनमा भ्रष्टहरूको कमाइको अर्को बाटो पनि बन्द हुन पुगेको छ । यो परिस्थितिले उनीहरू बहुलाउनु न मर्नुको अवस्थामा पुगेका छन् ।
वर्तमान सरकारले उनीहरूले विदेशी बैङ्कमा थुपारेको कालो धन पनि ल्याउने भन्ने घोषणा गरिसकेको अवस्था छ । यो घोषणाले सरकारले त्यो काम पक्कै गरेर देखाउनेछ भन्ने पक्का विश्वास गरे हुन्छ । त्यस बेला यिनको हबिगत कस्तो होला ? आजको यो विकराल अवस्थाबाट त्राण पाइने धेरै उपायको खोजीमा पनि यिनीहरू नलागेका थिएनन् ।
यसै क्रममा वर्तमान सरकारसमक्ष आफूलाई उपसभामुख बनाइदेऊ, आफूलाई केजाती बनाइदेऊ भनेर याचना गर्दै थिए । तर वर्तमान सरकारले उनीहरूको कुरो कान–बतास लाएन र लाउनेवाला पनि थिएन । एउटा भ्रष्टलाई अदालतको कठघरामा उभ्याउँदै गर्दा अर्को नाइके भ्रष्टाचारी निकै खुशी हुँदै गरेको देखिन्थ्यो ।
ऊ सोच्दै थियो, उसलाई कार्यवाही गरे पनि मलाई त केही नगर्ला वा सम्मान नै गर्ला । तर उसको पालो आएपछि कार्यवाहीको दायरामा नल्याएर उन्मुक्ति दिने कुरै थिएन । जब आफू स्वयंको पालो आयो, त्यसपछि ऊ विभिन्न खालका हुङ्कार निकालेर आफूलाई सत्यवादी र साधुको रुपमा प्रमाणित गर्न खोज्यो ।
उसका विगतका खराब कर्मले गर्दा ऊ पनि कार्यवाहीको दायराभित्र नआई धर पाउने कुरै थिएन । कार्यवाहीको दायरामा आइपुग्दा उसले आफ्नो विगतको शान, मान आदि धेरै कुरा सम्झेर विह्वल बन्दै अन्तिम अलापविलाप वा हुङ्कार निकालिरहेको छ ।
सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचनाहरू भत्काउन थालेपछि असह्य पीडाको आगोमा पिल्सिएका हुकुमबासीहरूको निद हराम भए पनि यो सबै दैवको खेल ठानेर चित्त बुझाउँदै बाँच्नुको कुनै विकल्प नै छैन । यो कुरो बुझेरै पनि उनीहरू वर्तमान सरकारका स–साना छिद्रहरू खोज्दै तिनलाई तुन्ने काम गरी जनताका सामु लैजाने धुनमा रहेका छन् भनेर जान्नुपर्छ । यसै सन्दर्भमा कोही भन्दै थिए– मानवीयता नभएको सरकार ।
यदि सरकारको मानवीयता हराएर दानवीयता नै भरिएको हो भने उसले सुकुम्बासीबाहेकका सबैका घरमा डोजर लगाएर भत्काउने काम गर्ने थिएन र ? अवश्य गर्ने थियो । कसैको हुङ्कार वर्तमानको सरकारलाई यथाशीघ्र ढालेरै छोड्ने झीनो अठोटजस्तो पनि सुनिन्थ्यो । कसैको हुङ्कारले सुकुम्बासी बस्तीका असहाय, महिला, वृद्ध, बालबच्चा, जीवजन्तु आदिको अपार माया गरेर तिनीहरुप्रति सहानुभूति प्रकट गरेको आवाज पनि सुन्नलायकको थियो ।
तर सरकार यी कुनै कुरा सुन्ने मोडमा नभएर निमर्मताका साथ आफ्नो इरादाको काममा लागिरहेको थियो र छ पनि । भनेजस्तो मानसिकताले फलाकिएका कुरा थिए यी । हो, सरकार आम जनताको साझा अभिभावक हो । उसको कर्तव्य भनेको आम जनताप्रतिको उत्तरदायित्व बहन गर्नु पनि हो । विवेक भएको सरकारले केवल भत्काउने वा विनाश गर्ने मात्र काम गर्दैन, उसले निर्माण वा सिर्जना पनि गर्न र गराउन जानेको छ ।
यदि सरकारले उसको दायित्व पूरा गर्नबाट चुक्यो भने त्योचाहिँ पापी वा कृतघ्न सरकार बन्न पुग्छ । वर्तमान सरकारको तुलनामा विगतका विभिन्न नेतृत्वका सरकार नै अधिक कृतघ्न थिए भन्ने कुराको उदाहरण अमेरिकाले लादेको एमसीसी परियोजनालाई पास नगरेर रोक भन्दाभन्दै र करोडौँ जनता कराउँदै गर्दा पनि ती करोड आग्रहको अपमान गर्दै मध्यरातमा एमसीसी पास गराइछोड्ने र रमाएर भोज खाने शासक पो सबैभन्दा कृतघ्न शासक हुन्छ त ।
सुकुम्बासी बस्तीमा डोजर नचलाऊ भनेर करोड जनताले आज भनेकै छैनन् । बरु त्यसको साटो वर्तमान सरकारले कसैले नसकेको महान् काम ग¥यो भनेर शासकका कर्मको तारिफ गर्नेको सङ्ख्या अधिक रहेको छ । नेपाली करोड जनताले मात्रै होइन कि विदेशी विज्ञहरूले समेत हामीलाई वा हाम्रो देशलाई माया गरेर एमसीसी पास नगर्न शासकलाई सल्लाह दिएकै थिए नि तर मैमत्त भएर सत्ता चलाउँदै गरेको शासकले कहाँ सुन्न सक्छ र अरुको सुझाव ?
