सौर्य ऊर्जा जलविद्युतको विकल्प होइन


नेपालमा सौर्य ऊर्जाप्रति आकर्षण बढ्दै गएको छ । घर घरमा सौर्य प्यानल जडानदेखि राष्ट्रिय ग्रिडमा विद्युत जोड्ने क्रम बढिरहेको छ । यसैक्रममा सौर्य ऊर्जाको सम्भावना, चुनौती र भविष्यबारे नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले सौर्य ऊर्जा उत्पादक संस्था, नेपाल (सोपान) का अध्यक्ष सन्दीप साहसँग गरिएको कुराकानी ।

नेपालमा सूर्यबाटै पैसा कमाउन सकिन्छ भन्ने कतिको सत्य हो ?
नेपालमा सूर्यबाटै पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरै हदसम्म सत्य हो । सूर्यबाट ऊर्जा उत्पादन गरेर आम्दानी गर्न सकिन्छ । अहिले मानिसहरूले आफ्ना घरघरका छानामा सौर्य प्यानल जडान गरिरहेका छन् ।

नेपालमा सौर्य ऊर्जाको प्रयोगको इतिहास पनि पुरानो छ । पहिले हामीले सूर्यको तापबाट पानी तताउने काम गथ्र्यौँ । अहिले भने सौर्य ऊर्जाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रिडमा जोडेर राम्रो आम्दानी गर्न थालिएको छ ।

लोडसेडिङ अन्त्य भयो, तर किन धेरै मानिस फेरि सौर्य ऊर्जातर्फ आकर्षित भइरहेका छन् ?

लोडसेडिङ अन्त्य भए पनि धेरै मानिस फेरि सौर्य ऊर्जातर्फ आकर्षित भइरहेका छन् । हाम्रो देशमा मुख्य रूपमा जलविद्युतबाट विद्युत उत्पादन हुने गरेको छ, जुन नदीको बहावमा निर्भर हुन्छ । तर सुख्खायाममा नदीको प्रवाह घट्ने भएकाले विद्युत उत्पादन पनि कम हुने समस्या देखिन्छ । त्यही समयमा घाम भने प्रशस्त लाग्ने भएकाले सौर्य ऊर्जा उत्पादन प्रभावकारी मानिन्छ । यसरी जलविद्युत र सौर्य ऊर्जालाई सन्तुलित रूपमा उपयोग गर्न सकिने भएकाले पछिल्लो समय सौर्य ऊर्जाको महत्व अझ बढ्दै गएको छ ।

सरकारले सौर्य ऊर्जा क्षेत्रलाई सहयोग गरेको छ कि बाधा पु¥याइरहेको छ ?
सौर्य ऊर्जा क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ । अहिले पनि ऊर्जा उत्पादन भनेको मुख्य रूपमा जलस्रोतबाट मात्र हुनुपर्छ भन्ने सोच कायम छ ।

यद्यपि, मन्त्रालयको नीतिमा कुल विद्युत उत्पादनको १० प्रतिशत सौर्य ऊर्जाबाट उत्पादन गर्ने विषय समावेश गरिएको छ । तर यसमा सीमा तोकिएको छ । सौर्य ऊर्जामा बादल लाग्दा उत्पादन घट्ने समस्या रहने भएकाले यसलाई स्थिर र भरपर्दो बनाउन थप योजना र लगानी आवश्यक देखिन्छ ।

नेपालमा सौर्य ऊर्जा महँगो मात्रै हो कि वास्तवमै दीर्घकालीन लगानी हो ?
सौर्य ऊर्जा वास्तवमै दीर्घकालीन लगानी हो । आजभन्दा करिब १० वर्षअघि सौर्य ऊर्जा निकै महँगो मानिन्थ्यो, किनकि सौर्य प्यानलको मूल्य धेरै थियो । तर अहिले यसको लागत उल्लेखनीय रूपमा घटेको छ ।

