काठमाडौं ।
कीर्तिपुरमा दिउँसै युवकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ परेकाहरूको विवरण सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका–१० पोडेटोल क्षेत्रमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार भएका आरोपितहरूलाई प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।











प्रतिक्रिया