निकै वर्षअगाडिदेखि सुकुम्बासी बस्ती व्यवस्थित गर्ने चर्चा चलिरहँदा र प्रयास गरिँदा पनि किन हटाउन सकिएको रहेनछ त ? यो कुरा नेपाली जनताले बल्ल आज थाहा पाउँदै छन् । त्यसले गर्दा भ्रष्ट पूर्वशासकहरुले आज जे–जस्ता हुङ्कार गरुन् वा आन्दोलन छेडून्, यो सरकार अलिकति पनि नडग्मगाई उक्त मिसनलाई पूरा गरेरै छाड्नेछ भन्ने कुरा प्रस्ट हुँदै छ ।
काठमाडौंका सुकुम्बासी बस्ती त सजिलै उठाउन सकियो भने देशको अन्य स्थानका सुकुम्बासी बस्ती हटाउन सरकारलाई धेरै सहज हुनेछ । सुकुम्बासी बस्तीका वास्तविक सुकुम्बासीहरू मानसिक रुपमा तयार भएर रहेका छन् । उनीहरूलाई सरकारले धन्यवाद दिएर मात्रै पुग्नेवाला छैन कि उनीहरूले मानसिक सन्तुष्टि पाउने खालको उचित व्यवस्थापनको अवस्था सिर्जना भएको खण्डमा वर्तमान सरकारको सफलताको अग्रिम सूचक सङ्केतको रुपमा देखिनेछ ।
भ्रष्टहरूको यो हुङ्कारभन्दा आउँदा दिनमा प्रकट हुने दुई हुङ्कार अझै बाँकी नै छन् । तिनमा पहिलो हुङ्कार भनेको उनीहरूले विगतमा गरेका अनियमित कार्यको लागि दोषी ठहर गर्नको लागि पक्राउ पर्दाको अवस्थाको हुङ्कार । आफूलाई सुप्रिमो ठान्ने मानसिकतामा बाँच्दै गरेका भ्रष्टहरू कानुनको फन्दामा पर्नुपरेको दिन आफूमाथि आकाश खसेको हो कि भन्ने अनुभूतिका साथ आफूलाई निर्दोष साबित गराउनको लागि निकै ठूलो हुङ्कार निकाल्नेवाला छन् ।
तर प्रमाण देख्दै गर्दा उनीहरूको गर्जन मलीन हुँदै जानेछ । म भन्ने भावनासमेत गायब हुन सकेको खण्डमा उनीहरू पनि रत्नाकरको जीवनबाट बाल्मीकिको बाटोतिर हिँड्ने प्रयत्नमा लागे भने वर्तमान सरकारले गरेको कार्यवाहीको प्रभावकारितालाई सलाम गर्नुपर्ने हुन सक्छ । कम्तीमा पनि उनीहरूलाई गरिने कार्यवाहीको प्रभावले गर्दा भविष्यमा शासक बन्ने व्यक्तिले अनियमित काम बिर्सेर पनि नगरोस् भन्ने चाहना राख्नु औचित्यपूर्ण हुनेछ ।
भ्रष्टहरूको अन्तिम हुङ्कार वा गर्जन भनेको कानुनले उनीहरुलाई अपराधी ठहर गरेर उचित सजायको भागिदार बनाउँदै गर्दाको अवस्थाको हुनेछ । तर त्यति बेलासम्म उनीहरूको हुङ्कारको तुलनामा निरीहता अधिक मात्रामा प्रकट भएको स्पष्ट अनुभव गर्न सकिनेछ ।
आजका दिनमा सरकार ढाल्ने हुङ्कारका साथ प्रतिवाद गर्न खोज्ने भ्रष्टहरू आफैँले गरेका विगतका आपराधिक कर्मबाट विरक्त भएर पनि त्यसलाई हुङ्कार वा गर्जनको रुपमा अभिव्यक्त गर्ने गर्छन् । नैतिक रुपमा गिरेको मानसिकता भएका भ्रष्टहरूका हुङ्कार हिजो शासनको बागडोर सम्हालेको बेलाका हुङ्कारका तुलनामा शत–प्रतिशत कमजोर र विषादपूर्ण रहेका हुन्छन् ।
आम जनताको उनीहरूप्रतिको सहानुभूति त्यति नै घटेर गएको हुन्छ भन्ने कुरा फागुन २१ गतेको चुनावको परिणामले देखाइसकेकै थियो । त्यसै बेलादेखि यिनीहरूले त्यहाँसम्मको अर्थात् दोष बोक्नु, प्रमाणित हुनु, कठघरामा उभिनु, दोषी ठहर्नु, सजाय भोग्नु, सबैको घृणाको पात्र बन्नुसम्मको सपना नजरमा आइसकेको थियो ।
मुखले बोलेर अभिव्यक्त गर्न नसके पनि मानसिक रुपमा त्यसै तत्वले यिनलाई क्रमशः गलाउँदै लगेर अन्तिम विन्दुतिर धकेल्दै गर्दाको क्षणमा निकालिने गर्जन कतै ब्रह्माको अस्त्र बन्छ कि भन्ने झीनो आशाको त्यान्द्रोमा बाँधिएर निकालेको गर्जनको अस्त्र कतिको कामयावी होला भन्ने कुरा आउँदा दिनका वर्तमान सरकारका काम– कार्यवाहीमा भर पर्ने कुरा हुन् ।











प्रतिक्रिया