आजभोलि सौर्य ऊर्जाबाट उत्पादन भएको विद्युत जलविद्युतसरह मूल्यमा बिक्री भइरहेको छ । कानुनमा सौर्य ऊर्जाको विद्युत बोलकबोल प्रक्रियाबाट खरिद गर्ने व्यवस्था गरिएको छ, जुन व्यवहारिक रूपमा न्यायोचित मानिँदैन । अहिलेको अवस्थामा सौर्य ऊर्जाबाट उत्पादन हुने विद्युत जलविद्युतभन्दा पनि सस्तो बन्दै गएको छ ।

सौर्य ऊर्जा किन ओझेलमा परेको छ ?
ओझेलमा परेको त छैन तर अब बढदै गइरहेको छ । यसको महत्व मानिसले बुझ्दै गइरहेका छन् । सुख्खायाम र वर्षायामको समय नेपालको सन्दर्भमा मिल्छ ।

अहिले सौर्य ऊर्जाबाट १ सय ५४ मेगावाट विद्युत उत्पादन भइरहेको छ । जलविद्युतबाट तोकिएको भन्दा २० प्रतिशत कम उत्पादन भइरहेको छ । जलविद्युतबाट ४ हजार मेगावाट उत्पादन भइसकेको छ । यसमा घाम राम्रो लागेको हुनाले सौर्य ऊर्जा बढाउन सक्छाँै । अब ९ सय ६० मेगावाटको सौर्य उत्पादन आउँदैछन् ।

यदि आज कसैले आफ्नो घरमा सौर्य प्रणाली जडान गर्न चाह्यो भने कति खर्च र कति फाइदा हुन्छ ?
हामीले घरायसी प्रयोजनका लागि विद्युत प्राधिकरणबाट किन्यो भने १२ देखि १३ रुपियाँ पर्छ । सोलरको प्यानल लगायौँ भने ६ देखि ७ रुपियाँसम्म लागत पर्न सक्छ । सौर्य ऊर्जाबाट उत्पादित विजुली अहिले पनि ५ रुपियाँको हाराहारीमा विद्युत बेचिरहेका छाँै । यसमा हामीले ब्याट्रीमा भण्डारन गरेर पनि राख्न सक्छौँ ।

सौर्य ऊर्जा प्रयोग गर्दा मानिसले सबैभन्दा ठूलो गल्ती के गरिरहेका छन् ?
जलविद्युत आयोजना निर्माण गर्न लामो समय लाग्ने भए पनि सौर्य ऊर्जामा त्यति समय कुर्नु पर्दैन र जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ ।

तर, सौर्य ऊर्जा विस्तारमा मुख्य समस्या भनेको उपयुक्त जग्गाको अभाव हो । प्राप्त भएको जग्गा खेतीयोग्य हो वा होइन भन्ने विवाद पनि देखिने गरेको छ । साथै, डलरको भाउ बढ्दा उपकरण आयातमा थप आर्थिक दबाब पर्ने गरेको छ ।

सौर्य प्यानल राख्दा खेतीयोग्य जमिन नास हुँदैन ?
यस विषयमा विभिन्न संस्थाले अध्ययन गरेका छन् । नेपालको तराई क्षेत्र सौर्य ऊर्जाका लागि उपयुक्त मानिन्छ । सौर्य प्यानल जडान गरिएका स्थानमा कृषि उत्पादन पनि गर्न सकिने भएकाले जमिन पूर्ण रूपमा निष्क्रिय हुँदैन ।

सौर्य प्यानलमुनि के–के खेती गर्न सकिन्छ ?
सौर्य प्यानलमुनि बेसार, अदुवा, एलोबेरा, सागसब्जी, हरियो खुर्सानी तथा विभिन्न जडीबुटीजन्य बाली उत्पादन गर्न सकिन्छ । घाम कम आवश्यक पर्ने अधिकांश कृषि कार्य त्यहाँ सम्भव हुन्छ ।

के अहिले पनि यस्तो उत्पादन भइरहेको छ ?
अहिले पनि विभिन्न ठाउँमा बेसारलगायतका उत्पादन भइरहेका छन् । यसबाट भूमिको उपयोग पनि भइरहेको छ र किसानहरूले रोजगारीसमेत पाइरहेका छन् ।

