नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने उद्देश्यसहित बिचुटेन डाटा भोल्ट (बिडिभी) ले नेपालकै पहिलो टियर फोर हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ ।
कम्पनीले नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस कम्पनीले नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने संकल्प लिएको छ ।
काठमाडौं र वीरगञ्जमा निर्माण हुने उक्त डाटा सेन्टर ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने नेपालकै पहिलो टियर फोर प्रमाणित पूर्वाधार हुने बताइएको छ । प्रारम्भमा २४० किलोवाट क्षमताबाट सञ्चालन सुरु गरिने र सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ । परियोजनाका लागि भीभीडीएन टेक्नोलोजिज, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी गरिएको छ ।
कम्पनीका अनुसार यो परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखेको छ ।
साथै, नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने व्यवस्था गरिने भएकाले विदेशी सर्भरमाथिको निर्भरता घट्ने र राष्ट्रिय साइबर सुरक्षा थप मजबुत हुने विश्वास गरिएको छ । जलविद्युतमा आधारित ऊर्जा दक्ष प्रणाली प्रयोग गरिने भएकाले यो पूर्वाधार वातावरणमैत्री पनि हुने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया