
पोखरा । कास्कीको दोस्रो ठूलो वेगनास तालमा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ । यसै क्रममा चालू आर्थिक वर्षको प्रारम्भिक चरणमा विभिन्न प्रजातिका करिब ३ हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब ४ लाख भुरा छाडिँदै आएको छ ।
वेगनासताल मत्स्य व्यवसायी समिति र पोखरा महानगरपालिका वडा नं. ३१ को आर्थिक सहयोगमा १ सयदेखि ३ सय ग्राम तौलका करिब ४२५ केजी माछा तालमा छाडिएको छ । माछाको संख्या र तौल दुवैलाई ध्यानमा राख्दै तालको उत्पादन क्षमता बढाउने र स्थानीय माछा व्यवसायलाई थप मजबुत बनाउने लक्ष्य लिइएको समितिले जनाएको छ ।
वडा अध्यक्ष ढकनाथ कडेलले वेगनास ताललाई आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न महानगरले नयाँ योजना ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले तालको वरपर बसोबास गर्दै आएका जलारी समुदायको जीवनस्तर उकास्न माछापालनलाई नीतिगत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार वेगनास ताललाई सहकारी अवधारणामा आधारित बनाउँदै स्थानीय बासिन्दासँग समन्वय गरेर सञ्चालन गर्न सकिएमा माछा उत्पादन, व्यवस्थापन र बजारीकरणमा समेत सुधार आउनेछ । साथै, माछा मार्ने पेसालाई व्यवस्थित र दिगो बनाउन व्यवसायीहरूलाई स्थानीय तहमा दर्ता भई करको दायरामा आउन उहाँको आग्रह छ ।
क्रममा मत्स्य व्यवसायी समिति वेगनासका अध्यक्ष ज्ञानु जलारीले तालको वरपर बसोबास गर्ने करिब ६० घरधुरीका २ सयभन्दा बढी व्यक्तिको मुख्य जीविकोपार्जन माछा मार्ने पेसामा आधारित रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय विकास निर्माणका नाममा भइरहेका गतिविधिहरूले परम्परागत पेसामा असर पर्ने चिन्ता व्यक्त गर्नुभयो । ‘हाम्रो पुस्तौँदेखिको पेसा माछा मार्ने हो तर अहिले विभिन्न विकासका योजनाले हाम्रो पेसा नै संकटमा पर्ने हो कि भन्ने डर बढेको छ’, उहाँले भन्नुभयो ।
पूर्वअध्यक्ष झलक जलारी र निवर्तमान अध्यक्ष राजेन्द्र जलारीले माछा बिक्रीबाट संकलित कोषको रकम प्रयोग गरी प्रत्येक वर्ष करिब २० देखि २२ लाख रुपियाँ बराबरका माछाका भुरा छाडिँदै आएको बताउनुभयो ।
आगामी दिनमा पनि स्थानीय सरकार तथा सरोकारवाला निकायबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै माछा उत्पादन वृद्धि, तालको संरक्षण तथा जलारी समुदायको पेसागत सुरक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
वेगनास तालमा माछाका भुरा छाड्ने कार्यले एकातर्फ तालको जैविक विविधता संरक्षणमा सहयोग पु¥याएको छ भने अर्कोतर्फ स्थानीय समुदायको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सरोकारवालाहरूका अनुसार यस्ता कार्यक्रमलाई दिगोरूपमा सञ्चालन गर्न सकेमा वेगनास ताल क्षेत्रलाई मत्स्य उत्पादन तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।











प्रतिक्रिया