ग्रामीण नेपालमा सौर्य ऊर्जा कत्तिको फाइदाजनक बनेको छ ?
ग्रामीण नेपालमा सौर्य ऊर्जाले पछिल्लो समय निकै महत्वपूर्ण भूमिका खेल्न थालेको छ । विशेषगरी विद्युत पहुँच अझै पूर्ण रूपमा नपुगेका तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सौर्य ऊर्जा भरपर्दो विकल्प बनेको छ । ग्रामीण क्षेत्रमा साना–साना सौर्य प्लान्ट स्थापना गर्दा स्थानीय स्तरमै विद्युत उत्पादन गर्न सकिने भएकाले दैनिक जीवन सहज बन्दै गएको छ ।

पहिले ग्रामीण बस्तीहरूमा बत्ती बाल्न, मोबाइल चार्ज गर्न वा सामान्य विद्युतीय उपकरण सञ्चालन गर्न समेत कठिन हुने अवस्था थियो । तर अहिले सौर्य ऊर्जाको प्रयोग बढ्दै जाँदा ती समस्यामा धेरै हदसम्म कमी आएको छ । सौर्य प्रणाली जडान गरेपछि घरायसी प्रयोगका साथै विद्यालय, स्वास्थ्य चौकी, कृषि तथा साना व्यवसाय सञ्चालन गर्न पनि सहज भएको छ । विशेषगरी सौर्य ऊर्जाले ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग गरेको छ ।

किसानहरूले सिँचाइ, कृषि उत्पादन भण्डारण तथा साना उद्योग सञ्चालनमा यसको उपयोग गर्न थालेका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि सिर्जना गरेको छ । सौर्य ऊर्जा प्रणालीको अर्को फाइदा भनेको यसको सञ्चालन खर्च कम हुनु हो ।

एकपटक जडान गरेपछि लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले ग्रामीण समुदायका लागि यो दीर्घकालीन र किफायती समाधान बन्दै गएको छ । साथै, यसले वातावरणमैत्री ऊर्जा प्रयोगको संस्कार पनि विकास गरिरहेको छ । त्यसैले ग्रामीण नेपालका लागि सौर्य ऊर्जा केवल वैकल्पिक ऊर्जा मात्र नभई विकास, सुविधा र आत्मनिर्भरताको आधार बन्दै गएको देखिन्छ ।

के नेपाल भविष्यमा सौर्य ऊर्जा निर्यात गर्ने देश बन्न सक्छ ?
सौर्य ऊर्जा निर्यात गर्नु नेपालका लागि सहज छैन । भारतले नै ठूलो मात्रामा सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । त्यहाँ लाखौँ मेगावाट सौर्य ऊर्जा उत्पादन भइसकेको छ र आगामी वर्षहरूमा अझ विस्तार गर्ने लक्ष्य छ ।

अहिले भारतमा दिउँसोको समयमा अत्यन्त सस्तो दरमा विद्युत उपलब्ध हुने भएकाले त्यस्तो बजारसँग प्रतिस्पर्धा गर्न नेपाललाई कठिन हुन्छ । त्यसैले नेपालले जलविद्युत र सौर्य ऊर्जालाई सहकार्यको रूपमा अगाडि बढाउनुपर्छ, विशेषगरी जलाशययुक्त आयोजनासँग समन्वय गरेर ।

जलाशययुक्त आयोजना त नेपालमा कम छन् नि ?
नेपालमा अब जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिन आवश्यक छ । साथै, विद्युत भण्डारणका लागि ब्याट्री स्टोरेज प्रणालीमा पनि लगानी बढाउनुपर्छ । अहिले मेगावाटस्तरमै ब्याट्री स्टोरेज सम्भव भइसकेको छ ।

आगामी १० वर्षमा सौर्य ऊर्जा जलविद्युतभन्दा ठूलो बन्न सक्छ ?
नेपालको सन्दर्भमा सौर्य ऊर्जा जलविद्युतभन्दा ठूलो बन्ने सम्भावना कम छ । अहिले पनि कुल ऊर्जा उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब २५ देखि ३० प्रतिशतसम्म मात्र रहेको छ ।

