काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालका लागि ‘६ स्तम्भ, ६० पहल’ कार्ययोजना सार्वजनिक गर्नुृभएको छ ।
महासंघको ६०औँ वार्षिक साधारणसभाबाट २१औँ अध्यक्षमा निर्वाचित श्रेष्ठले निजी क्षेत्रको हित, लगानीमैत्री वातावरण निर्माण र महासंघको संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर कार्ययोजना अघि सार्नुभएको हो ।
बिहीबार आयोजित नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले महासंघलाई अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित उक्त योजना कार्यान्वयनमा ल्याइने बताए। उनका अनुसार ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रमअन्तर्गत प्रत्येक क्षेत्रमा कार्यान्वयनयोग्य योजना, समयसीमा, जिम्मेवारी र अपेक्षित उपलब्धिसहित विस्तृत खाका तयार गरिएको छ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्र सरकारको प्रतिद्वन्द्वी नभई विकास साझेदार भएको उल्लेख गर्दै सरकारले व्यवसायीलाई नाफामुखी समूहका रूपमा मात्रै नहेरी आर्थिक विकासका सहयात्रीका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर बनेको उल्लेख गर्दै लगानी र बजार चलायमान बनाउन सरकारले पूँजी परिचालन बढाउनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संकटका कारण सर्वसाधारणको ठूलो रकम अड्किँदा बजारमा तरलता अभाव देखिएको दाबी गर्दै बैंकिङ प्रणालीमा पर्याप्त पूँजी भए पनि साना तथा मझौला व्यवसाय प्रभावित बनेको बताए। साथै, स्थिर सरकार र स्थिर नीतिबाट मात्रै लगानीको वातावरण बलियो बन्ने उनको भनाइ थियो।
महासंघले सार्वजनिक गरेको कार्ययोजनामा सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणाली विकास, स्टार्टअप तथा युवा उद्यमशीलता प्रवद्र्धन, औद्योगिक प्रतिस्पर्धात्मकता वृद्धि, निर्यात प्रवद्र्धन, वैदेशिक लगानी सहजीकरण, श्रम तथा सीप विकास, निजी सम्पत्ति संरक्षण र व्यावसायिक अधिकार सुनिश्चितता लगायतका विषय समेटिएका छन् ।
योजनाअन्तर्गत महासंघमा नीति अनुसन्धान शाखा, कानुन डेस्क, विकास साझेदारी शाखा र स्किल एकेडेमी स्थापना गर्ने, निजी क्षेत्रको मनोबल सूचकांक तयार गर्ने, ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने तथा नेपाल लगानी तथा व्यवसाय सम्मेलन आयोजना गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र प्रवद्र्धनमा महासंघले निरन्तर भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा निजी क्षेत्र संरक्षण तथा संवद्र्धन कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सफल भएको उल्लेख गर्दै त्यसले निजी क्षेत्रलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष महेशलाल प्रधानले औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणमा महासंघ अझ सक्रिय हुनुपर्ने बताए भने पूर्वअध्यक्ष भवानी राणाले आर्थिक मुद्दामा निजी क्षेत्र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा ले स्थानीय उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए। अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ ले लगानी र व्यवसाय सुरक्षाको प्रत्याभूति बिना आर्थिक विकास सम्भव नभएको धारणा राख्नुभयो ।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ ले व्यवसायीका साझा मुद्दामा एकताबद्ध भएर काम गर्नुपर्ने बताए भने एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे ले नीतिगत स्थायित्व, कर सुधार र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने, निजी क्षेत्रप्रतिको सामाजिक धारणा परिवर्तन गर्ने, लगानी सुरक्षाका लागि प्रभावकारी पैरवी गर्ने, निजी लगानी वृद्धि गर्ने तथा जिल्ला र वस्तुगत संघहरूको क्षमता विस्तार गर्ने पाँच मुख्य लक्ष्य पनि अघि सारेका छन् ।











प्रतिक्रिया