वाल्टर समरफोर्ड कुनै चर्चित नाम होइनन्, तर धेरैले उनलाई संसारकै सबैभन्दा दुर्भाग्यशाली मानिस मान्छन्। उनको जीवनमा पटक–पटक चट्याङ पर्यो र मृत्यु भएपछि पनि उनको समाधिस्थल चट्याङको निशाना बन्यो। त्यसैले कतिपयले उनी केवल दुर्भाग्यशाली मात्र नभई कुनै श्रापको सिकार भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।
पहिलो पटक वाल्टर समरफोर्डलाई चट्याङ लाग्दा उनी पहिलो विश्वयुद्दमा बेलायती सेनाका अधिकारीका रूपमा कार्यरत थिए। युद्धका क्रममा बेल्जियमको मोर्चामा घोडा चढेर अगाडि बढिरहेका बेला अचानक चट्याङ उनमाथि खस्यो। चट्याङको झट्काले उनी घोडाबाट तल खसे। उनी बाँचे, तर कम्मरमुनिको भाग पक्षघातग्रस्त भयो र जीवनभर ह्विलचेयरमा बस्नुपर्ने अवस्था आयो। रिपोर्टअनुसार उनी आफ्नो स्वास्थ्यभन्दा पनि आफ्ना सैनिकलाई युद्धमा नेतृत्व गर्न नसक्ने अवस्थाले बढी दुःखी भएका थिए।
युद्दपछि उनले क्यानडामा नयाँ जीवन सुरु गरे। परिवार बसाए र ग्रामीण जीवनका गतिविधिहरूमा रमाउन थाले। विशेषगरी उनी माछा मार्न निकै रुचाउँथे। पक्षघातको अवस्थासँग अभ्यस्त भइसकेका वाल्टरलाई माछा मार्ने कामले स्वतन्त्रताको अनुभूति गराउँथ्यो।
तर सन् १९२४ मा माछा मार्न गएको बेला उनी रुखमुनि बसेका थिए। अचानक चट्याङ रुखमा खस्यो र त्यसको बिधुतीय प्रवाह रुख हुँदै उनको शरीरमा पुग्यो। आश्चर्यजनक रूपमा यसपटकको चट्याङले उनलाई गम्भीर क्षति पुर्याएन। बरु रिपोर्टअनुसार दुई दिनपछि उनको पक्षघात केही हदसम्म निको हुन थाल्यो र खुट्टामा चलायमान शक्ति फर्कियो।
तेस्रो पटक सन् १९३० मा उनलाई फेरि चट्याङ लाग्यो। यसपटक उनी केही हदसम्म निको भएर आफ्नै खुट्टाले हिँड्न थालेका थिए। एक दिन पार्कमा हिँडिरहेका बेला मौसम अचानक बिग्रियो र फेरि चट्याङ उनमाथि खस्यो। यसपटक उनी बाँचे पनि पूर्ण रूपमा पक्षघातग्रस्त भए। त्यसपछि उनको स्वास्थ्य लगातार बिग्रँदै गयो र दुई वर्षपछि अर्थात् सन् १९३२ मा उनको मृत्यु भयो।
परिवारका सदस्यहरूका अनुसार अन्तिम चट्याङपछिका दिनहरूमा वाल्टर यति भयभीत भएका थिए कि आफू कुनै श्रापको सिकार भएको सोचेर मानसिक रूपमा निकै पीडित बनेका थिए।
वाल्टरको मृत्युपछि उनलाई क्यानडाको भ्यानकुभरस्थित माउन्टेन भ्यु कब्रिस्तानमा दफन गरियो। परिवारले उनको सम्झनामा एउटा साधारण समाधि ढुङ्गा राख्यो।
तर कथा त्यत्तिमै समाप्त भएन। सन् १९३६ मा उनको मृत्यु भएको चार वर्षपछि कब्रिस्तानमाथि भीषण आँधीबेहरी आयो। कथाअनुसार एउटा शक्तिशाली चट्याङ सिधै उनको समाधिस्थलमा खस्यो र समाधिको ढुङ्गा चर्किएर टुक्राटुक्रा भयो।
यसरी सन् १९१८ देखि १९३६ सम्म प्रत्येक छ वर्षको अन्तरालमा वाल्टर समरफोर्डसँग चट्याङ जोडिएको घटना दोहोरिएको दाबी गरिन्छ। यो श्राप थियो वा असाधारण संयोग, त्यो आज पनि बहसको विषय बनेको छ।
तर यस कथाको सत्यतामाथि भने प्रश्न उठाइएको छ। लेखका लेखकका अनुसार चर्किएको समाधिको फोटोमा देखिएको वाल्टर समरफोर्डको मृत्यु मिति सन् १९१२ उल्लेख छ, जबकि कथाअनुसार उनको मृत्यु सन् १९३२ मा भएको भनिन्छ। त्यसैले यो कथा पूर्ण रूपमा सत्य हो वा केवल एक किंवदन्ती, त्यसबारे अझै स्पष्ट प्रमाण भेटिएको छैन।











प्रतिक्रिया