सौर्य उपकरणको बजारमा कम गुणस्तरका सामान कत्तिको पाइन्छ ?
यस विषयमा उपभोक्ता अत्यन्त सचेत हुनुपर्छ । सौर्य प्रणाली जडान गर्दा गुणस्तरीय सामग्री प्रयोग गर्नु आवश्यक हुन्छ । अहिले बजारमा सेकेन्ड ह्यान्ड प्यानलसमेत आउने गरेका छन् ।

सौर्य प्यानलको उत्पादन क्षमता प्रत्येक वर्ष करिब ०.५ प्रतिशतले घट्दै जान्छ । त्यसैले पुराना प्यानल प्रयोग गर्दा उत्पादन कम हुन सक्छ । मूल्य घटाउने नाममा कम गुणस्तरका सामग्री प्रयोग हुने जोखिम पनि बढेको छ ।

यो क्षेत्रमा काम गर्दा तपाईंले सामना गर्नुभएको सबैभन्दा कठिन अनुभव के थियो ?
नेपालमा नीतिगत स्थायित्वको अभाव सबैभन्दा ठूलो चुनौती बनेको छ । कुनै समयमा उपकरण आयातमा भ्याट छुट थियो भने अहिले १३ प्रतिशत भ्याट लाग्ने गरेको छ । साथै, विद्युत खरिद सम्झौतामा अक्सन प्रणाली लागू गरिनु पनि व्यवहारिक रूपमा उपयुक्त मानिएको छैन ।

युवाहरूले सौर्य ऊर्जा क्षेत्रमा करियर बनाउन कहाँबाट सुरु गर्ने ?
सबैभन्दा पहिले प्राविधिक ज्ञान हासिल गर्न आवश्यक छ । सौर्य प्रणाली कसरी विकास र सञ्चालन हुन्छ भन्ने बुझ्नुपर्छ । त्यससँगै जग्गा व्यवस्थापन, बैंक लगानी तथा समग्र परियोजना व्यवस्थापनबारे पनि जानकारी हुनुपर्छ ।

सौर्य प्यानल जडान गर्न कस्तो जमिन आवश्यक पर्छ ?
समथर जमिन सबैभन्दा उपयुक्त मानिन्छ । तर, करिब १५ डिग्रीसम्मको भिरालो जमिनमा पनि सौर्य प्यानल जडान गर्न सकिन्छ ।

के सौर्य ऊर्जा क्षेत्रमा सफल हुन सकिन्छ ?
साना स्तरबाट पनि यो क्षेत्रमा सफल हुन सकिन्छ । अहिले नेपाल विद्युत प्राधिकरणले नगरपालिकासँग सहकार्य गरेर १ मेगावाटसम्मका परियोजनाका लागि पीपीए गर्ने व्यवस्था गरेको छ ।

तपाईंको संस्थाले हालसम्म के–कस्ता उपलब्धि हासिल गरेको छ ?
‘सोपान’ले सौर्य ऊर्जा नीतिमा स्थायित्व ल्याउने विषयमा बहस र पैरवी गर्दै आएको छ । विशेषगरी, सौर्य ऊर्जामा राखिएको १० प्रतिशतको सीमा हटाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

नेपालमा सौर्य ऊर्जा उत्पादन गर्दा सबैभन्दा ठूलो चुनौती के हो ? नीति, प्रविधि कि लगानी ?
नेपालमा सौर्य ऊर्जा उत्पादनका लागि सबैभन्दा ठूलो चुनौती भनेको उपयुक्त जग्गा प्राप्ति नै हो । सौर्य ऊर्जा परियोजनाका लागि ठूलो क्षेत्रफल आवश्यक पर्ने भएकाले एकै ठाउँमा पर्याप्त जमिन उपलब्ध गराउन कठिन भइरहेको छ । विशेषगरी नीतिगत अस्पष्टता र कानुनी जटिलताका कारण लगानीकर्ता तथा परियोजना विकासकर्ताहरूले विभिन्न समस्या सामना गर्नुपरेको छ ।

नेपालमा धेरैजसो जमिन खेतीयोग्य भएकाले सौर्य परियोजनाका लागि प्रयोग गर्दा कृषि क्षेत्रमा असर पर्छ कि भन्ने बहस पनि हुने गरेको छ । त्यसैले कुन प्रकारको जमिनमा सौर्य परियोजना सञ्चालन गर्ने भन्ने स्पष्ट नीति आवश्यक देखिन्छ । कतिपय स्थानमा जग्गा उपलब्ध भए पनि स्वामित्व, उपयोग र वर्गीकरणसम्बन्धी समस्या आउने गरेका छन् । नीतिगत अस्थिरता पनि अर्को महत्वपूर्ण चुनौती हो । कुनै समयमा सरकारले सहुलियत दिने नीति ल्याउने र पछि परिवर्तन गर्ने प्रवृत्तिका कारण लगानीकर्तामा अन्योल सिर्जना हुने गरेको छ ।

यसले दीर्घकालीन लगानीमा असर पारिरहेको छ । सौर्य ऊर्जा क्षेत्रमा निजी क्षेत्र आकर्षित भए पनि स्थिर र स्पष्ट नीति अभाव हुँदा अपेक्षित गति लिन सकेको छैन । प्रविधिको हिसाबले नेपाल अहिले धेरै पछाडि भने छैन । सौर्य उपकरण र प्रविधि विश्व बजारमा सहज रूपमा उपलब्ध भइरहेका छन् ।

तर ती उपकरण आयात गर्नुपर्ने भएकाले डलरको मूल्यवृद्धिले लागत बढाउने समस्या देखिएको छ । साथै, गुणस्तरीय उपकरण छनोट र दक्ष प्राविधिक जनशक्तिको अभाव पनि चुनौतीका रूपमा रहेको छ । लगानीको पक्षमा हेर्दा सौर्य ऊर्जा दीर्घकालीन रूपमा लाभदायक मानिए पनि प्रारम्भिक लगानी भने तुलनात्मक रूपमा धेरै लाग्ने गर्दछ ।

बैंक तथा वित्तीय संस्थाबाट सहज ऋण उपलब्ध नहुँदा साना लगानीकर्ताहरूलाई परियोजना सुरु गर्न कठिन हुने गरेको छ । यद्यपि, यी चुनौतीका बाबजुद नेपालमा सौर्य ऊर्जाको सम्भावना निकै ठूलो रहेको विज्ञहरू बताउँछन् । यदि सरकारले स्पष्ट नीति, जग्गा व्यवस्थापन र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमा सौर्य ऊर्जा भविष्यमा नेपालको ऊर्जा सुरक्षाको महत्वपूर्ण आधार बन्न सक्छ ।

सरकारको नीति पर्याप्त सहयोगी छ कि अझै सुधार आवश्यक छ ?
अझै धेरै सुधार आवश्यक छ । सौर्य ऊर्जामा लगाइएको सीमितता हटाउनुपर्छ । साथै, अत्यन्त कम मूल्यमा अक्सन गर्ने व्यवस्था व्यवहारिक नभएको अनुभव भारतमा समेत देखिएको छ ।

सौर्य ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका कत्तिको प्रभावकारी छ ?
अहिले निजी क्षेत्रले नै यो क्षेत्रलाई अगाडि बढाइरहेको छ । विद्युत अनिवार्य रूपमा सरकारलाई मात्र बेच्नुपर्ने बाध्यता नरहेकाले केही सहजता आएको छ । अब भारतमा समेत सिधै विद्युत बिक्री गर्न सकिने सम्भावना खुलेको छ ।

ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा विस्तार गर्दा के–कस्ता कठिनाइ आउँछन् ?
ग्रामीण क्षेत्रमा विस्तार गर्न विद्युत प्राधिकरणको ग्रिड पहुँच आवश्यक हुन्छ । साथै, सरकारी अनुदान र सहुलियतको आवश्यकता पनि देखिन्छ ।

सौर्य ऊर्जा प्रयोग गर्दा उपभोक्ताले दीर्घकालीन रूपमा कस्तो फाइदा पाउँछन् ?
दीर्घकालीन दृष्टिले हेर्दा सौर्य ऊर्जा अत्यन्त उपयोगी देखिन्छ । यो स्वच्छ ऊर्जा हो र सञ्चालन खर्च पनि तुलनात्मक रूपमा कम हुन्छ ।

घरायसी र ठूला परियोजनाका लागि कस्ता प्यानल आवश्यक पर्छन् ?
यो उपलब्ध स्थानमा निर्भर हुन्छ । अहिले ७२० वाटसम्म क्षमताका प्यानल बजारमा उपलब्ध छन् । ब्याट्री प्रणाली जोडिएमा विद्युत प्राधिकरणको लाइनमा निर्भर हुनुपर्दैन । करिब १० किलोवाटको प्रणाली निर्माण गर्न १० लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । सौर्य प्यानलमा २५ वर्षसम्मको ग्यारेन्टी र ब्याट्रीमा करिब ५ वर्षको वारेन्टी पाइन्छ ।

सरकारले कस्तो सहुलियत दिने गरेको छ ?
सरकारले सहुलियतपूर्ण ऋण तथा विभिन्न प्रकारका अनुदान उपलब्ध गराउँदै आएको छ ।

जलविद्युत र सौर्य ऊर्जा बीच प्रतिस्पर्धा हो कि सहकार्य ?
यी दुई ऊर्जा प्रणाली प्रतिस्पर्धी होइनन्, सहकार्यकारी हुन् ।

सौर्य ऊर्जा क्षेत्रमा युवाहरूका लागि कस्ता अवसर छन् ?
यस क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो आवश्यकता छ । सीटीईभीटीमार्फत तालिम सञ्चालन भइरहेका छन् । अहिले पनि दक्ष जनशक्ति भारतबाट ल्याउनुपर्ने अवस्था छ । करिब ९ महिनाको तालिमपछि ३० हजार रुपैयाँसम्मको रोजगारी पाउन सकिन्छ ।

जलवायु परिवर्तनसँग जुध्न सौर्य ऊर्जा कत्तिको प्रभावकारी छ ?
जलवायु परिवर्तनका कारण सुख्खायाम लामो हुने, पानी कम पर्ने जस्ता समस्या बढिरहेका छन् । यस्तो अवस्थामा सौर्य ऊर्जा प्रभावकारी विकल्प बन्न सक्छ ।

सौर्य ऊर्जाका लागि कुन क्षेत्र उपयुक्त मानिन्छ ?
सौर्य ऊर्जाका लागि वर्षमा करिब ३०० दिन, दैनिक कम्तीमा ८ घण्टा घाम लाग्ने क्षेत्र उपयुक्त मानिन्छ । पूर्वी तराईको झापादेखि वीरगञ्जसम्म, पश्चिमतर्फ बुटवल क्षेत्र तथा मुस्ताङ सौर्य ऊर्जाका लागि अत्यन्त उपयुक्त मानिन्छन् ।

‘सोपान’बारे पनि केही बताइदिनुहोस् ।
‘सोपान’ तीन वर्षअघि स्थापना भएको संस्था हो । सौर्य ऊर्जा क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि बहस पैरवी गर्ने तथा सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्ने काम संस्थाले गर्दै आएको छ ।

अन्त्यमा तपाईंको सन्देश के छ ?
सौर्य ऊर्जा स्वच्छ र दीर्घकालीन ऊर्जा हो । यसको सञ्चालन खर्च कम हुन्छ र घरघरमा प्रयोग गर्न सकिन्छ । त्यसैले सबैले यसको प्रयोगतर्फ ध्यान दिन आवश्यक छ ।

बुँदा

–सूर्यबाटै आम्दानी गर्न सकिन्छ
–लोडसेडिङ अन्त्य भए पनि सौर्य ऊर्जाको आकर्षण बढ्दो
–जलविद्युतसँग सहकार्यकारी भूमिका खेल्दै सौर्य ऊर्जा
–सौर्य ऊर्जा दीर्घकालीन र सस्तो विकल्प बन्दै
–ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाले जीवनशैली फेरिँदै

–सौर्य परियोजनाको मुख्य चुनौती जग्गा व्यवस्थापन
–सौर्य प्यानलमुनि पनि कृषि उत्पादन सम्भव
–युवाहरूका लागि सौर्य क्षेत्रमा रोजगारीको अवसर
–स्थिर नीति र लगानीमैत्री वातावरणको आवश्यकता
–स्वच्छ ऊर्जा र ऊर्जा आत्मनिर्भरताको आधार सौर्य शक्ति